शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिमा कलाकार : को कति सफल ?

सोमबार, ३१ असोज २०७९, १७ : २७
सोमबार, ३१ असोज २०७९

 पछिल्लो समय नेपाली कलाकारहरु राजनीतितर्फ आकर्षित हुँदै गएका छन् । स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनसम्म विभिन्न कलाकार उम्मेदवार बन्दै आएका छन् । केही कलाकार राजनीतिक दलमै आवद्ध भएर चुनावी मैदानमा होमिएका छन् भने केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिने गरेका छन् । यद्यपि, राजनीतिमा सफल भएर उदाहरणीय बनेका नेपाली कलाकार भने खासै देखिँदैन ।

सफल अभिनेत्री रेखा थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नाचेर चर्चा कमाएकी उनी केही समय नेकपा माओवादीमा आवद्ध भइन् । रेखालाई २०७० मा माओवादीले उम्मेदवार बनाउन चाहेको थियो तर त्यो समय मतदाता सूचीमा नाम नभएका कारण उनी उम्मेदवार बन्न सकिनन् ।

२०७३ मा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाको विचार मनपर्‍यो भन्दै सो पार्टीमा आवद्ध भएकी उनी सोही पार्टीको महामन्त्री पदमा उम्मेदवार बने पनि पराजित भएकी थिइन् । अहिले उनी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट मोरङ–३ को उम्मेदवार बनेकी छन् । उनको क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मा र एमालेको तर्फबाट भानुभक्त ढकाल मुख्य प्रतिस्पर्धी छन् ।

त्यस्तै प्रस्तोता र गायनमा स्थापित भएपछि राजनीतिमा होमिएकी कोमल वलीलाई भने राजनीतिक यात्रा फापेकै मान्न सकिन्छ । २०७३ मा राप्रपामा छिरेकी वली केही समयपछि एमालेमा प्रवेश गरिन् । एमालेबाट राष्ट्रियसभा सदस्यसमेत बन्न सफल उनी अहिले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

अभिनेत्री करिश्मा मानन्धरको राजनीतिक यात्रा भने राम्रो हुन सकेन । फिल्म क्षेत्रमा सदावहार राज गर्न सफल उनी अहिले एमालेमा छिन् । पार्टी अध्यक्ष केपी ओलीको भिजन र ऊर्जाबाट प्रभावित भएको भन्दै एमालेमा प्रवेश गरेकी करिश्मा मंसिर ४ को निर्वाचनमा टिकट नपाएर दुःखी बनेकी छन् । करिश्माले डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमार्फत राजनीति सुरु गरेकी हुन् ।

अभिनेता भुवन केसीको राजनीतिक यात्रा पनि पनि राम्रो मान्न सकिन्न । सदावहार अभिनेताको रुपमा चिनिएका केसी एमालेबाट २०७० सालको संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार बन्ने चर्चा थियो । पार्टीभित्र तीव्र विरोध भएपछि अन्तिम समयमा एमालेले उनलाई पत्याएन । सो समय उनलाई थुमथुम्याउनका लागि समानुपातिक सूचीमा नाम राखिएको थियो । तर, सभासद बन्न पाएनन् ।

भुवन अहिले नेपाली कांग्रेसमा आवद्ध छन् । कांग्रेसमा प्रवेश गरेलगत्तै उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भए ।

वरिष्ठ कलाकार नीर शाह कांग्रेसी भनेर चिनिन्छन् । केही अगाडि कांग्रेसले उनलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा थियो । तर चर्चामै त्यो विषय सीमित बन्यो । दोस्रो संविधानसभा निर्वाचनपछि शाह नेपाली कांग्रेसमा सक्रिय छन् ।

त्यसो त चलचित्र वितरण, निर्माण तथा प्रदर्शक उद्धव पौडेल पनि केही अगाडिसम्म राजनीतिमा सक्रिय थिए । कमल थापा निकट मानिएका पौडेल राप्रपाका पूर्व कोषाध्यक्ष हुन् । राप्रपाको नेतृत्व कमल थापाको हातबाट फुत्किएपछि उनी राप्रपाबाट अलग भएका छन् ।

र्‍यापर बालेन शाह भने राजनीतिको पहिलो प्रयासमै सफल हुन पुगे । स्ट्रक्चरल इन्जिनियरबाट स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेका उनले मेयरमा जित हासिल गरेका छन् । अहिले आफ्नो कामबाट उनी चर्चा बटुलिरहेका छन् ।

हाल कलाकार संघको अध्यक्ष रहेका अभिनेता रविन्द्र खड्का राजतन्त्र पक्षधर हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी कमल थापामार्फत काभ्रेको मेयरमा मनोनित भएका उनी पछि प्रत्यक्ष चुनाव लड्दा पराजित भए । उनी अहिले कांग्रेस भनेर चिनिन्छन् ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको राजनीतिक यात्रा पनि सुखद् छैन । पहिले देखिनै राप्रपामा रहेका उनी आफूलाई कांग्रेसी बताउँदै गृहमन्त्रालय अन्तर्गतको पदक सिफारिस समितिमा पुगेका थिए । गत स्थानीय निर्वाचनमा राप्रपाबाट काठमाडांै महानगरको मेयर उम्मेदवार भएका उनी पराजित हुन पुगे ।

राजनीतिमा खासै उपलब्धि हासिल गर्न नसकेका ब्यक्ति फिल्म निर्देशक तीर्थ थापा पनि हुन् । उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली सांस्कृतिक संघको सभापतिमा लगातार १४ वर्षभन्दा बढी समयदेखि छन् । कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य उठ्ने तरखर रहेका उनी अन्तिम समयमा पछि हटे ।

अहिले लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा उनको नाम सिफारिस भएको थियो । तर केन्द्रले भने उनलाई पत्याएन ।

त्यस्तै हास्यकलाकार शिवशंकर रिजालको राजनीतिक यात्रा पनि माथि पुग्न सकेको छैन । सरकारी जागिर छोडेर नेपाल सांस्कृतिक संघमार्फत राजनीति अगाडि बढाएका रिजाल संघका महामन्त्री हुन् । पटक पटक सर्लाहीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका उनी सर्लाहीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिसमा समेत परेका थिए । तर सूचीमा धेरै सिनियर नेताहरु बञ्चित हुने भएपछि उनले अग्रजको सम्मान गर्न भन्दै आफूलाई पछि राखे ।

कलाकार, निर्माता, निर्देशक युवराज लामा भने राजनीतिमा लागेर लाभको पद लिन सफल देखिएका छन् । उनी माओवादीमा छन् । माओवादीमै रहेका कारण उनले राष्ट्रिय खेलुकद परिषदको सदस्यसचिव समेत बन्ने अवसर पाएका थिए ।

फिल्म ‘चपली हाइट’ अभिनेता राज घिमिरेको राजनीतिक यात्रा पनि सफल भन्न सकिन्छ । थुप्रै म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेका उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट गोदावरी नगरपालिका वडा न ३ को अध्यक्षमा निर्वाचित भएका छन् ।

यी त केही उदाहरणमात्र हुन् । शिवहरी बैरागी, राधिका हमाल, बद्री पंगेनी, दिनेश डीसी, चेतन सापकोटा, सुभास गजुरेल लगायतका थुप्रै कलाकार राजनीतिमा छन् । जसको सफलता असफलताको कथा आ–आफ्नै छ । कतिपय कलाकार राजनीतिमा जमेर बस्दा केही भने एउटै पार्टीमा स्थिर रहन नसकेका कारण पनि पछि परेका छन् ।

जो मंसिर ४ को निर्वाचनमा उम्मेदवार छन्

आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफ्नो पक्षमा जनमत परीक्षण गर्न कलाकर्मीसमेत उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । ती कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा छन् ।

अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले मोरङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छन् । त्यस्तै गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छन् ।

नायक, निर्माता तथा निर्देशक रोज राणाले प्युठान १ (ख) बाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् भने हाँस्य शृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ को भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर अगाडि बढेका छन् ।

लोकप्रिय गायक सञ्जय श्रेष्ठसमेत प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अभिनेता, निर्माता तथा फिल्म वितरक करण श्रेष्ठ ‘क्रेजी’ प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ को प्रदेश ‘ख’ तर्फ उम्मेदवार बनेका छन् । श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेका हुन् ।

फिल्म निर्देशक मनोज पण्डित पनि प्रतिनिधिसभा सदस्यका लागि काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेका गोकुल बास्कोटासँग प्रतिस्पर्धा गर्दैछन् ।

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट धादिङ–१ को प्रदेश (क) बाट उम्मेदवारी दर्ता गरेका छन् । २०७४ को निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट चुनाव लडेर पराजित भएका थिए । अभिनेता तथा निर्माता राज तिमिल्सेना पनि हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश (क) बाट उम्मेदवार बनेका छन् ।

गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२, प्रदेश (क) बाट प्रदेशसभामा उम्मेदवार भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका हुन् ।

फिल्म तथा सिरियलका निर्देशक बसन्त पोख्रेलले कपिलबस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी एकीकृत शक्ति नेपालको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस्तै अभिनेता सम्राट सापकोटा पनि काठमाडौं क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनी स्वतन्त्र राजनीतिक शक्ति पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप