रास्वपा प्रवक्ता भन्छन्– समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा.मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन् ।
यद्यपि प्रवक्ता डा.ढकालले यसअघि निर्वाचन आयोगमा पठाएको बन्दसूची भन्दा दायाँबायाँ नगरी समानुपातिक सांसद सिफारिस गरेको दाबी गरेका छन् । प्रवक्ता डा.ढकालले समानुपातिक सांसद सिफारिसमा कुनै तलमाथि नभएकाले अनावश्यक विवादको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘हामीले समानुपातिकतर्फ यसअघि निर्वाचन आयोगमा पठाइएकै बन्दसूचीका आधारमा सांसद सिफारिस गरेका छौँ । त्यो भन्दा दायाँबायाँ भएको छैन ।’ उनले पार्टीले प्राप्त गरेको सिट र क्लस्टरअुनसार नाम सिफारिस गर्दा कतिपय उम्मेदवार छुटे पनि सिफारिसप्रति असन्तुष्ट हुन जरुरी नरहेको बताए ।
प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । शनिबार दिउँसोसम्म निर्वाचन आयोगले नाम सिफारिस गर्ने म्याद तोके पनि कतिपय दलहरूले शनिबार मध्यरातिसम्म मात्र समानुपातिक सांसद सिफारिसको विवरण बुझाएका थिए ।
निर्वाचन आयोगले दलहरूले रातिसम्म बुझाएको सूची कानुनसम्मत भए नभएको आज हेर्नेछ । कानुन बमोजिम नभएको भए अझै पनि सच्याउन दुई दिनको समय उपलब्ध गराउने आयोगले जनाएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण