मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

शनिबार, १२ कात्तिक २०७९, १५ : २९
शनिबार, १२ कात्तिक २०७९

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ रापतीपुल माथि छठ पर्वका तयारी अन्तिम चरणमा रहेको छ । छठ पर्वको अवसरमा राप्ती नदी किनार शृङ्गारिएको छ ।  छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको छ भने पूजा गर्ने ठाउँमा सरसफाइ गरी सुन्दर बनाइएको छ ।

विगतमा विशेष गरी तराई मूलका नागरिकले मनाउँदै आएको यस पर्व हाल पहाडी मूलका नागरिकले पनि मनाउन थालेका छन् । छठ पर्वका लागि राप्ती नदीको खुल्ला बगर क्षेत्रमा अहिले निकै झकिझकाउ बनाइएको छ । हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र सोमबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । 

चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरू व्रत बस्ने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप