शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सदनमा एक सय बालेन जन्माउनुपर्छ भन्ने विचार आयो’

‘मन्त्री हुन पनि सक्छु’ : असिम शाह
शुक्रबार, ०१ पुस २०७९, ११ : ५२
शुक्रबार, ०१ पुस २०७९

लामो समयदेखि विज्ञापन, म्युजिक भिडियो, वृत्तचित्र निर्माण, निर्देशन गर्दै आएका असिम शाहले फिल्म ‘२ रुपैयाँ’ निर्देशनबाट आफूलाई फिल्मकर्मीका रुपमा अगाडि ल्याएका थिए । शाह एकाएक प्रतिनिधिसभामा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी समानुपातिकमार्फत् सांसद चुनिएका हुन् । पार्टीले उनलाई मुस्लिम समुदायको तर्फबाट सांसद छानेको हो ।

सांसद भएपछि देश र जनताप्रति आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको महसुस गरेका शाह फिल्मकर्म पनि जारी राख्ने सोचमा छन् । प्रस्तुत छ, सांसद शाहसँग फिल्म तथा राजनीतिको विषयमा गरिएको छोटो संवाद-

फिल्म, विज्ञापन लगायतको काममा रमाइरहेको ब्यक्ति तपाईं एकाएक राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?

म पहिले सञ्चारकर्मी थिएँ, पछि विज्ञापन र चलचित्र निर्देशनमा प्रवेश गरें । सञ्चारकर्मी हुँदा राजनीतिक टक शोहरु पनि चलाउँथे । त्यसले गर्दा ममा राजनीतिक चेतना पहिलेदेखि रह्यो । एउटा समयमा आएर राजनीतिमा लाग्छु भन्ने पहिलेदेखि नै सोच थियो । देशको माहोलले पनि त्यो सोच पलाएको हो ।

तर देश विकास अरु कसैले गर्दियोस् भन्ने थियो । एकपछि अर्काे गर्दै जो आएपनि देशका लागि केही गरेनन् । कहिले होला देश विकास भनेर हेर्नेबाहेक अन्य उपाय भएन । म आफ्नो क्षेत्रमा ब्यस्त थिएँ । यो काम छोडेर अहिल्यै राजनीतिमा किन लाग्ने भन्ने थियो ।

जब स्थानीय चुनावमा महानगरमा हामीले बालेन शाहलाई सपोर्ट गरेका थियौ, तब जुन किसिमले उनको लहर आयो । त्यो एउटा बिज छरेजस्तो भयो । बालेनको विजयपछि हामीले एक बालेनलाई मेयर बनायौ । अव सदनमा एक सय बालेन जन्माउनुपर्छ भन्ने विचार आयो । यो राष्ट्रिय स्वतन्त्र पार्टीको गठन अगाडिको कुरो थियो ।

त्यसपछि रवि लामिछाने राजनीतिमा आउनुभयो । उहाँले आफ्नो लिडरसिप देखाउँदै पार्टीको रुप अगाडि बढाउनु भयो । उहाँले एक्लै होइन, टिममा जानुपर्छ भनेर अगाडि बढ्नुभयो । सदनमा एक्लै गएर पनि केही हुनेवाला थिएन । त्यसपछि म रवि लामिछानेसँग इम्प्रेस भए । उहाँको विचार ठिक लाग्यो । त्यसपछि उहाँलाई सपोर्ट गर्दै गर्दा किन आफू पनि नजाने भनेर होमिएँ । घरपरिवारबाट पनि सपोर्ट भयो । सांसद भइयो ।

घरको कस्तो सपोर्ट रह्यो ?

राजनीतिमा मलाई पहिले घरको सपोर्ट थिएन । कलेजमा राजनीति गर्न मन लागेको बेलादेखि अन्य समयमा पनि परिवारका सदस्यले राजनीतिमा नलागे हुन्थ्यो भन्ने थियो ।

यो पटक भाई आसिफले पनि दुई दाजुभाई एउटै प्रोफेसनमा भएपनि एउटाले राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने कुरो गर्यो । आसिफले पूर्ण रुपमा राजनीतिमा लाग, काम म हेर्छु भनेर आँट दियो । राजनीति तेरो रुचिको बिषय पनि हो, अगाडि बढ भनेर ढाडस दियो । अनि राजनीतिमा होमिएँ ।

राजनीतिमा आउने भएपछि प्रत्यक्ष चुनाव लडेको भए हुन्थ्यो नि, किन समानुपातिक ?

पहिले प्रत्यक्ष चुनाव लड्ने विचार थियो । तर, म पूर्ण रुपमा होमिएको बेला समय थोरै थियो । अर्काे कुरो राजनीतिमा पूर्णकालीन लाग्ने समय मेरो विदेशका कार्यक्रम पहिल्यै फिक्स थिए । त्यसैले म समानुपातिकमा बस्छु भनें ।

समानुपातिकका लागि पनि पार्टीभित्र प्राइमरी इलेक्सन भएको थियो । मेरो कलाकारिताको ब्यागग्राउण्डले देशभरिबाट उत्कृष्ट ४ मा पर्न सफल भएँ । यसले एउटा उत्साह जाग्यो । जे त होलाअब ४ मंसिरपछि सोचौला भनेर राजनीतिमा हाम फालें ।

ठुला राजनीतिक दलमा लामो समय क्रियाशील थुप्रै नेता सांसद बन्न नसकेको अवस्थामा तपाईंको संसद यात्रा चिट्ठासँग पनि तुलना भएको छ नि ?

हाम्रो पार्टीभित्र भएको प्रजातान्त्रिक प्रणालीबाट म सांसद भएको हो । हाम्रो पार्टीले जस्तो समानुपातिक सांसद छान्ने प्रणाली अन्य पार्टीले पनि अपनायो भने अरुलाई पनि चिट्ठा पर्छ । ठुला दलले पनि समानुपातिकका लागि कार्यकर्ताबाट चुनाव गरेर जाँदा राम्रो हुन्थ्यो । त्यो नहुँदा  ठुला पार्टीमा नेताका श्रीमती, अध्यक्षका आफन्त लगायत समानुपातिकमा टीका लगाउने चलन चल्यो ।

सांसद भएपछि कस्तो अनुभूति भइरहेको छ ?

अलिकति बोझ बढेको फिल गरेको छु । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मानिसको अपेक्षा धेरै छ । हामीलाई फेल हुने छुट छैन । हामी अहिले छलफलमा छौ । सर्वसाधारणले सानो ढल फुटेकोदेखि सबै कामको हामीबाट आस गरेर बसेका छन् । त्यो अपेक्षा कसरी मिट गरेर लैजाने भन्ने चिन्ता हो ।

अर्काे कुरो हाम्रो पार्टी नयाँ छ । संगठन बिस्तार गर्नु पर्नेछ । अन्य दल फुटेको दोषबाट पनि जोगिनु पर्नेछ । धेरै कुरामा हामी जिम्मेवार भएर अगाडि बढ्नु पर्नेछ । हाम्रो टिममा विभिन्न प्रतिभावान ब्यक्तित्व हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभर जनताले के चाहेको छ भनेर हाम्रो रिसर्च सुरु भइसकेको छ । रिसर्चबाट जे निस्किन्छ । त्योअनुसार हामी अगाडि बढ्छौ ।

निर्वाचन अगाडि यति सजिलै सांसद हुन्छु भन्ने पक्कै पनि लागेको थिएन होला, है ?

सांसद हुन्छु भनेरै म स्वतन्त्र पार्टीमा लागेको हो । पार्टीमा पहिले नलाग्दा मतलव भएन, लागेपछि सतप्रतिसत हुन्छु भन्ने थियो । किनभने जनताले यसरी स्वतन्त्रलाई मत दिन्छन् भनेर मैले पहिल्यै अनुमान गरेको थिएँ ।

म आफै विज्ञापन क्षेत्रमा काम गर्ने मानिस हो । हामीले पार्टीभित्र हाम्रो क्याम्पेनिङ कहाँसम्म पुग्छ भन्ने अनुमान गरेका थियौ ।

मतगणनाको समय आफ्नो पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका ब्यक्तिको मतलहर देख्दा त आफू सांसद हुनेमा अझै ढुक्क हुनुभयो होला, हैन ?

हो, स्योर भए जस्तो लाग्यो । बन्द सूचीको ४ नम्बरमा म भएकोले सांसद बन्दिन, हँुदिन भन्ने सोच समेत आएन । त्यसपछि अब कसरी अगाडि बढ्ने, कहाँबाट के गर्ने भनेर होमवर्कमा लागे । हामीले पहिले क्यापेनिङ गर्दा समानुपातिकमा १५ र प्रत्यक्षमा कम्तिमा ५ सिट आउँछ भन्ने अनुमान गरेका थियौ । त्यो अनुसार प्रत्यक्षमा बढी आयो । समानुपातिकमा घट्यो ।

पहिलो पटक संसद भवन छिर्दै गर्दा कामको योजना के बनाउनु भएको छ ?

अहिले हाम्रो पार्टीको बैठक बसिरहेको छ । सबै प्रत्यक्ष र समानुपातिक उम्मेदवार एक ठाउँमा बसेर परिचयात्मक कार्यक्रम गरिसकेका छौै । हप्ता, दश दिनको अन्तरमा बैठक नियमित बस्ने हाम्रो योजना छ । चुनावी घोषणा पत्रमा हाम्रो धेरै एजेन्डा छन् । ती एक एक गरेर पुरा गर्न लाग्छौ । कहाँबाट सुरु गर्ने भन्ने कुरो मात्र बाँकी हो ।

५ वर्षका लागि सांसद त हुनुभयो । तपाईंको पार्टी टिक्छ, टिक्दैन भन्ने अवस्था छैन । साथीहरु पनि एक अर्काेसँग क्लोज छैनन् । यो अवस्थामा अगाडि बढ्न सहज होला ?

हामीलाई सहजै छ । किनभने हामी अगाडिका पार्टी र नेताहरु सबै देखिसकेका छौ, गर्न नहुने सबै अगाडिका नेताहरुले गरिसक्नुभयो । हामीले गर्नुपर्ने बाँकी काम गर्ने हो । यो गर्दा पार्टी फुट्छ, त्यो गर्दा यस्तो हुन्छ भनेर हामीले अग्रजबाट सिकिसकेका छौ । त्यसकारण पनि राम्रोसँग अगाडि बढ्न नियमित वर्कसप गर्ने, काममा लाग्ने कसरत गरिरहेका छौ ।

सांसद भएपछि सरकारमा जाने, मन्त्री बन्ने कुरो पनि आउँछ । मन्त्री हुने इच्छा छ कि छैन ?

हाम्रो विषयमा जनताको सर्वेक्षण गर्ने हो भने आधाले प्रतिपक्षमा बसे हुन्छ भन्छन् । आधाले निर्वाचनमा जितेको सरकारमा जान हो भनेका छन् । मन्त्री भएर पनि काम गरेर देखाउनुपर्छ, यो अवसर हो भन्छन् ।

भोलिका दिन हाम्रो पार्टी सरकारमा गएर काम गर्न सकेन भने फेलियर हुने हो । जे पाउँछ, त्यसबाट काम गरेर देखायो भने राम्रो सन्देश जान्छ । अहिलेसम्म हामी सरकारमा जाने नजाने भन्ने कुरो छैन । त्यो हाम्रो पार्टीको केन्द्रीय कमिटिले निर्णय गर्छ ।

अहिलेको हाम्रो कुरो के भने हामीले जनतासँग गरेका बाचा काँग्रेस, एमाले वा अन्य पार्टी जसले उठाउँछ त्यो सँग मिलेर अगाडि बढ्न पनि सक्छौँ ।

जहाँसम्म मन्त्रीको कुरा छ, पार्टीले तँ यो मन्त्रीको जिम्मेवारी निर्वाह गर भनेर अगाडि सार्छ भने त्यो अवस्थामा म मन्त्री बन्न तयार छु । राजनीतिमा लागेर अहिलेको अवस्थासम्म आएपछि पछि हट्ने कुरो आउँदैन । जिम्मेवारी मिल्यो भने पहिलेका ब्यक्तिले भन्दा राम्रोसँग निर्वाह गर्न सक्छु ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य पार्टीले भाउ नदिएको अवस्था त हेक्का राख्नु भएको छ नि ?

राष्ट्रिय स्वतन्त्र पार्टी पुराना पार्टीका लागि थ्रेट हो । हामीले यो पार्टीको तरिका भएन, यो पार्टीका यसले भ्रष्टाचार गर्यो । यसरी देश अगाडि बढ्दैन जस्ता कमीकमजोरी औंल्याउदै आएका छौ । त्यसकारण हामीलाई सौतेनी ब्यवहार उहाँहरुले गर्नु स्वभाविक हो । हामी उहाँहरुको विकल्प हौ । विकल्पलाई कसले प्राथमिकतामा राख्छ र ?

फिल्मकर्मीले आफ्नो आवाज सदनमा पुगेन भनिरहेको अवस्थामा तपाईंको उपस्थितिले आफ्नो क्षेत्रको प्रतिनिधित्व महसुस गर्न पाउलान् त ?

चलचित्र क्षेत्रका जतिपनि कुरा छन् । ती आवाज अब म मार्फत् सदनमा पुग्छ । त्यो कुरोमा सबै ढुक्क हुँदा हुन्छ ।

फिल्म क्षेत्रको कस्तो आवाज ?

फिल्म क्षेत्रका अग्रज, सहकर्मीदेखि सबैसँग बसेर संविधानदेखि कहाँ, के आवाज उठाउनुपर्ने कुराहरु छन् । ती विषयमा निरन्तर छलफल गरेर उहाँहरुले दिएको मुद्दा सदनमा उठाउन पछि हट्दिन । फिल्म, विज्ञापन क्षेत्रको होस् वा अन्य क्षेत्रको म सबै काममा लाग्छु ।

फिल्मकर्मी र अन्यबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?

फिल्मकर्मीलगायत सबैले तिमी आँट गर, पछिबाट हामी छौ भनेर भरोसा दिएर म सांसद हुन सफल भएको हो । त्यसैले गर्दा फिल्मकर्मीको साथ र सहयोगको पहिले भन्दा झन् धेरै अपेक्षा गरेको छु । उहाँहरुसँग निरन्तर सम्वादमा रहेर हाम्रो यो कुरो सदनमा उठाउनु भनेर प्राथमिकता भन्दा सहज होला । विज्ञापन क्षेत्र, फिल्म क्षेत्र, कलाकर्मीका समस्यालगायत काठमाडांैका कुरा समेत मैले उठाउनु पर्नेछ ।

विज्ञापन, फिल्म निर्देशन लगायतको जुन कर्म गर्दै आउनु भएको थियो, त्यो जारी रहन्छ वा ब्रेक लाग्छ ?

यो विषयमा मैले अहिले निर्णय गर्न सकेको छैन । किनभने मेरो अवको समय सदनमा कसरी बित्छ, त्यो हेर्न बाँकी छ । ६ महिना त मैले अन्य कुरोमा ध्यान दिन भ्याउन्न होला ।

अर्काे कुरो म एउटा जिम्मेवार भूमिकामा भएकोले अव मैले बनाउने फिल्मले समाजमा सन्देश नदिएर मनोरञ्जन मात्र दिने खालको बनाउन भएन । एउटा सांसदले बनाएको फिल्म पब्लिकले पोजेटिभ लिन्छ वा लिदैन ? त्यो कुरो समेत अहिले मैले विचार गर्नुपर्ने हुन्छ ।

हिजोको दिन मैले मनोरञ्जन दिन बनाएको हो भन्दा मिल्थ्यो । अहिले सांसद जस्तो ब्यक्तिले यस्तो फिल्म बनाउने ? भनेर प्रश्न उठ्न सक्छ । त्यसकारण फिल्मकर्ममा म अगाडि बढ्छु, बढ्दिन भनिहाल्ने अवस्था छैन ।

‘२ रुपैयाँ’ पछि घोषणा भएको ‘डामाडोल’ फिल्मको हाल के होला त ?

हो, म अहिले ‘डामाडोल’ भन्ने फिल्मको तयारीमा थिएँ । फिल्मको लेखन कार्य भइरहेको छ । यो अन्तिम चरणमा छ । दुई तीन महिनामा यो फ्लोरमा जान्छ । अब त्यसको निर्देशन म गर्नपनि सक्छु, नगर्न पनि सक्छु । अर्काे कुरो चेन ब्रेक गरेर सदन तथा फिल्म दुबैमा सशक्त भूमिकामा देखिने कि भन्नेपनि सोच छ । साथीभाईले पनि यस्तै सल्लाह दिएका छन् । यो बिषयमा कुनै निर्णय भने गरिसकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप