शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मति बिग्रिरहे माओवादी इतिहासको विषय हुनसक्छ’

मङ्गलबार, १२ पुस २०७९, १९ : ५०
मङ्गलबार, १२ पुस २०७९

जब मान्छे कमजोर बन्छ, त्यसबेला मान्छे धामी, झाँक्री, अलौकिक शक्ति, पूजा पाठ र अन्धविश्वासमा लाग्छ । जब मान्छे मजबुत हुन्छ, मान्छेको आत्मविश्वास बढ्छ, त्यतिबेला मान्छे विज्ञानतर्फ अगाडि बढ्छ । पश्चिमाहरुले विज्ञान देख्यो । त्यसकारण हिउँले कठ्याङ्ग्रिएको नर्थपोलको छेउमा रहेका युरोपका देशहरू संसारमा सबैभन्दा धेरै विकसित भए । तर हामी सेमीटेम्प्रेचर भएको (सबैभन्दा राम्रो समसितोष्ण हावापानी भएको) देशमा बस्नेहरु पछाडि प¥यौं । किनभने हामीले विज्ञानलाई बाहक बनाएनौं । हाम्रो घरमा विज्ञान छैन । समाजमा विज्ञान छैन । विद्यालयमा विज्ञान छैन ।

अब विज्ञानलाई प्राथमिकता दिनुपर्छ । यहाँ जो मन्त्री बन्दै हुनुहुन्छ, उहाँहरूलाई हामी भिन्न कार्यक्रम दिन चाहन्छौं । प्रदेश पार्टीको तर्फबाट न्यूनतम साझा कार्यक्रम अगाडि ल्याउँछौं । त्यो न्यूनतम कार्यक्रम अनुसार प्रदेशलाई अगाडि बढाउनका लागि गठबन्धनका दलहरुलाई पनि कन्भिन्स गर्ने कोसिस गर्छौं । हामी माओवादीले भुल सुधार्ने एउटा मौका पाएका छौं । अब सत्ता पाइयो, जितेर आइयो भन्ने खालको अहंकार कसैमा देखिनु भएन । जहिल्यै पनि अहंकारले विनाश गर्छ । भर्खरै कांग्रेसले अहंकार देखाएको कारण के भयो ? मैले पत्रिकामा पढिरहेको थिएँ, प्रधानमन्त्रीको घर मर्मत हुँदैछ रे । हिजोसम्म उहाँ बालुवाटार छोड्नुपर्छ भन्ने ठाउँमै हुनुहुन्नथ्यो । आज के भयो ? त्यसकारण अहंकार कहिल्यै पनि राम्रो कुरा होइन । राजनीतिज्ञ त झनै विनम्र हुनुपर्छ । जति माथि गयो त्यति विनम्र हुनुपर्छ ।

दुनियाँमा धेरै कम्युनिस्ट नेता जन्मिए । तर, होचि मिन्ह, पुष्पलाल जहिल्यै पनि अमर छन् । कसले कुन गतिलो कोट लगायो, कसले कति सम्पत्ति कमायो, कसले गाडी कुदायो भन्ने कुराको कुनै हिसाब हुँदैन । यो छोरा नातिको पालामा पनि हुँदैन । हाम्रा बाजे धनी थिए होलान्, अहिले हामीसँग केही छैन । त्यसकारण मुख्य कुरा भनेको राजनीतिमा भएका मानिसले जब राम्रो अवसर पाइन्छ, त्यसलाई सदुपयोग गर्नुपर्छ ।उपविजेता भएका साथीहरूलाई म के भन्छु भने तपाईहरुले ५ हजार भोट ल्याउनु भएको छ भने त्यसलाई मल्टिप्लाइ गर्नुहोस् । ५ हजार भोट दिने मान्छेलाई नछोड्नुहोस् । जितेका साथीहरूले पनि जितिहालियो भनेर दङ्ग नपर्नुहोस् । त्यसो भएकाले सबै साथीहरूलाई फेरि मजदुर, किसानप्रति प्रतिबद्ध हुन, राजनीतिमा प्यासेन्स पनि लिन आग्रह गर्दछु ।

कहिलेकाहीँ एकदम कठिन बेलामा झट्का दिएर निर्णय गर्नुपर्छ । तर, अरू बेलामा धैर्यवान भएर बस्नुपर्छ । अहिले हामीले जित्यौं, हाम्रो गठबन्धन अर्कोसँग बन्यो भन्दैमा कसैलाई हेला गर्ने, कांग्रेसलाई होच्याउने गर्न हुँदैन । किनभने यो राजनीति हो, यहाँ कुन बेला कुन कुरा चक्राउँछ थाहा हुँदैन । त्यसो भएकाले विनम्र भएर काम गर्नुपर्छ । हिजो हामीले कांग्रेससँग गठबन्धन गरेका थियौं । अन्तिम बेलासम्म पनि गठबन्धन जोगाउन कोसिस ग¥यौं । हाम्रो अध्यक्ष प्रचण्डले बालुवाटारबाट बिदाइ गरेर हिँड्नु भयो । भात खाएको बेला पनि बालुवाटारबाट फोन आउँछ भनेर अध्यक्षले आशा गर्नुभयो । तर, फोन आएन । फोन नआएपछि गठबन्धन अर्कोतिर मोडियो । राजनीति भनेको एउटा सम्भावना बन्द हुनासाथ अर्को सम्भावनाको ढोका खोलिहाल्नुपर्छ । जसले त्यसो गर्न सक्दैन, त्यो ढल्यो । त्यसैले हाम्रो पार्टीले ठीक भूमिका खेलेको छ । जब एउटा सम्भावनामा चुकुल लाग्यो, हामीले अर्को सम्भावनाको ढोका खोल्यौं ।

यहाँ पनि हामीलाई खतरा छ । यहाँ पनि समस्या छ । यहाँ नयाँ चुनौती छन् । एमालेजस्तो १ नम्बर प्रदेशको असाध्यै संगठित र पहिलो पार्टीसँग सहकार्य गरेर जाँदैछौं । यो सहकार्यमा हामीले हाम्रो श्रेष्ठता कसरी हासिल गर्ने ? संख्यामा र नम्बर गेममा ऊ ठूलो छ । तर, हामीले मन्त्रीमण्डलमा जति सिट पाए पनि ‘हाइहाइ’ हुने गरी काम गर्नुपर्छ । मन्त्री हुँ यो प्रदेशको भन्ने बनाउनु पर्छ ।

म पनि एक पटक मन्त्री भएको थिएँ । एकदमै हाइहाइ त मेरो भएन । तर, नाइनाइ भन्ने पनि भएन । मलाई त मन्त्री खुस्केको दिन के लागेको थियो भने वन झाँक्रीले लगेको मान्छे, मलाई समाजमा ल्याएर छोडिदियो । भनाइ छ वनझाँक्रीले लगेको मान्छे हत्तपत्त फर्किँदैन । झँक्रिनीले भेट्यो कि सिध्याइदिन्छ । मन्त्री भएपछि झँक्रिनीहरुले घेर्छन् । हरेक मन्त्रालयमा झँक्रिनीहरु आइपुगिहाल्छे । त्यो झँक्रिनीको खेलमा प¥यो भने मान्छे फर्केर आउँदैन । झँक्रिनी भनेको ठूलाठूलो कर्पोरेट हाउसका दलालहरु हुन् । तपाईजस्तो मान्छे भनेर एकैछिनमा उकासेर, प्रशंसा गरेर डुबाउँछन् । माओवादीलाई ०६४ पछि त्यही गरेर फसाएका हुन् । हजुरजस्तो मान्छे यस्तो.. यस्तो शोफा कहाँ हुन्छ.. यस्तो किचन कहाँ हुन्छ.. हजुरको ड्रिङ्क्स यस्तो हुनुपर्छ, यस्तो उस्तो भन्ने आउँछन् । त्यो नबिर्सनु । आफ्नो काम गर्नु । जनताको घर आँगनमा बसेको, गोठमा, टाट्नामा सुतेको नबिर्सनु । त्यो बिर्सिएर अरुले भनेजस्तो पहिरनमा, लुवाइखुवाइमा लागियो भने झँक्रिनीले लग्यो भने हुन्छ । समाजमा आएर काम गर्न सक्ने अवस्था रहँदैन । त्यसो भएकोले त्यही ढंगले काम गर्नुपर्छ ।

अब मन्त्री हुने, सभामुख हुने लगायतका विभिन्न सम्भावनाको ढोका खुलेका छन् । अहिले त्यही ढोका ढक्ढक्याउन धेरै साथीहरू काठमाडौं गइसकेका छन् । अब प्रदेश १ मा पनि ढोका खुल्दैछ । प्रदेश सरकार एक हप्ताभित्र बन्छ । त्यो बेला सम्भावनाको ढोकामा को छिराउने, को नछिराउने भन्ने विषय विचार गर्नुहोला । हाम्रो वर्ग, हाम्रा साथीहरुले बाहिर जनतामा पनि राम्रो काम गरेर देखाउनु पर्नेछ । दुःख पाएका साथीहरूलाई पनि हेर्नु पर्नेछ । तमाम विषयहरू ध्यान दिएर काम गर्नुहोला । माओवादीले फेरि एक पटक अवसर पाएको छ । माओवादीले यतिबेला जनताको मन जित्न सक्यौं भने हामी दुई तीन वर्षपछि फेरि ०६४ को जस्तै देशको शक्तिशाली पार्टी हुनेछ । हामीले जनतालाई रिझाउन सकेनौं, हाम्रो मति बिग्रेको बिग्रेकै भयो, जनताबाट हामी कट्दै गयौं भने माओवादी इतिहासको विषय हुनसक्छ । पछि हाम्रो छोरा नातिले पढ्लान्, एक समयमा माओवादीले आन्दोलन गरेको थियो । त्यसो हुनाले हामी इतिहासको विषय नबनौं । हामी वर्तमान र भविष्य बनाउने काममा सबैजना एकजुट भएर लागौं । तपाईहरुलाई अग्रिम शुभकामना ।

पार्टीको तर्फबाट हामी तपाईहरुलाई निगरानी गरिरहेका हुन्छौं । तपाईलाई सहयोग गर्नुपर्ने ठाउँमा पार्टीले सहयोग गर्छ । जहाँनेर सचेत गराउनु पर्नेछ, त्यो ठाउँमा सचेत गराइराख्छौं । तपाईहरुको आफ्नो व्यक्तिगत करियर र पार्टीको जीवन पनि सफल रहोस् र हाम्रो पार्टी फेरि मजदुरको पार्टी, किसानको पार्टी, दीनदुःखीहरुको पार्टी, सत्यमा हिंड्नेहरुको पार्टी, प्रगतिशीलहरुको पार्टी, विज्ञान र सचेत नागरिकको पार्टीको रुपमा यसलाई फेर्ने कोसिस गरौं ।

(प्रदेश १ बाट विजयी भएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई संक्षिप्त प्रशिक्षण दिनेक्रममा राम कार्कीले राखेका धारणाको सम्पादित अंश ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम कार्की
राम कार्की

राम कार्की पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।

लेखकबाट थप