आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इमरानको र्‍यालीबाट तर्सिएको सेना, कसले चलायो गोली ?

बिहीबार, १७ कात्तिक २०७९, २२ : ४६
बिहीबार, १७ कात्तिक २०७९

 हकिकी आजादी मार्चको क्रममा इमरान खानलाई एक अज्ञात व्यक्तिले मार्ने प्रयास गरेका छन् । तर गोली खानको खुट्टामा लाग्यो र उनी सामान्य घाइते मात्र भए । गोली हान्ने व्यक्तिको उद्देश्य त अहिले स्पष्ट भइसकेको छैन तथापि पछिल्लो हिंसा एक तनावपूर्ण राजनीतिक र्यालीमा भएको छ, जसलाई हकिकी आजादी मार्च नाम दिइएको छ ।

आज ‘हकिकी (वास्तविक) आजादी मार्च’को सातौं दिन हो, खानले केही दिनअघि लाहोरबाट यस राजनीतिक र्याली सुरु गरेका थिए । उनले यसलाई वास्तविक आजादी मार्च भने पनि यसको एकमात्र उद्देश्य देशमा छिटोभन्दा छिटो आम निर्वाचन गराउनु रहेको छ । तर दुर्भाग्यवश यस राजनीतिक अभियानले सेना र इमरान खानलाई एक अर्काको सम्मुख खडा गरिदिएको छ ।

चरम आर्थिक संकट र मुद्रास्फीतिबाट गुज्रिरहेको मुलुकमा उनको पदयात्राले पहिलेदेखि चलिरहेको राजनीतिक संघर्षलाई थप बढाउने आशंका उत्पन्न गराएको छ । आजादी मार्चअघि आयोजना गरिएको भेलामा खानले सरकारी निकायहरू, विशेष गरी गुप्तचर एजेन्सी आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल नदीमको आलोचना गरे र अघिल्लो दिन उक्त सुरक्षा निकायले आयोजना गरेको पत्रकार सम्मेलनको खिल्ली उडाए । 

‘तपाईं (सेना)ले राजनीति गर्दैनौं भन्नुभएको छ तर तपाईंले जुन पत्रकार सम्मेलन गर्नुभयो त्यति राजनीतिक पत्रकार सम्मेलन त शेख रसिदले पनि कहिल्यै गरेनन्,’ खानले भने, ‘पत्रकार सम्मेलन आफैंमा तपाईं निष्पक्ष नभएको प्रमाण हो । पत्रकार सम्मेलनमा मलाई मात्र निशाना बनाइयो । तपाईंले ‘ती चोरहरू’बारे केही भन्नुभएन ।’ 

इमरान खानले त्यसबेला आफूलाई धेरै कुरा थाहा भएको तर देश र यसका संस्थाहरूको लागि मौन रहेको पनि बताएका थिए । 

इमरान खान र सेना प्रतिद्वन्द्वी

सेना विरुद्धको असामान्य र तिखो आलोचनापछि सैन्य संस्था र इमरान खानबीचको तनाव उच्च बनेको छ । अहिले पाकिस्तानी राजनीतिक संघर्ष ११ दलको सत्तारुढ गठबन्धन र इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट मोडिएर तहरीक–ए–इन्साफ बनाम सैन्य संस्थामा सरेको छ । 

मुस्लिम लिग(नवाज)को नेतृत्वमा बनेको ११ दलको सत्तारुढ गठबन्धन यसमा मुकदर्शक मात्र बनेको छ । तिनका मन्त्रीहरू पत्रकार सम्मेलन र बयान दिएर सेनाको बचाउ गरिरहेका छन् । तर त्यसको राजनीतिक महत्व रहँदैन ।

मुस्लिम लिग नवाज सरिफको नेतृत्वमा रहँदा सेनालाई आलोचनाको निशाना बनाउन डराउँदैनथ्यो । सेनासँग राजनीतिक टक्कर लिने हिसाबमा मुस्लिम लिग र  तहरीक–ए–इन्साफले एक उचाई हासिल गरे । तर राजनीतिक रूपमा धेरै नोक्सानी भोगेको पाकिस्तान पिपुल्स पार्टी यतिबेला किनारामा मौन उभिएको छ ।

इमरान खानको आजादी मार्चको घोषणाले उनी सकेसम्म चाँडो चुनाव चाहन्छन् भन्ने त स्पष्ट भएको छ । यस उद्देश्यका लागि उनी साँचो झूटो कथ्य बनाउन तयार देखिन्छन् । उनी यस मार्चमा आउने कुनै प्रकारको बाधा, चाहेको त्यो देशको सबैभन्दा शक्तिशाली संस्था सेना नै किन नहोस्, त्यसविरुद्ध लड्न तयार देखिन्छन् ।

आइएसआईको अप्रत्याशित कदम

आफ्नो सरकारलाई अमेरिकाले ढालेको भन्ने इमरान खानको दावीलाई पाकिस्तानी सेनाले बारम्बार खण्डन गर्दै आएको छ । त्यसबाहेक वर्तमान सेना प्रमुख जनरल कमर बाजवा ‘गद्दार’ वा लोभी भएको र उनी कार्यकाल लम्ब्याउन चाहन्छन् भन्ने पीटीआईको आरोप पनि गलत भएको उसको दावी छ । 

यदि जनरल बाजवा ‘देशद्रोही (गद्दार)’ थिए भने इमरान खान प्रधानमन्त्री हुँदा किन उनले म्याद थप्ने प्रस्ताव गरे भन्ने आइएसआई प्रमुखले मिडियासँग प्रश्न नै गरे । सेनाका प्रवक्ता र आईएसआई प्रमुखले इमरानको मार्चअघि संयुक्त पत्रकार सम्मेलन गरे, जुन पाकिस्तानको इतिहासमा पहिलो त्यस्तो घटना थियो ।  

सामाजिक सञ्जालमा लगातार आलोचना भएपछि सेनाले यो कदम चाल्नुपरेको थियो । तर पत्रकार सम्मेलनपछि पनि इमरान र उनका समर्थकहरू सेनामाथि आक्रमण गरिरहेका छन् । अब सेनासँग थोरै तर निकै खतरनाक विकल्प मात्र बाँकी छन् ।

६ महिनापछि इमरान खानले अचानक आजादी मार्चको घोषणा गर्नुका पछाडि दुई ठूला कारण बताइँदैछ । एउटा प्रधानमन्त्री हुँदा पाएको उपहारहरु सार्वजनिक नगरेको आरोपमा निर्वाचन आयोगले उनको अयोग्यता खारेजी गर्ने कदम । दोस्रो उनका कट्टर समर्थक तथा पत्रकार अर्शद शरीफको केन्यामा भएको हत्या ।

तर इमरान खानको बैचेनीको सबैभन्दा ठूलो कारण नोभेम्बरमा नयाँ सेना प्रमुखको नियुक्ति पनि हुनसक्छ । उनले अहिलेको ‘चोर’ सरकारलाई यस्तो महत्वपूर्ण पदमा निर्णय गर्ने अधिकार नभएको बताउँदै आएका छन् । यो निर्णय निर्वाचनपछि नयाँ सरकारमा छोड्नुपर्ने उनको भनाई छ । तर वर्तमान शाहबाज शरीफको नेतृत्वमा रहेको सरकार यो अवसर खेर जान दिन चाहँदैन ।

सामाजिक सञ्जालमा हावी इमरानको टोली

खानले उनको सरकार ढलेपछिका लगभग दैनिक दुई अझ त्योभन्दा बढि पटक सार्वजनिक सभा र भाषण गर्दै आएका छन् । आजादी मार्चमार्फत उनी यसलाई थप ठोस आकार दिन सक्षम हुनेछन् । 

हुन त इलेक्ट्रोनिक मिडियाका नियामक संस्था ‘पेमरा’ले पाकिस्तानमा समाचार च्यानलहरूमा उनको भाषणको प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाएको छ । तर यस प्रतिबन्धका बाबजुद पीटीआईले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गर्दै आएको छ । 

इमरान खानलाई गोली लागेपछि अब यस र्यालीमा थप मानिस जोडिन सक्छन् । सरकारले पहिले नै इस्लामावादमा र्याली पुगेपछि कडाई गर्ने बताएको छ । अब नयाँ घटनाक्रम विकास भए पछि के हुन्छ, त्यो हेर्न बाँकी नै छ । –बीबीसी हिन्दीबाट

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप