बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

टिकट नदिएपछि हरिबोलले ‘हाँस्यास्यापद तर्क’ भन्दै बुझाए पत्र

बुधबार, ०२ कात्तिक २०७९, १६ : ०७
बुधबार, ०२ कात्तिक २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले आसन्न निर्वाचनमा उम्मेदवारीका लागि टिकट नपाएको विषयले पार्टीमा विवाद निम्तिएको छ । सिन्धुली–२ बाट उम्मेदवारीका लागि आकांक्षी रहेका गजुरेल सो क्षेत्रमा पोलिटब्यूरो सदस्य राजन दाहालले टिकट पाएपछि असन्तुष्ट भएका हुन् ।

गत असोज २१ गते रातिसम्म प्रचण्डले गजुरेललाई नै टिकट दिने बचन दिएका थिए । प्रचण्डको संकेत बुझेर गजुरेलले आफ्नो क्षेत्रमा प्रचारप्रसारको तयारीसमेत थालिसकेका थिए ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन बिहान प्रचण्डले हरिबोललाई खुमलटार बोलाएर टिकट दिन नसकिने जवाफ दिए । ‘तपाईको पक्षमा जनमत छैन । चुनाव हार्नु हुन्छ । तपाईको क्षेत्रमा राजनजी उठ्नुहुने भयो,’ प्रचण्डले हरिबोललाई भनेको  सम्वाद उद्धृत गर्दै उनी निकट एक नेताले रातोपाटीलाई भने, ‘अध्यक्ष करमेड प्रचण्डले तपाईको जनमत छैन, हार्नुहुन्छ भनेपछि हरिबोल कमरेड रन्थनिनु भएछ । जवाफविहीन भएर फर्किनु भयो ।’

टिकट नपाएपछि हरिबोल अझै निर्वाचन क्षेत्रमा गएका छैनन् । बरु उनले गत असोज २९ गते अध्यक्ष प्रचण्ड र पार्टी कार्यालयमा पत्र बुझाएका छन् । प्रचण्डले हरिबोलले ‘तपाईको पक्षमा जनमत छैन’ भनेर प्रचण्डले भनेको विषयलाई हाँस्यास्पद तर्क भएको भन्दै पत्रमार्फत खण्डन गरेका छन् ।

‘दोस्रो संविधानसभा चुनावमा माओवादीका अधिकांश नेता पराजित हुँदा म भारी मतका साथ विजयी भएँ । चुनाव जित्न नसकेर माओवादीमा खडेरी हुँदा चुनाव जितेर इज्जत जोगाएँ,’ पत्रमा उल्लेखित व्यहोरा उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘अहिले तपाईको जनमत छैन, चुनाव जित्न सक्नुहुन्न भन्नु हाँस्यास्पद तर्क भयो । त्यसमा सहमत हुन सक्दिनँ । पार्टीलाई वैचारिक संगठनिक रुपमा मजबुत बनाउनुपर्छ । पार्टी नेताको सम्पत्ति छानविन गर्नुपर्छ भन्ने विषय उठाएकाले त्यसको सजाय भोगेँ ।’

पार्टीभित्रको गुटबन्दीको सिकार भई आफूले टिकट नपाएको पनि उनले पत्रमा उल्लेख गरेको स्रोत बताउँछ । तत्कालीन नेकपामा हुँदा केपी शर्मा ओलीलाई समर्थन गर्दै गजुरेल झण्डै एमालेमै पुगिसकेको प्रचण्डको बुझाई भएकाले उनले टिकट नपाएको हुन सक्ने ती नेताको तर्क छ ।

‘तत्कालीन नेकपामा विवाद हुँदा एमालेतिर जान लागेको र अन्तिममा माओवादीमा फर्किएको भनेर कसैले भ्रम पारिदिएको छ । त्यसलाई सत्य हो मानेर सीएम कन्भिन्स हुनुभएको छ,’ ती नेताले भने ।

तत्कालीन नेकपामा विवाद हुँदा ओली र प्रचण्ड दुवैले राजीनामा दिएर निकास दिनुपर्छ भन्ने हरिबोलको अभिव्यक्तिले पनि कतै असर गरेको हुन सक्ने ती नेताको भनाइ छ । उनका अनुसार गजुरेलले आफूलाई टिकट नदिएको विषयलाई पदाधिकारी बैठकमा जोडतोडका साथ उठाउने तयारी गरेका छन् ।

दोस्रो संविधानसभा चुनाव (२०७० साल) र २०७४ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुली–२ बाट गजुरेल भारी मतका साथ विजयी भएका थिए । संघीय संसदमा प्रतिनिधित्व गरेका उनी एक पटक मन्त्री भइसकेका छन् ।

पार्टीको महाधिवेशनबाट गजुरेलले महासचिवमा दाबीसमेत गरेका थिए । तर देव गुरुङलाई महासचिव बनाइएपछि पनि गजुरेल पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप