शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विनाको फेरिएका सारथि, ताराको आफ्नै बागी

शनिबार, २६ कात्तिक २०७९, १५ : ०३
शनिबार, २६ कात्तिक २०७९

कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर र एमालेका नेता तारा लामा तामाङबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । तेस्रो पटक ‘ब्याटलग्राउन्ड’ मा उत्रिएकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विनाको उम्मेदवारीतिर धेरैको नजर छ । यता एकीकृत समाजवादीको प्रदेश कमिटी उपसचिव परित्याग गरी गत भदौ १५ मा एमाले फर्किएका तारा विनाको मुख्य प्रतिस्पर्धा देखिन्छन् । संघीय पूर्वमन्त्री र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीको प्रतिस्पर्धामा एमालेबाट खेम सुवेदीको बागी उम्मेदवारीले यो भिडन्तलाई थप रोचक बनाएको छ ।

एउटै वडाका विना र ताराको मतदानस्थल पनि एउटै हो । पुनर्वास नगरपालिका– ३ की विना र ताराको मतदानस्थल गोरखनाथ आधारभूत विद्यालय रामबस्ती हो । ०७४ को निर्वाचनमा एक–अर्कालाई भोट दिएर संघीय र प्रदेश संसद् छिरेका उनीहरू दुवै मन्त्री पनि बने । अब भने मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।

तारालाई उम्मेदवार बनाएको विरोधमा एमालेका पुराना नेता खेम सुवेदीले कञ्चनपुर–१ मा विद्रोह गरेका छन् । ‘माछा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका सुवेदी कञ्चनपुरको दक्षिण क्षेत्रमा भिजेका नेतामा पर्दछन् ।

उनलाई कर्णाली नदी पूर्वका जिल्लाबाट बसाइसराइ गरेर गएका खसआर्य समुदायका एमाले मतदाताको समर्थन देखिन्छ । सत्ता गठबन्धनको चुनौती घेरिएका तारामाथि सुवेदीको उम्मेदवारीले सङ्कट निम्त्याउने आँकलन छ ।

एमाले नेता सुवेदीको बागी उम्मेदवारीले सत्ता गठबन्धन हौसिएको छ । सुवेदीको उम्मेदवारीले विनाको जित मतान्तर फराकिलो हुने माओवादीका दीपक तिमिलसिनाले दाबी गरे । तर सत्ता गठबन्धनले संघ र प्रदेश कतै पनि भाग नदिएपछि एकीकृत समाजवादी मित्रवत् प्रतिस्पर्धामा छ ।

कञ्चनपुर–१ मा पनि सत्ता गठबन्धनको बाइपासमा परेको एकीकृत एकीकृत समाजवादीको मत एमालेका विद्रोही सुवेदीको पक्षमा पोखिन सक्ने चर्चा छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाको उम्मेदवारी पनि विना र ताराका लागि मुख्य चुनौती देखिन्छ ।

थारु समुदायको बाहुल्यता भएको कञ्चनुर–१ मा रानाको उम्मेदवारीले विना र ताराका लागि सकस थप्ने आँकलन छ । कात्तिक २४ सम्मको चुनावी माहौल रानाको पक्षमा नदेखिएपनि विना र ताराको हार–जितमा निर्णायक हुने सन्देह छैन ।

०७४ मा एमालेबाट बेरौरी नगरपालिका–८ का पूर्व वडाध्यक्ष राना रेशम चौधरीको उन्मुक्तिबाट उम्मेदवार छन् । ताराका विश्वासपात्र राना एमाले हुँदै एकीकृत समाजवादीमा पुगेका थिए । स्थानीय निर्वाचनमा उनी एकीकृत समाजवादीबाट बेलौरीको उपमेयरमा चुनाव लडेका थिए । त्यतिबेला उनले जम्मा ७०९ मत पाएका थिए । ताराभन्दा अगाडि नै एकीकृत समाजवादी छाडेर उनी उन्मुक्तिमा लागे । पार्टीगत रूपमा उनले विनाको भन्दा ताराको मत बढी काट्ने अनुमान गरिएको छ । 

थारु मत जोगाउने रणनीति अनुसार सत्ता गठबन्धनले कांग्रेसका बन्धु रानालाई प्रदेशसभा (१) उम्मेदवार बनाएको छ । एमालेले पनि प्रदेशमा थारु उम्मेदवार दिएको छ ।

कञ्चनपुर–१ का दुवै प्रदेश सभामा आफ्ना उम्मेदवार भएपछि कांग्रेस नेता–कार्यकर्ताहरू सक्रिय भएर प्रचार–प्रसारमा लागेका भेटियो । प्रदेश (१) र (२)का चुनावी घरदैलोमा विनालाई कांग्रेसका कार्यकर्ताको बलियो साथ देखियो ।

२०७४ को निर्वाचनमा विनालाई एमालेको यस्तै साथ थियो । एमालेको सहयोगमा विना त्यो बेला १९ हजार २१९ मतान्तरले विजयी भएकी छिन् । विना ३८ हजार ४७६ मतले विजयी हुँदा कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका थिए ।

२०७० को संविधान सभा निर्वाचनमा भने विष्टसँग मगर पराजित भएकी थिइन् । विष्टले १० हजार २९४ मत ल्याउँदा मगरले ९ हजार २३६ मत प्राप्त गरेकी थिइन् । अहिले भने विष्ट र मगरको प्रतिस्पर्धा दोस्तीमा बदलिएको छ । कञ्चनपुर–१ ‘१’ मा कांग्रेसका बन्धु राना र ‘२’ मा दिवानसिंह विष्ट विनाका सारथि छन् । 

एमालेबाट प्रदेशसभा (१) मा वीरबहादुर थापा र (२) मा पल्लभराज भट्ट उम्मेदवार छन् । प्रदेशसभा ‘१’ मा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका तथा ‘२’ मा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको भूगोल गर्दछ ।

कञ्चनपुर १ मा पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाको भूगोल समेटिएको छ । 

स्थानीय निर्वाचनमा पुनर्वास नगरपालिका र बेल्डाँडी गाउँपालिका कांग्रेसले जितेको छ । बैलौरी नगरपालिका माओवादी र लालझाडी गाउँपालिका एमाले जितेको छ । स्थानीय निर्वाचनताका कञ्चनपुरमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको थिएन । कांग्रेस एक्लै लडेको थियो भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । एमाले, राप्रपा लगायतका दलले पनि छुट्टाछुट्टै  प्रतिस्पर्धा गरेका थिए ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, एकीकृत समाजवादीको ३ हजार ५२१, राप्रपाको २ हजार ६९२ मत छ । यहाँ सत्ता गठबन्धनकी मगर १८ हजार ८५१ मतले अगाडि छिन् ।

कञ्चनपुर १ मा एमाले संसदीय निर्वाचनमा एक पटक मात्र जितेको छ । २०५१ सालको मध्यावधि चुनावमा एमालेका रामकुमार ज्ञवाली विजयी भएका थिए । त्यसभन्दा पहिला र पछि भने यो क्षेत्रमा एमालेले जित्न सकेको छैन ।

यहाँ ० ५६ मा कांग्रेस ०६४ मा माओवादी र ०७० मा फेरि कांग्रेसले जितेको थियो । ०७४ मा एमाले–माओवादीको गठबन्धनबाट विना उम्मेदवार बनेर जित्दा तारा अहिले दोस्रो जितको खोजीमा छन् । माओवादी भने कञ्चनपुर–१ मा जितको ह्याट्रिक मार्न तम्सेको छ ।

मतदातामाझ विना र ताराले केही साझा र केही नयाँ एजेन्डा अघि सारेका छन् । भारतसँगको सीमा समस्या, सडक निर्माण, नदी कटान नियन्त्रण र जंगली जनावरको आतङ्क समस्या सम्बोधन गर्ने दुवैका साझा एजेण्डा सुनिन्छन् । विनाले अघिल्लोपटक खानेपानीमन्त्री भएर अगाडि बढाइएकामध्येका अधुरा योजना पूरा गर्ने बताइन् । बेलौरी नाका भन्सारको बाँकी काम पूरा गर्ने, सुकुम्वासी, आरक्ष पीडित, भूमिहीनको समस्या समाधान गर्ने विनाको बाचा छ ।

उनले दोदा, झर्नाखोला, चौधरी नदीलगायत खोलानालाको कटान नियन्त्रण, कृषियोग्य भूमि संरक्षण, सडक पूर्वाधार स्तरोन्नति र जंगली जनावरको आतङ्क न्यूनीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएकी छिन् ।

सुदूरपश्चिमका पूर्व आर्थिक विकासमन्त्री ताराले पनि आफ्ना अधुरा योजना अगाडि बढाउने सुनाए । सडक सञ्जाल विस्तार, कृषिमा आधुनिकीकरण, आरक्षपीडित, भूमिहीन सुकुमबासीका समस्या समाधान गर्ने र स्थानीय तह–प्रदेशसँग सहकार्य गरेर क्षेत्रको विकास गर्ने उनको मुख्य एजेन्डा छ । दोदा नदीको कटानी नियन्त्रणका लागि नदीको बहुउपयोग गर्दै स्थानीयस्तरकै नदीबाट योजना अघि बढाउने ताराको भनाइ छ ।

चुनावी सेरोफेरोबारे रातोपाटीले विना र तारासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

एमाले उम्मेदवार प्रतिस्पर्धी पात्र जस्तो लाग्दैन : विना मगर

उम्मेदवार, नेकपा नेकपा माओवादी केन्द्र

सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा कञ्चनपुर – १ मा चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । चुनावी माहौल कस्तो छ, जनताले के भनिरहेका छन् ?

म नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेसपाको उम्मेदवार हुँ । प्रदेश (१)मा बन्धु राना र (२)मा दिवानसिंह विष्ट उम्मेदवार हुनुहुन्छ । बन्धु राना नेपाली कांग्रेसको पुरानो नेता हुनुहुन्छ भने दवानसिंह विष्ट दोस्रो संविधानसभा सदस्य पनि हुनुहुन्छ । गठबन्धनले अगाडि सारेका हामी तीनवटा पात्रको विकल्प खोज्न सक्दैनौ भनेर मलाई जनताले भनिराख्नु भएको छ । गठबन्धन सम्बद्ध मतदाताका साथै अन्य पार्टीका मतदाताको पनि त्यो मनोविज्ञान रहेको पाएका छौँ ।

उम्मेदवारको कम्पोजिसनले मात्र चुनाव जितिँदैन होला ? मतदाताको मन जित्न के एजेन्डा प्रस्तुत गर्नु भएको छ ?

हिजो हामीले गरेको प्रतिबद्धता केही सम्पन्न भएका छन् भने केही कार्यान्वयनको चरणमा छन् । हामीले सुरु गरेका कामको निरन्तरता र नयाँ योजनाहरू अगाडि सारेर जनताको माझमा पुगिराखेका छौँ ।

कञ्चनपुर १ लाई महेन्द्रनगरसँग जोड्ने सडक बेहाल अवस्थामा छ । अन्य आयोजना पनि सम्पन्न हुन नसकेको गुनासो व्याप्त छ नि ?

विवादका कारण त्यो सडकको आरक्ष क्षेत्रमा काम हुन सकेको छैन । तर पहिलो तुलनामा धेरै काम भइसक्यो । म मन्त्री हुँदा बारम्बार ठेकेदार कम्पनीसँग छलफलमा बसेकै हुन्थेँ । प्रदेशबाट पनि बजेट हालिएको थियो । धरै परिवर्तन भएको छ । जङ्गलसँग जोडिएको समस्या पनि हामी अब हल गर्छौँ । 

यहाँको सुकुम्वासी र सीमा समस्याका समाधानको आश्वासन हरेक निर्वाचनमा दिनुहुन्छ । तर सम्बोधन हुँदैन । आगामी पाँच वर्षमा यी विषय सम्बोधन हुने आधार के छ ?  

सीमा समस्या हाम्रो जटिल समस्या हो । यो राष्ट्रियतासँग जोडिएको समस्या पनि हो । हाम्रा घरका दाजुभाइ दिदीबहिनीहरूले खेतीबाली उठाने समयमा समस्या सिर्जना हुन्छ । हामीले तल्लो तहमा छलफल गरेर टुङ्ग्याउने कोसिस गरिरहेका छौँ ।

यो एउटा राष्ट्रले मात्र हल गरेर हल हुने विषय होइन । त्यसका लागि दुई पक्षीय समझदारी आवश्यकता हुन्छ । मैले यहाँबाट जितेर गइसकेपछि सीमा समस्याका विषयमा हिजो छलफलको एजेन्डा बनाएको हुँ । भोलि सरकारको नेतृत्वलाई सीमा समस्या समाधानका लागि दबाब दिन्छु ।

यसअघिको चुनावमा तपाईंले चर्को ढंगले उठाएको बाढी र डुबानको समस्या अहिले पनि उस्तै छ । यो पाँच वर्षमा बाढी र डुबान नियन्त्रणको काम किन हुन सकेन ?

दोदा नदी छाती चिरेर बगेको छ । त्यो दोदा नदीको तटबन्ध समस्याले सबै काम ओझेलमा परिराखेको छ । दोदा तटबन्ध हामीले पहिलो प्राथमिकतामा राखेर काम गरिराखेका छौँ । काम नभएको होइन, बजेट थोरै आउने भएकाले काम पनि थोरै भएको हो । हामीले अहिले डोडा तटबन्धलाई गुरु आयोजनाका रूपमा राखेर समग्र समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । यसमा हाम्रो प्रतिबद्धता छ ।

यहाँको समग्र विकासका लागि सत्ता गठबन्धनले के एजेन्डा देखाएर मत मागिराखेको छ ?

सीमा समस्या र दोदा तटबन्धलाई हल गर्छौँ । विकास निर्माणका रूपमा बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयमा यो पाँच वर्षमा एउटा आधार तयार भइसकेको छ । 

यहाँको जनजीवनमा परिवर्तन गर्नका लागि हाम्रा गाउँहरूलाई विस्तारै सहरीकरण गर्ने कुरा महत्त्वपूर्ण हो । हाम्रो यो ठाउँमा कृषिको राम्रो सम्भावना छ । कृषिमा आधुनिकीकरण आवश्यकता छ, बजार व्यवस्थापनको कुरा छ । 

बेलौरी भन्सारको विषय निकै महत्त्वपूर्ण छ । यसले रोजगारी सिर्जना र आर्थिक वृद्धि हुन्छ । कञ्चनपुर १ ले कृषि, भन्सार र पर्यटनका राम्रो सम्भावना बोकेको छ । हामीलाई अहिले शुक्लाफाँटा वन्यजन्तु आरक्ष समस्या भइरहेको छ ।

 हात्ती बस्तीमा पसेर सताउँछ । हाम्रा जनताले खर काट्न जाँदा अनावश्यक तनावमा खेप्नुपर्छ । अब हामीले आरक्षलाई समस्या होइन सदुपयोग गर्ने विषयमा सोचेका छौँ । राना थारु म्युजियमलाई अझ व्यवस्थित बनाउने काम गर्छौँ । 

विभिन्न जातिका संस्कृतिलाई संरक्षण गरेर पर्यटन हब बनाउने योजना छ । हामी प्रदेश राजधानीबाट निकै नजिक छौँ । त्यसलाई हामीले भरपुर सदुपयोग गर्नुपर्छ ।

तपाईंले सुनाएको एजेन्डा आगामी पाँच वर्षमा पुरा हुनेमा जनता विश्वस्त छन् त ? 

अबको चुनावमा यी एजेन्डा नबन्ने गरेर काम हुन्छ । यो मेरो प्रतिबद्धता भयो ।

यहाँ ०७४ का तपाईंका सारथि अहिले प्रतिस्पर्धी र प्रतिस्पर्धी सारथि बनेको अवस्था छ । पूर्व सारथिसँगको प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

संयोग जस्तो पनि ठान्नुपर्छ । ०७४का मेरो सारथि आज प्रतिस्पर्धी हुनुहुन्छ । हिजोका मेरा प्रतिस्पर्धी आज सारथि हुनुहुन्छ । ०७४मा माननीय दिवानसिंह विष्ट प्रतिस्पर्धी हुनुहुन्थ्यो । लोकेन्द्र लम्साल अर्को पार्टीको प्रतिस्पर्धी हुनुहुन्थ्यो । पुष्कल चौधरी फोरमको उम्मेदवार हुनुहुन्थ्यो । अम्मरसिंह विष्ट पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

 ०७४ मा मसँग प्रतिस्पर्धा गरेका ६ जना साथीहरू अहिले मेरो सारथि हुनुहुन्छ । यो संयोग पनि होला । विकासका एजेन्डा, गठबन्धनको मूल मर्म अनुसार संविधानको रक्ष, स्थिरता र विकसित नेपालको हाम्रो कल्पना लिएर जनता कहाँ जाने हो । एमालेका उम्मेदवारहरू कुनै पनि कोणबाट प्रतिस्पर्धी पात्र हो जस्तो लाग्दैन ।

सहज चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?

जित्नु पर्छ । कञ्चनपुर क्षेत्र नम्बर १ को समग्र विकास र मुलुकको राजनीतिक स्थायित्वका लागि गठबन्धनले चुनाव जित्न अपरिहार्य छ ।

गठबन्धन कार्यकर्तामा मात्र हो, जनतामा छैन : तारा लामा

उम्मेदवार, नेकपा एमाले

प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । मत माग्न गइरहनुभएको छ । जनता के भन्छन् ? तपाईंप्रति जनताको बुझाइ के छ ?

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा म नेकपा एमालेको तर्फबाट उम्मेदवार भइरहँदा म भन्दा बढी आमजनता निकै नै उत्साहित छन् । मैले प्रदेश सभामा गरेको काम र विगत लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेको हुनाले हामीले आफ्नो ठाउँको जनप्रतिनिधि चुन्न नेकपा एमालेको तारा लामा नै उपयुक्त हो भन्ने कुरा बाहिर आइरहेको हो । मैले पनि सुनिरहेको छु । 

यहाँबाट पाँच दलीय गठबन्धनबाट पूर्व मन्त्री विना मगर प्रतिस्पर्धामा हुनुहुन्छ । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएका बेला उहाँसँगको प्रतिस्पर्धालाई कतिको चुनौती ठान्नुभएको छ ? 

मनोवैज्ञानिक रूपमा कार्यकर्तामा गठबन्धनको बलियो भन्ने देखिएको छ । तर जनतामाझ त्यस्तो छैन । जनताले कामको आधारमा उम्मेदवारलाई हेर्छन् । व्यक्तित्वको आधारमा हेर्दा रैछन् र यो सत्ता गठबन्धन जनताको गठबन्धन होइन । कसैले बनाइदिएको गठबन्धन भएकोले यो गठबन्धनसँग जनताको कुनै लेनादेना छैन । त्यसैले जनताले आफ्नो प्रतिनिधि छान्ने हो । 

सुदूरपश्चिममा गठबन्धनको सूत्रपातको रूपमा कुनै बेला तपाईंको पनि भूमिका थियो । अहिले एमालेको उम्मेदवारको रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ । हिजो जसलाई तपाईंहरुले सहयोग गरी निर्वाचित गराउनुभयो आज उसैसँग प्रतिस्पर्धा गर्दाको प्रतिस्थितिलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?

हिजोका दिनमा राजनीतिमा वाम गठबन्धनको हिसाबले पार्टी पनि एक हुन्छ भन्ने उद्देश्यले नेपाली जनताले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई स्वीकार्‍यो ।

पछि माओवादीमा खासै इमानदारिता नदेखिएपछि अहिले नेपाली कांग्रेससँग गठबन्धन भएको छ । हिजो यहाँबाट जितेका जनप्रतिनिधिले खासै काम नगरेपछि उहाँहरूलाई चुन्नुहुने छैन भन्ने जनताको भनाइ आइरहेको छ ।

एमाले विभाजन हुँदा तपाईं एकीकृत समाजवादीतिर लाग्नुभयो । अहिले एमालेमा आएर उम्मेदवार बन्नुभएको छ । यहाँ एमालेको बिँडो थामेर बसेका नेता–कार्यकर्ताले विद्रोह गर्नु भएको छ । तपाईंलाई एमाले  कार्यकर्ताले स्वीकार गरेनन् हैन ?

सर्वस्वीकार्य त कोही पनि नहोला । म त सर्वस्वीकार्य हुँ कसरी भन्न सकुँला । तर अधिकांश नेता कार्यकर्ताको स्वीकार हुँ । कोही साथीहरू समाजवादीमा नभइदिएको भए हुन्थ्यो भन्ने थियो । तर त्यो बेलाको परिस्थिति त्यस्तै थियो ।

त्यस बेलाको कमजोरीलाई हामीले रियलाइज गरेका छौँ । त्यो बेला नेकपा एमालेबाट अलग्गिएर केवल पद प्राप्तिको लागि मात्रै थियो भन्ने कुरा पुष्टि भएको छ । मीठो सपना मात्रै रहेछ भन्ने देखियो । 

एमालेलाई कमजोर तुल्याउनु भनेको समग्र वामपन्थी शक्तिलाई कमजोर तुल्याउनु हो भन्ने बुझेर मैले पहिलेको मूल पार्टीमा समाहित भएको हुँ । र नेता कार्यकर्ताले मलाई स्वीकार गरेर नै प्रतिनिधिसभा सदस्यको लागि सफारिस गर्नुभएको हो । 

तपाईं के मुद्दा लिएर निर्वाचनमा होमिनु भएको छ ? तपाईं निर्वाचित भए आगामी पाँच वर्षमा जनताले के पाउँछन् ? वा तपाईं हारे यहाँका जनताले के गुमाउँछन् ?

होइन, हारको त कुरै नगरौँ । खास गरी मैले प्रदेश सभामा हुँदा उल्लेख्य काम गरेको छु । यो क्षेत्र भारतीय सीमा क्षेत्रसँग जोडिएको क्षेत्र हो । यो क्षेत्रका नागरिकलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्थ्यो ।

मैले प्रदेश सभामा गइसकेपछि मैले २७ किलोमिटर बोर्डर कोरिडोरको लागि ६८ करोड बजेट विनियोजन भइ ठेक्का प्रक्रियामा गएको छ । जुन परासनको बीच फाँटादेखि बेलौरीको बैजुडाँदडासम्म निर्माण हुनेछ । 

झिलमिलासम्मको बोर्डर कोरिडो पनि बन्ने भएको छ । साथै यहाँ सिँचाइको लागि विधुतीय पहुँच प्रभावकारी बनाउने प्राथमिकताको विषय हुन् ।

यहाँको सीमा समस्या, सुकुमबासी समस्या समाधान गर्न तपाईंका योजना के छन् ?

होइन, मैले नै ठाक्कै गर्छु भन्ने छैन । यो समस्या समाधानको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा अहोरात्र खटिने छु । बेलौरीमा रहेको छोटी भन्सारलाई स्तरोन्नतीको पहल गर्नेछु । बेलौरी–कलुवापुर सडकलाई चौडा बनाएर कालोपत्रे गराउने पहल हुनेछ । दोदा नदी कटान नियन्त्रण पनि मेरो हरसम्भव प्रयत्न रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप