शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पेनाल्टी होइन, सोझै गोल गरेँ, प्रचण्डको शुभकामनाले काम गर्‍यो’

राजनीतिमा सबै सम्भावना हुन्छ, सरकार निर्माणमा छलफल गर्छौँ : सुवासचन्द्र नेम्वाङ
बुधबार, १४ मङ्सिर २०७९, १४ : १०
बुधबार, १४ मङ्सिर २०७९

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङले भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको दाबी गरेका छन् । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ निर्वाचनमा दल र तिनका नेताहरूले पाएको जनमत मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताउँछन् ।

‘प्रत्यक्षतर्फ कांग्रेस बढी देखिएको छ, हामी दोस्रो भएको पनि पक्का हो । तर प्रत्यक्षतर्फ कांग्रेसले जितेको सिटमा गठबन्धनका अरू पार्टीको पनि मत छ, त्यो अर्थमा एमाले पहिलो पार्टी भनेर मैले भनेको हो,’ नेम्वाङको विश्लेषण छ । संविधान सभा अध्यक्ष समेत रहेका नेम्वाङसँग सम्पन्न निर्वाचन, निर्वाचनबाट आएको परिणाम र एमालेले नयाँ सरकार बनाउन गरिरहेको कसरतबारे कुराकानी गरेको छ । प्रस्तुत छ नेम्वाङसँग रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

यसपटक विश्वकप फुटबल र नेपालको निर्वाचन सँगसँगैजस्तो भयो । तपाईं मेस्सीको फ्यान पनि भएकाले विश्वकपको पहिलो खेलमा कमजोर मुलुकसँग खेल्दा पनि मेस्सीलाई गोल गर्न जसरी हम्मेहम्मे परेको थियो, तपाईंलाई पनि यो निर्वाचनमा गोल हान्न मुस्किल नै परेजस्तो देखियो नि ?

यो अलिक बुझाउन नसकिएको परिणाम हो । मेस्सीको हकमा पनि त्यही हो । तपाईंंले कमजोर मानिएको भनेर साउदी अरवलाई औँल्याउनु भएको होला । त्यो म्याचमा पनि मेस्सीले एक गोल हानेकै थिए । त्यसपछि मेक्सिकोसँग राम्रो खेल खेल्दै उत्कृष्ट गोल गरे भने एउटा एसिस्टसमेत गरे । त्यसैले अहिले अर्जेन्टिना र मेस्सी उत्कृष्ट फर्ममा छन् । यस पटकको विश्वकप नै मेस्सी र अर्जेन्टिनाले उचाल्छ भन्ने विश्वास छ । मेरो चुनावी हकमा पनि ठ्याक्कै त्यही हो । यो पटकको निर्वाचनमा नेकपा एमालेविरुद्ध देशभर नै घेरावन्दी भएको तपाईंहरूले देखिरहनुभएकै थियो । नेकपा एमालेको एउटा सिपाही म हो र मेराविरुद्ध पनि धेरै षड्यन्त्रहरू भएकाले पनि विगतका निर्वाचन भन्दा यो पटक फरक थियो । यस्तो अवस्थामा पनि हामीले गोल ग¥यौँ, मुख्य कुरा त्यो हो । जहाँसम्म इलाम–२ को कुरा छ, त्यहाँ निर्वाचनका सन्दर्भमा मेराविरुद्ध भएका प्रचारवाजी र गतिविधिहरू देख्नुभएको भए त्यस्तोमा पनि सुवासले गोल हानेछ भन्नुहुन्थ्यो र मेस्सीको जस्तै मेरो प्रशंसा गर्नुहुन्थ्यो ।

भनेपछि इलाम–२ मा पेनाल्टीमार्फत गोल भयो ?

पेनाल्टी होइन । सोझै गोल भयो । यो कुरा मैले सुरुदेखि नै भनेको हुँ कि मेराविरुद्ध घेराबन्दी र धेरै ठुलो प्रहार छ । मैले राम्रोसँग बुझाउन नसकेको रहेछु, तर बुझाउँछु र अन्तिममा विजय हासिल गर्छु भनेको थिएँ, ठ्याक्कै त्यहीं भयो ।

भनेपछि अहिलेको मतान्तरलाई तपाईंं सुखद् नै मान्नुहुन्छ ?

म संविधान, कानुन, मूल्य र मान्यतामा विश्वास गर्ने व्यक्ति हुँ । प्रत्यक्षतर्फ १ मत बढि भएपनि जित्ने प्रणाली हामीले नै बनाएका हौँ । त्यसकारण ‘एक भोटले जितिस् कि सय भोटले’ भन्ने अहिलेको निर्वाचन प्रणालीअनुसार प्रश्नै होइन । अर्को कुरा नेकपा एमालेलाई एक्लो बनाएर पुरै घेरावन्दी गरेर निर्वाचनमा उत्रेको अवस्थामा मैले जसरी मत पाएँ त्यो राम्रो हो भन्ने मेरो बुझाई हो ।

समग्र पार्टीले प्राप्त गरेको सिट संख्या र मतका बारेमा चाहिँ तपाईंंको विश्लेषण के छ ?

नरम शब्दमा भन्दा यो पछिल्लो समय बेठीक भएको छ । हुन त साथीभाइ तँ बढी नरम भइस पनि भन्छन् । अध्यक्ष केपी ओली र मसहित भएर प्रधानमन्त्रीलाई भेटेर भन्यौँ – लोकतन्त्रमा हामी विस्वास गर्छौ र लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । प्रतिस्पर्धामा कहिले जितिन्छ, कहिले हारिन्छ त्यसलाई स्वीकार गर्नुपर्छ । तर अहिले तपाईंंहरूले स्वस्थ प्रतिस्पर्धा होइन निषेधको राजनीति गरिरहनुभएको छ । निषेधको राजनीति ठीक होइन र तपाईंं गलत बाटोमा हिँडिरहनुभएको छ यसलाई बन्द गर्नुस् । तर उहाँहरू मान्नुभएन । यो अवस्थामा हामीले जुन परिणाम ल्यायौँ र लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्यौँ, यसमा कुनै विवाद रहेन । समानुपातिक मत भनेको पार्टीको चोखो मत हो, किनभने त्यसमा अरु पार्टीले भोट हाल्दैनन् आफ्नो पार्टीको मात्रै भोट हो त्यो । त्यस्तो भोट पाउनेमा हामी एक नम्बर छौँ भने नेपाली कांग्रेस दोस्रो छ ।

प्रत्यक्षतर्फ एकदुई सिटमा कांग्रेस बढी देखिएको छ, हामी दोस्रो भएको पनि पक्का हो । तर प्रत्यक्षतर्फको सिटमा गठबन्धनका अरु पार्टीको पनि मत हुन्छ, त्यो अर्थमा एमाले पहिलो पार्टी भनेर मैले भनेको हो ।

एमालेको चलाखीपूर्ण जवाफ हुन्छ । त्यसमाथि तपाईंंको त कुटनीतिक हुन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत देखाएर पहिलो भयौँ भन्नुभयो, अहिले पनि दोस्रो दल भएको प्रस्टै छ । तैपनि समानुपातिकतर्फ देखाएर पहिलो भयौँ भन्दै हुनुहुन्छ । तर हिजो ४०–४२ लाख मत ल्याउने पार्टी आज ३० लाख मत पुरयाउन सकिरहेको छैन । यसले त पार्टी हारेको हो भन्न मिल्दैन र ?

लोकप्रिय मतकै कुरा गर्दा एमालेको मात्रै नभएर सँगसँगै अरूको पनि हिसाव राखिदिनुभएको भए ठीक हुन्थ्यो कि । कांग्रेस, माओवादी र समाजवादीको पनि घटेको छ । नयाँ आउने पार्टीको त तुलना नै भएन । त्यसैले नयाँ प्रशंगमा हाम्रो भोट घटेको छ तर जो प्रतिस्पर्धी पार्टी छन् त्यसमध्येमा पहिलो हो । हामी प्रस्ट रुपमा पहिलो भएका छौँ, नेपाली कांग्रेस दोस्रो भएको छ । कांग्रेस जसले सम्पूर्ण पार्टीहरूको नेतृत्व गरेको छ र यो देशमा हामी नै हौँ अरू विकल्प छैन भन्ने साथीहरू यो ठाउँमा उभिन आइपुग्नुभयो भन्ने मेरो भनाइ हो ।

यसको मतलब ११–१२ लाख मत घटेकोमा एमालेलाई कुनै चिन्ता छैन ?

चिन्ता नहुने कुरा भएन । हाम्रो भोट पहिलाभन्दा घटेको हो तर यस पटक चिन्ता गर्दा मैले मेरोबारेमा मात्रै गरेको छैन, कांग्रेस माओवादीको पनि घट्यो भनेर पो चिन्ता गरेको हो त !

समग्रमा एमाले दोस्रो पार्टी भयो होइन ?

म यसमा धेरै जोड गर्दिनँ, जे छ त्यसलाई स्वीकार गरेर जाने हो भन्नेमा विश्वास गर्छु । लोकप्रिय मतमा हामी प्रथम भयौँ, प्रत्यक्षमा नेपाली कांग्रेस प्रथम भयो । चाहे दुईतीन सिट किन नहोस् त्यो प्रस्ट छ ।  हामीले संविधानमै मिश्रित निर्वाचन प्रणाली भनेका हौँ । त्यो मिश्रित प्रणालीअन्र्तगत एउटामा कांग्रेस अगाडी, अर्कोमा हामी अगाडी भएपछि कसलाई अगाडि भन्नुहुन्छ ?

प्रतिनिधि सभा सदस्यको समग्र सिटमा एमाले दोस्रो भन्न किन अप्ठेरो मान्नुभएको ? यो स्वीकारर्दा के बिग्रन्छ र ?

सवै सिट संख्या जोड्दा पक्कैपनि एकदुई सिट कांग्रेस अगाडि हुन्छ कि जस्तो देखिएको छ । तर अब पूर्ण नतिजा आओस् अनि हेरौँ न !

पहिलो पार्टी दोस्रो हुँदा पनि पराजय भइयो भन्ने अझै भएको छैन ?

हामी सवै मिलेर नेकपा एमालेलाई धुलो चटाइदिन्छौँ भनेर कसले भन्नुभो मैले बिर्सेँ । हामी पेट्रोलम्याक्स बालेर एमाले खोज्नुपर्ने बनाउछांँ पनि भन्नुभयो । अरु केके शव्द प्रयोग गर्नुभयो म त्यतातिर पनि जान्न, खाली सभ्य शब्द प्रयोग गरेर बोले हुन्थ्यो भन्नेमात्र भनाइ हो । यो सन्दर्भमा सबै एक ठाउँमा उभिएर एमालेमाथि घेरावन्दी गरेको बेलामा यो जुन परिणाम आयो त्यसलाई के भन्नुपर्छ र !

हुन त पार्टी अध्यक्षले बोलेका कुरामा तपाईंं पनि समर्थन नै गर्नुहुन्छ । यदि उहाँकै शब्द सम्झने हो भने १५० सिट एमालेले ल्याउँछ रेकर्ड नै गरेर राख्नु र पछि सुनाउनु भन्नेजस्ता अभिव्यक्तिका कारण एमालेले हार्यो भन्ने पनि सुनिन्छ । के वास्तविकता पनि त्यही हो ?

के कारणले र के भयो ? भन्ने छुट्टै समीक्षा गरौँला । हामी हार्दिकतापुर्वक छलफलमा उत्रन तयार छौँ । पहिलो कुरामै विवाद छ, अहिले एमाले हारेको हो कि ? को हारेको हो ? भन्नेबाटै सुरु गर्नुपर्छ । सुरुमै तपाईंले एमाले हारेको हो भनेर ‘टेकन फर ग्राण्टेड’ दिनुभयो भने ठीक निश्कर्षमा पुगिँदैन । मैले सन्दर्भ भनिरहेको छु कि सबै मिलेर घेराबन्दी गरेको अवस्थामा चुनाव लडेका हौँ हामी । त्यस्तो अवस्थामा परिणाम कस्तो आयो भन्ने मुख्य कुरा हो ।

मानिसहरू भनिरहेका छन् कि संख्याकै हिसाबमा त तपाईंंहरूले पनि गठबन्धन गरेकै हो । भन्नलाई तालमेल भनिएपनि ...?

ठीक छ । तर त्यही सन्दर्भमा म भन्दैछु, लोकप्रिय मतमा हामी पहिलो भयौँ । लोकप्रिय मतमा हामीले अरु पार्टीको भोट लिएका होइनौँ । प्रत्यक्षमा हामी केही सिट तल भयौ । म जे यथार्थ छ त्यही स्वीकार्ने मान्छे हो ।

अध्यक्षले १५० सिट ल्याउँछौ भनेर बोलेको त गलत नै भयो नि ?

अध्यक्षले कुन सन्दर्भमा के प्रशंगमा के कुरा बोल्नुभयो त्यो अहिले छलफल गरिरहनुपरेन । एउटा प्रशंग तपाईंले जे जोड्नुभयो । अध्यक्षले जे बोल्नुहुन्छ त्यो सयमा सय ठिक हुन्छ भनेर मैले भनिरहेको छैन । मलाई लागेको कुरा बाहिर बोल्दिनँ, तपाईंसँग भन्दिनँ । मलाई लाग्यो भने यो कुरा यस्तो हो नि कमरेड भनेर अध्यक्षलाई नै भन्छु । मेरो पार्टी कमिटी सचिवालय हो त्यहाँ भन्छु । त्यो प्रणाली र अनुशासनलाई म मान्छु । त्यसकारण अध्यक्षले एउटा प्रशंगमा भन्नुभएको होला कि हामी यो पटक सजिलै बहुमत ल्याउँछौ । त्यो स्प्रिरिटमा त विवादै छैन । हामी बहुमत ल्याउँछौँ भनेर त मैले पनि भनेको हो ।

एमालेले जे जति मत र सिट संख्या ल्याएको छ, त्योबाट निराश हुनुपर्ने अवस्था छैन । तर पनि केही पदाधिकारी अझ भनौँ वरिष्ठ उपाध्यक्ष, महासचिवदेखि सचिवसम्म हार्दा एमालेमा सन्नाटा छाएको छ होइन ?

यस्ता शब्दहरू तपाईं मलाई प्रश्न सोध्दै हुनुहुन्छ, यो मलाई नै छोडिदिनुस् । सन्नाटा छायो छाएन, पदाधिकारी हानुभएको छ दुःख लाग्यो लागेन, त्यो पनि मलाई सोध्नुस् । तपाईंले किन भन्नुपर्यो र ? जहाँसम्म हाम्रा एकजना कमरेड हार्नुभनेको दुःखको कुरा हो । मलाई दुःख लागेको छ । हाम्रा पदाधिकारी हार्दा हामीलाई खिन्नता अवस्य उत्पन्न गरेको छ । तर जहाँसम्म निर्वाचनको सन्दर्भ छ, हामी एक्लै उभिँदा हामीले यो  परिणाम ल्याएका छौँ र हामी खुसी छौँ । यसलाई आधार बनाएर आउने दिनहरूमा अगाडी बढ्छौँ ।

निर्वाचन परिणामले एमाले संसद्मा दोस्रो नै हुने देखियो । यति हुँदाहुदै पनि एमाले नयाँ सरकार बनाउने विषयमा कसरत गरिरहेको छ भन्ने सुनिन्छ । कस्तो खालको कसरत छ ? तपाईं त एमालेभित्रको ‘की पर्सन’ पनि हो, सरकारमा जाने, सरकार आफैँ बनाउने वा प्रतिपक्षमा बसौ भन्नेमध्ये अध्यक्षलाई के सल्लाह दिनुभएको छ ?

एउटा कुरा फेरि पनि दोहोर्याउँछु । तपाईंले धेरै पटक दोस्रो हुनुभो, दोस्रो हुनुभो भन्नुभयो । त्यसो भनिरहँदा तेस्रो, चौथो, पाँचौ, छैठौ भएका साथीहरूलाई तपाईंको शब्दले अलिक घोच्ला । त्यतातिर म पनि जान्न । दोस्रोमै अघि पनि राखे कि हामी लोकप्रिय मत जो पार्टीले पाउने चोखो मतमा पहिलो छौँ । सिट प्राप्त गर्ने कुरामा नेपाली कांग्रेस पहिलो हो । यस्तो अवस्थामा हामी पहिलो पार्टी भएकाले पहल गर्छौँ भन्ला । लोकप्रिय मतका आधारमा हामी पहिलो हौँ, हामी पहल गर्छौँ भनेर एमालेले भन्ला । एमालेका साथीहरूले पनि भन्नुहोला । तर म के भन्छु भने अहिले यो प्रकृया सुरु भैसकेको छैन ।

पूर्णरुपमा निर्वाचन परिणाम आइसकेको छैन अन्तिमतिरमात्रै छ । हामी निर्वाचन आयोगसँग सम्पर्कमा पनि छौँ र चाँडो पुरा गर्नुस् भनिरहेका छौँ । सँगसँगै अनौपचारिक भलाकुसारी पनि गरिरहेका छौँ । यो सन्दर्भमा म पनि इलामबाट सोमबार काठमाडौँ आएको हुँ । फेरि धन्यवाद दिन जानुछ । त्यसैले हामी एकअर्कामा छलफल गर्छौँ र निश्कर्षमा पुग्छौँ । अहिले मैले एउटा आधार भनिरहेको छु–कि अहिले जनताले दलहरूलाई प्रष्ट सन्देश दिएका छन् । त्यो भनेको दलहरू मिलेर अघि बढ्नुपर्छ । निषेधको राजनीति छोड्नुपर्छ । हामीले त ठुलो इस्यू उठाएका छौँ । को पहिलो भन्नेमा विवाद होला तर मैले त दाबी गर्ने आधार देखाएँ । त्यो आधार प्राप्त हुने स्थिति बनाएदियो जनताले । एमालेलाई धुलो चटाउनुपर्छ र पेट्रोलम्याक्स बालेर खोज्दा पनि फेला नपर्ने बनाइदिन्छौँ भन्ने कुरालाई त जनताले मानेनन्, अस्वीकार गरिदिए ।

बहुमत दिन पनि जनताले मानेनन् ?

बहुमत त कसैलाई पनि मानेनन् ।

एमालेले मात्रै हो नि बहुमतको दाबी गरेको त ?

गठबन्धनको नेतृत्वले गरेको थिएन ? थियो । यो पटक जनताले बहुमत कसैलाई पनि दिन चाहेनन् । सामान्य जनादेशमात्रै दिए । किनभने तिमी दलहरू मिलेर अघि बढ, एकअर्कालाई निषेध गर्ने ढंगले अगाडि नबढ है भने ।

मिलेर जानु भन्ने शब्द तपाईंले संविधानसभाको अध्यक्ष हुँदा पनि धेरै प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले सन्दर्भ अलि फरक छ । यो शब्दको अर्थ के हो ? कि मिल्नु भनेको सवै पार्टी सरकारमा जानु भनेको हो ?

मिलेर भनेको संविधान, कानुन र मुल्यमान्यता बमोजिम भनेको हो । जस्तो एकछिनलाई कांग्रेस र हामी मिल्ने भनेको ट्याप्पै एउटा प्रधानमन्त्री, एउटा उपप्रधानमन्त्री बन्ने भनेको हो त ? मिलेर भन्नुमा धेरै पक्षहरू छन् । जस्तो नेपाली कांग्रेसले सरकार चलाउँछ अथवा अर्को पार्टीले चलाउँछ । एउटा प्रतिपक्षमा बस्छ भने त्यो पनि मिलेर नै हो । तर संविधान कानुन वमोजिम चल्नुपर्यो । लोकतन्त्रमा लोकतान्त्रिक मूल्य र मान्यतामा समझदारीसाथ अगाडी बढ्नुपर्यो ।

एमाले र कांग्रेस एउटामा एउटा पहिलो अर्कोमा अर्को पहिलो भएको अवस्थामा यी दुई दल मिलेर सरकार बनाउने सम्भावना पनि छ ?

मैले त्यसो भनेको छैन । राजनीतिमा सबै सम्भावना हुन्छ भन्छन् । अहिले जति दलले जनताको जनादेश पाएका छन्, उनीहरूलाई जनताको सन्देश छ –तपाईंहरू संविधान र संसदीय मुल्यमान्यताअनुसार छलफल गर्नुस् र अगाडि बढ्नुस् । हिजो छलफल नै गर्दैन थिए । मिल्नुस् भनेको अर्थ त्यो पनि छ । अहिले एकअर्कासँग पानी बारबार होइन, एक ठाउँमा बस्नुस र जनताको जनादेश बमोजिम हामी कसरी अघि बढ्न सक्छौ भनेर सल्लाह गर्नुस्, छलफल गर्नुस र अगाडि बढ्नुस् भनेको हो । उदाहरणका लागि मैले निर्वाचन परिणाम आउनासाथ प्रचण्ड कमरेडलाई इलामबाटै फोन गरेँर बधाई दिएँ । उहाँले पनि मलाई पनि बधाई दिनुभयो । तर मैले मेरो परिणाम आएको छैन कमरेड भनेँ । होइन आइहाल्छ, तपाईं जितिहाल्नुहुन्छ उहाँले भन्नुभयो । म त भन्छु उहाँको शुभकामनाले पनि मेरो जितमा काम गर्‍यो । भेटेर भन्नुछ । त्यही दिन केपी कमरेडसँग पनि उहाँको कुरा भएछ । यसरी स वैले एकअर्कासँग कुरा गर्नपर्यो र जनताको नयाँ जनादेशअनुसार ठिक निष्कर्षमा पुग्नुपर्यो ।

तपाईंको भनाईमा एमाले र कांग्रेस मिलेर पनि सरकार बनाउने सम्भावना छ । तपाईंले भनेको सम्भावनाको खेल त्यही होइन ?

सबै, सबै । अहिले यो, ऊ भन्ने कुरा छैन ।

कांग्रेस छोडेर वामपन्थीहरूको नि ?

अहिले त्यो पनि कुरा उठेको छ तर छलफल कुनै टुंगोमा पुगेको छैन । त्यसैले सम्भावनाहरू धेरै छन् ।

नेकपा एमाले अर्को दलको नेतृत्वमा पनि सरकारमा जान तयार हो ?

तपाईंलाई पहिला नै यति भएन भने भन्यो भने त कुनै छलफल नै हुदैन नि । जनताले दिएको नयाँ जनादेशअनुसार छलफल गरेर जान दलहरू तयार हुनुपर्छ ।

त्यसोभए प्रचण्डको नेतृत्वको सरकारमा एमाले जान तयार छ भनेर बुझौँ ?

जनताको जनादेश प्राप्त गर्ने सबैसँग मिलेर, छलफल गरेर अगाडि बढ्न तयार छौँ ।

यो चुनावबाट एउटा नयाँ पार्टी उभारका साथ जन्मियो, यसलाई चाहीँ तपाईंले कसरी लिनुभएको छ ?

मैले यसलाई स्वाभाविक रुपमा लिएको छु । मैले टिप्पणीहरू पनि सुनेको छु । आजै पनि कति साथीहरूले सोध्दै थिए । यसले त ठुला दलहरूलाई चुनौती, ठुला दललाई खतरा भएन र भनेर ? होइन मेरो प्रस्ट मान्यता छ । हामीले जुन संविधान बनायौँ र तपाईंले उल्लेख गरेका दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतको प्रयासमा संविधानसभा बनेर त्यसबाट संविधान बनायौँ, त्यही संविधानअन्र्तगत अहिलेका दलहरू प्रतिस्पर्धामा आएका हुन् । त्यसैले यो त खुसी मान्ने कुरा हो । कसैप्रतिको चुनौतिको कुरा होइन, स्वाभाविक रुपमा लिनुपर्छ र सम्मान गर्दै उहाँहरूलाई बधाई र शुभकामना भन्न चाहान्छु ।

नयाँ दल उदाउनुमा हिजो कांग्रेस एमालेलगायतका दलहरू सरकारमा रहँदा काम गर्न नसकेर अकर्मण्यताको असन्तुष्टि पनि भन्छन् नि कतिपयले ?

लोकतन्त्रमा विभिन्न कारणले नयाँ दलहरू जन्मन्छन् । त्यसलाई संविधानले एउटा ठाउँ दिएको हुन्छ, स्पेस दिएको हुन्छ । तपाईंले असन्तुष्टि भन्नुभयो असन्तुष्टिलाई बाहिर निस्कन दिनुपनि त लोकतन्त्रको सुन्दर पक्ष हो नि ! उदाहरणका लागि २०४७ को संविधानपनि तुलनात्मक रुपमा कम नै भएपनि लोकतान्त्रिक नै थियो । तर ६० वर्षसम्म कमा, फुुलिस्टप परिवर्तन गर्नुपर्दैन भन्ने भावना रह्यो, त्यसले गर्दा भित्रभित्रै उकुसमुकुस भएछ र हामी परिवर्तन गरेर गणतन्त्रमा पुग्यौँ । अहिले यो संविधानमा हामीले यो सबै सम्भावनालाई बन्द गरिदिएका छौँ, अब परिवर्तनका लागि आन्दोलन गर्न पर्दैन भनेर । आउनुस् जनताको आशीर्वाद लिनुस् र संसद्मार्फत आफूले चाहेको परिवर्तन गर्नुस् । त्यसैले नयाँ साथीहरू आउनुभएको छ ।

संसद्मा यस्तो कम्पोजिसन बन्दैछ कि यसले अस्थिरता बढाउने भो, अझै अघि बढेर भन्दा यो संसद ५ वर्ष पनि नजाने भो र मध्यावधितर्फ मुलुक जाने भो पनि भनेको सुनिन्छ । यसमा तपाईंको टिप्पणी के छ ?

यो ठिक प्रश्न सोध्नुभयो । बजारमा पनि यस्ता प्रश्न बेलाबेलामा आएको भेट्छु । तपाईंमार्फत प्रस्ट शब्दमा भन्छु– कल्पना नगरेको स्थिति उत्पन्न भयो भने त हामीले त्यसलाई म्यानेज गर्नुपर्छ, दलहरू र नेताहरू जिम्मेवार हुनुपर्छ । तपाईंले उठाएको यो विषय कल्पना नगरिएको स्थिति होइन । हाम्रो संविधानले प्रत्यक्ष र समानुपातिक भनेर मिश्रित निर्वाचन प्रणाली भनेको छ । यो प्रणाली जब हामीले संविधानमा राख्याैँ, त्यतिबेला त्यही पनि प्रश्न उठेको थियो । संविधान जारी गरेपछि पनि विज्ञहरूले प्रश्न उठाएका थिए । यसले देशलाई अस्थिरतामा लैजान्छ, कसैको बहुमत आउँदैन भनेर प्रश्न त्यसबेला उठेको हो । र त्यतिबेला पनि हामीले जवाफ दिएका थियौँ– हामीले कल्पना गरेर बनाएको अवस्था हो, हामी यसलाई फेस गर्छौँ, सम्बोधन गर्छौँ ।

तर गलत सोचिएछ भन्ने त देखियो नि ?

होइन, ठिक ढंगले सोचेर बनाएको हो । कथम् कदाचित हामीले सोचेजस्तो स्थिति आएछ भने यिनै दलहरूले म्यानेज गर्छन् । म के भन्दै आएको छु भने जतिसुकै कमिकमजोरी होस् हाम्रा अहिलेका यी दल र दलका नेताहरूले आखिरमा मिलेर देशलाई एउटा निकास दिने गरेका छन्, दिन्छन् ।

तपाईं संविधान बनाउदा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो त्यसवेला कठिन अवस्थामा पनि दलहरूलाई मिलाएर संविधान जारी भएको हो । अहिले तपाईं आफै पनि निर्वाचन लडिरहँदा, एउटा दलको बहुमत नआउँदा र अस्थिरता हुने अवस्था आउँदा यसलाई सच्चाउनुपर्छ कि भन्ने लागेको छ कि छैन ?

मैले मिश्रित निर्वाचन प्रणालीलाई गलत भनेको छैन । संविधानको कुनैपनि व्यवस्थालाई अहिले गलत भएछ भन्ने बेला भएको छैन । यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो, कहिँकतै व्यवहारमा समस्या उत्पन्न भएछ भने हामीले जानेनछौँ भन्नुपर्छ । संविधान खोटरहित छ, राम्रो छ संविधान । भारतकै संविधानका सवालमा अम्बेडकरले खराबी संविधानमा होइन, हामीमा छ भनेका थिए । ठ्याक्कै त्यही कुरा हो । अहिले उत्पन्न भएको समस्याको समाधान हामी दलहरूले गर्नुपर्छ, गर्छौँ, गर्नसक्छौँ । नीतिगत सिद्धान्तअनुसार संविधान भनेको परिवर्तनको दस्तावेज भएकाले परिवर्तनप्रतिका भावनाहरूलाई समेट्दै अगाडि बढ्नुपर्छ भन्नेमा विवाद छैन । तर अहिले नै संविधान संशोधन गर्ने बेला भयो कि भएन ? कुन कुरालाई संशोधन गर्नुपर्छ ? भनेर सोध्नुभयो भने म संविधान संशोधन गर्ने बेला भयो भनेर भन्दिनँ । बरु दलहरूले संविधानलाई जनतालाई चित्त बुझ्ने ढंगले कार्यान्वयन गरेर लिएर जान सकिरहेका छैनन, यसमा हाम्रा कमिकमजोरी देखिएका छन् ।

एउटा प्रश्न धेरैले सोधिदिनु भनेका छन् । जस्तो कि कथंकदाचित एमाले त्यो स्थानमा पुग्यो भने संसद् विघटन गर्छ कि गर्दैन ?

अहिले हामीले त्यो वाचाबन्धन गर्नुपर्ने अवस्था छैन । हामी संविधान बमोजिम चल्छौँ । मैले यति भने, हामी सवै मिलेर यसको सम्बोधन गर्छौँ, त्यसकारण बीचमै संसद विघटन गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ भन्नेमा मलाई विश्वास नै छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप