शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिबद्धता समावेश छ :  महामन्त्री शर्मा

शनिबार, १२ कात्तिक २०७९, ११ : २०
शनिबार, १२ कात्तिक २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले संसदलाई पाँच वर्ष स्थिर राख्ने विषय घोषणापत्रमै उल्लेख गरेको बताएका छन् । घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिवद्धता समावेश रहेको भन्दै शर्माले घोषणापत्र निरन्तरतामा नवीनता रहेको दाबी गरे । 

घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको उनले बताए । घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने-'हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व घोषणापत्रले गरेको छ। '

संविधानको स्वामित्व कांग्रेसले लिने भन्दै शर्माले भने  -'ठुलठुला उपलब्धि कांग्रेसले ल्याएको हो, यसमा आवश्यकता अनुसार सानो सानो सुधार गर्छौ ।' मन्त्री भएपछि सम्पत्ति सार्वजनिक गरिने विषय घोषणापत्रमा उल्लेख भएको उनले बताए । फोहोरलाई दीर्घकालीन समाधान, मलको अभाव, भूमि समस्या हल गर्ने विषय घोषणापत्रमा समावेश गरिएको शर्माले बताए ।

उनले नेपाली काँग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिएको बताए । उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरूसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको जानकारी दिए । 

उनले भने, ‘निरन्तरतामा नवीनता हामीले भनेका छौँ । आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार, नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हामीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ । घोषणापत्र लेख्दै गर्दा पार्टीको नेतृत्व पङ्क्ति सहभागी हुने कुराको अलावा विषय विज्ञ साथीहरू, नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराउने प्रयत्न गरेका छौँ । स्वयं खेलाडीलाई समावेश गरेर प्रतिनिधित्व गराएका छौँ । अपाङ्गता भएका साथीहरू स्वयं उपस्थित हुनुहुन्छ । साहित्य, सङ्गीत कला वा सिनेमाको बारेमा हामीले सोच्ने फरक कुरा तर उहाँहरूलाई नै समावेश गराइएको छ । घोषणापत्र लेख्ने टिममा पाकाको पनि प्रतिनिधित्व छ, फर्स्ट टाइम भोटरको पनि प्रतिनिधित्व छ । नेपाली समाजको जुन विविधता हो, हिमाल, पहाड, तराईको वा समावेशिताको अनुहार हो, त्यसको प्रतिनिधित्व भएको छ । हामीले मानिसलाई केन्द्रमा राखेका छौँ, समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्ने कुरालाई हामीले केन्द्रमा राखेका छौँ । हामीले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेका छौँ, महामन्त्री शर्माले घोषणापत्रमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई केन्द्रमा राखेर राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसद्लाई मेट्न गर्ने भन्ने जुन पद्धति र प्रवृत्ति गएको संसद्को बेलामा देखियो हामी त्यसबाट मुक्त रहेर संसद् भित्रै विकल्प रहँदा रहँदासम्म विघटनमा नजाने भन्ने संविधान र सर्वोच्च अदालतको जुन स्पिरिट रह्यो, त्यसको जगमा हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, की यो संसद्लाई स्थिरताका साथ ५ वर्ष कायम राख्नेछौँ ।’

महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । उनले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक् सङ्कल्पका साथ पार्टी लाग्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठुला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गरे । उहाँले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप