बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयको व्यवस्थापनपछि मात्रै करिडोरको काम अघि बढ्छ : विष्णु पौडेल

सोमबार, १४ कात्तिक २०७९, १२ : १७
सोमबार, १४ कात्तिक २०७९

पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिनाउ –दानव नदी करिडोरको काम स्थानीयको उचित व्यवस्थापन गरेर मात्र अघि बढाउने बताएका छन् । आज बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले तिनाउ–दानव करिडोर बारे छलफलमा बोल्दै विकासका नाममा कसैले पनि घरबासविहिन हुनु नपर्ने बताए ।

पौडेलले स्थानीयको व्यवस्थापनपछि मात्रै करिडोरको  काम अगाडि बढाउने बताए । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदार समेत रहेका पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पारे ।

उनले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गर्दै रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए ।  त्यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नैपर्ने उनको भनाई थियो ।

हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला विकास आयोजनाहरुको सुरुवात गर्न लागिपरेको बताउँदै उनले त्यसका लागि औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण तथा प्राविधिक शिक्षामा जोड दिइने बताए । 

छलफलमा बोल्दै एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि आफु लागिरहेको बताए । पूर्व मन्त्री समेत रहेका उनले विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी रहेको बताए ।

विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले  ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप