अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि पर्दै उपविजेता बनेको थियो ।
समूह चरणमा इक्वेडरविरुद्ध बराबरीमा रोकिए पनि नेदरल्यान्ड्सले बाँकी दुई खेल जित्दै तीन खेलबाट ७ अङ्क बटुल्न सफल भएको थियो । तर धेरैले यस विश्वकपमा नेदरल्यान्ड्सको खेल्ने तरिकामाथि प्रश्न उठाएका छन् । किनभने तीन खेलमा टोलीले विपक्षीको पोस्टमा मात्र ८ वटा प्रहार गर्न सकेको छ । भान हाल भने सन् २०१० को उपविजेताका लागि यो कुनै समस्या नभएको र अन्तिम १६ मा आफूलाई अब्बल साबित गर्न तयार रहेको बताउँछन् ।
समूह एको शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले सन् १९३४ यता आफूले खेलेका सबै विश्वकपको नकआउट चरणमा पुगेको रेकर्डलाई कायम राखेको छ । पछिल्ला ३२ वर्षमा नेदरल्यान्ड्स अन्तिम १६ मात्र दुईपटक पराजित भएको छ, सन् १९९० र २००६ मा ।
सन् २०२० को यूरोमा चेक रिपब्लिकसँग पराजित भएयता नेदरल्यान्ड्स पछिल्ला १८ खेलमा अपराजित रहेको छ । शनिबारको खेल जिते भान हालले विश्वकपमा ११ खेलमा अपराजित रहने मारियो जागालोको कीर्तिमानलाई बराबरी गर्ने छन् । यसमा फिलिपे स्कोलारी १२ खेलसहित शीर्ष स्थानमा छन् ।
आफ्नो शरीरलाई दाउमा राख्दै क्रिस्टियन पुलिसिचले इरानविरुद्ध गोल गर्दै टोलीलाई नकआउट चरणसम्म पुर्याएका छन् । अमेरिका यसअघि सन् २०१० र २०१४ मा प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको थियो ।
तर, पछिल्ला रेकर्डलाई हेर्दा अमेरिकाको पक्षमा आजको खेल देखिँदैन किनभने सन् २००२ यता टोलीले विश्वकपमा कुनै पनि युरोपियन प्रतिद्वन्द्वीलाई हराउन सकेको छैन । यसअघि नकआउट चरणमा भएका युरोपियन टोलीसँगका सबै भिडन्तमा टोलीले पराजय मात्र हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह
-
तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल