बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘विवाहको प्रश्न आएर हैरानै पर्छ’

सोमबार, २६ मङ्सिर २०७९, ०९ : २०
सोमबार, २६ मङ्सिर २०७९

आधुनिक होस् वा चलचित्रका गीत, एक दशक भन्दा लामो समयदेखि सबैतिर छाएकी छिन् गायिका साहिमा श्रेष्ठ । तर उनी पछिल्लो समय भने चर्चा भन्दा बाहिर छिन् । 

‘चर्चा कहिले हुन्छ, कहिले हुँदैन । काम भने मैले नियमित गरिरहेकी छु’ उनी भन्छिन् । श्रेष्ठका पछिल्लो हिट गीत ‘ओक्कल दोक्कल’ हो । त्यसअगाडि ‘उम्लियो उम्लियो’ पनि हिट भएको थियो । ‘तिम्रो डोला डोला हातमा’, ‘तिम्रो पिक्चर हिट’ लगायत उनको स्वर रहेको फिल्मका धेरै गीत समेत चलेका छन् । 

सांगीतिक क्षेत्रबाट नाम, दाम र इज्जत सबै थोक कमाएको उनी बताउँछिन् । प्रस्तुत छ, पछिल्लो समय केही नयाँ गीत ल्याउने तरखरमा रहेकी गायिका श्रेष्ठसँग रातोपाटीले गरेको छोटो कुराकानीः

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

– अहिले म केही नयाँ गीत ल्याउने तरखरमा छु । रेकर्डिङ सकाएर म्युजिक भिडियो बनाउँदैछु । पार्श्व गायन पनि चलिरहेकै छ ।

केही समययता तपाईंको चर्चा सेलाएको छ त ?

– केही समय भयो मेरो नयाँ गीतसंगीत बजारमा आएको छैन । यसले पनि म मिडिया बाहिर छु । तर म सांगीतिक क्षेत्र छोडेर कहीँ गएकी छैन । मेरा नयाँ गीतहरु बाहिर आउन केही समय लागेकोले ग्याप देखिएको हो । 

अर्काे कुरो गायनमा अहिले एकदमै धेरै प्रतिस्पर्धा छ । बाटोमा प्रत्येक दश मिटरमा दुई गायक गायिका भेटिन्छन् । यो अवस्थामा एकजना मात्र सधैँ चर्चामा रहन सक्छ र रहनुपर्छ भन्ने छैन ।

मेला महोत्सवले कति व्यस्त बनाएको छ ?

– कोरोना र निर्वाचनले गर्दा बल्ल मेला महोत्सव सुरु हुन थालेको छ । म पनि अलि अलि व्यस्त छु । 

अचेल मेला महोत्सवमा राम्रा गीत प्राथमिकतामा पर्दैन भनिन्छ नि, हो ?

– मेला–महोत्सवमा राम्रा, कालजयी भन्दा पनि दर्शक उफार्ने खालका गीतसंगीत चल्छन् । त्यसको अर्थ राम्रो चाहिँदैन भन्ने होइन । दर्शक नचाउने, जोश भर्ने गीत संगीत मेला महोत्सवमा बढी प्राथमिकता पर्ने गरेको छ । 

गीतसंगीतले मात्र गायक गायिका चल्ने होइन । गीतसंगीतको अलावा मेला–महोत्सवमा उनीहरुको गेटअप, ड्रेसअप र पर्फमेन्ससमेत चाहिन्छ । नभए दर्शक श्रोताले रुचाउँदैनन् । अहिले गीत बनाउँदा मेला महोत्सवमा दर्शक कसरी उफार्न सकिन्छ भनेर ध्यान दिनुपर्छ । त्यस्तो गीत नभएका गायक गायिका आयोजकको छनौटमै पर्दैनन् ।

गायक गायिका युट्युव केन्द्रित हुँदै गएको आरोप पनि छ ?

– हो, पछिल्लो समय गायक गायिका युट्युव केन्द्रित पनि भएको देख्न सकिन्छ । जहाँबाट पैसा आउँछ, त्यता ढल्किनु स्वाभाविक हो । अहिले बजारमा युट्युव ट्रेन्ड चलेको छ । दर्शकश्रोताले जे भनेपनि युट्युवमा धेरै भ्यूज भयो भने त्यो गीत हिट मानिन्छ । त्यसले पैसा कमाउँछ । युटुयुवले धेरै गायक गायिका स्थापित गरेको छ । त्यसलाई पनि नकार्न सकिन्न ।

गीतको मोडलिङमा पनि देखिँदै आउनु भएको छ, रुचि हो वा रहर ?

– मोडलिङमा रुचि पहिले देखिकै हो । त्यसैले पहिलेदेखि नै आफ्नो गीतहरुमा मोडलिङ गर्दै आएकी छु । गीत गाउँदा गायक गायिकाको स्वर मात्र चिनिन्छ । मोडलिङ गर्यो भने स्वरको अलावा अनुहार पनि परिचित हुन्छ । 

तपाईं अविवाहित गायिका, मङ्सिर लगायत विवाहको लगन भएको समय विवाहबारेको प्रश्नले कत्तिको सताउँछ ?

– विवाहको प्रश्न आएर हैरानै पर्छ नि, भनि साध्य छैन । फूल भएको ठाउँमा भमरा आउनु स्वाभाविक हो । मैले विवाहको प्रश्नलाई नराम्रो रूपमा हेरेको छैन । विवाहका लागि प्रश्न मात्र होइन, धेरैतिरबाट कुरा समेत आउने गरेको छ । विवाह समय आएपछि हुन्छ । मेरो जवाफ यत्ति रहन्छ ।

प्रेम गर्छु, विवाह गरौँ भन्ने फ्यान कत्तिको छन् ?

– धेरै थिए, छन् र अझै होलान् पनि । त्यो हुनु स्वाभाविक पनि हो । त्यसलाई आफूले कसरी लिने भन्ने कुरोमा भर पर्छ । कसैले राम्रो मान्छन्, मनपराउँछन् भने त्यो एकदमै पोजेटिभ कुरो हो । विवाहका लागि जिद्दी नै गर्नेलाई सम्झाउने गरेकी छु । 

गायनको सुरुवातको समय देखेको सपना पुरा भयो कि, बाँकी छ ?

– मानिसको सबै सपना कहाँ पुरा हुन्छन् र ? एउटा सपना पुरा भयो, अर्काे जन्मिदो रहेछ । गायनमा लागेपछि देखेको मात्र होइन, नदेखेको सपना पनि धेरै पुरा भएको छ । गायनले नाम, दाम, इज्जत सबै दिएको छ । कुनै कुरो आफूले सोचेको पनि पाएको छैन, केही कल्पना नगरेको पनि प्राप्ती भएको छ । म गायनबाट खुसी र सन्टुष्ट छु ।

गायनमा पुरानो हुँदै जाँदा के कस्ता चुनौतीको सामना गर्नु पर्दाे रहेछ ?

– म समय अनुसार आफूलाई परिमार्जित गर्दै लाने गायिका हुँ । त्यसैले समयअनुसार चल्न सक्नु एउटा चुनौती हो । 

अर्काे कुरो अहिले विभिन्न गायन रियालटी शो छन् । तिनले दैनिकजसो नव–प्रतिभा भित्र्याउँछन् । त्यसरी भित्रिने प्रतिभा ट्यालेन्ट हुन्छन् । त्यसले चुनौती त थपिएको महसुस हुन्छ । तरपनि एकले अर्काेलाई रिप्लेस नगरी हुन्न । मैले पनि कसैलाई रिप्लेस गरेर आएँ, नयाँ आउनेले पनि मलाई रिप्लेस गर्छन् । 

म आफू कसरी स्थापित भइरहने यसतर्फ ध्यान दिन्छु । सबैले ठाउँ पाउनुपर्छ भन्ने मान्यता राख्छु । प्रतिस्पर्धा बढ्दै जाँदा राम्रो भन्दा राम्रो गीतसंगीत दिनुपर्ने प्रेसर फिल हुन्छ । त्यसले हामीलाई क्रियटिभ बनाउन सहयोग पनि गर्छ ।

अव प्रसंग बदलौ, अहिले विश्वकप चलिरहेको छ । कत्तिको हेर्ने गर्नु भएको छ ?

– कार्यक्रम तथा गीत रेकर्डिङ नभएको समय हेर्छु । ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड लगायतको खेल छुटाउँदिन, मनपर्छ ।

विश्वकपमा मनपर्ने टिम ?

– मेरो मनपर्ने टिम त इङ्ल्याण्ड हो । त्यसपछि फ्रान्स मनपर्छ ।

यो पटकको विश्वकप कस्ले जित्छ जस्तो लाग्छ ?

– अहिलेसम्मको खेल हेर्दा यो पटक विश्वकप फ्रान्सले जित्छ जस्तो लाग्छ । फ्रान्सले जिते हुन्थ्यो भन्ने छ ।

मनपर्ने खेलाडी ?

– धेरै मानिस फुटबल खेलाडीमा मेस्सी, रोनाल्डो, नेयमार मन पराउँछन् । तर, मलाई भने साका र एम्बाम्बे मनपर्छ । 

विश्वकपको समय कुनै टिमको जर्सी लगाउनु भएको छ ?

– सन् २०१४ मा मैले जर्मनीको जर्सी लगाएकीे थिएँ । त्यो समय जर्सीमा विभिन्न फोटो सुट पनि गरेको थिएँ । यो पटक जाडो सिजन भएकोले जर्सी लगाएर फोटो सुट गर्न मनलागेन ।

विश्वकप हेर्न थालेको कहिलेदेखि हो ?

– म सानो छँदा दाइहरुले हेर्थे, चर्चा गर्थे । तर मलाई केही थाहा थिएन । २०१० देखि विश्वकपमा अलिअलि चासो बढ्यो । २०१४ देखि भने नियमित हेर्दै आएकी छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप