बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दूधको बढ्दो माग, न्यून उत्पादन

बुधबार, १३ पुस २०७९, ०८ : ४२
बुधबार, १३ पुस २०७९

जुम्लामा ५० प्रतिशतले दूध उत्पादनमा कमी आएको छ। चिसोले गर्दा ह्वात्तै दूध उत्पादन कम भएको किसानहरुले बताउने गरेका छन्। 

हरेक वर्षको मंसिर देखि फागुनको अन्तिमसम्म गाई, भैंसी पालक किसानले दुधबाट नोक्सानी व्यहोर्नुपरेको छ। दिनप्रतिदिन चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएको किसानहरुको गुनासो छ।अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जुम्लाका पशुपालक किसानलाई चिन्ता छ।

न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ, जुम्लाको गुठिचौर गाउँपालिका-४ दशौदीकी किसान मायादेवी पाण्डे भन्छिन् -'यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न।'

आफ्ना गोठका दुईवटा भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले पराल र पुरानो जौँ गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको जनाइन्।  उनले भनिन् -'असोज र कार्तिक महिनामा दैनिकी ८ लिटर सम्म दूध हुन्थ्यो, अहिले ४ लिटर सम्म पुग्न पनि धौधौ हुन्छ, मंसिर महिना बाट चिसोले दुध ह्वात्तै घटेको छ,भैँसी, गाई पनि झुरिदै गएका छन्। '

सबै खानेकुरा सुख्खा हुने भएकोले दूध घटेको किसानहरू बताउँछन्।

मायादेवी पाण्डेले अहिले मासिक १० हजार ८ सय सम्म कमाइ हुने बताइन्। कात्तिक र असोजमा करिब साढे २१ हजार सम्म पुग्ने उनको भनाइ छ। घर खर्च लत्ताकपडा छोराछोरीको पढाइ दूध बेचेर चलाउँछिन् ।उनी सधैंभरि दुई घण्टाको बाटो हिडेर जुम्ला बजारमा दूध बेच्न आउँछिन् । सदरमुकामको हस्तना डेरीमा दूध पुर्याउँछिन् । प्रति लिटरको ९० रुपैयाँमा दिने गरेको बताइन्। 

चिसोले सबैभन्दा बढी बजारमा दूध माग हुने गरेको बताउँछन् सदरमुकाममा चिया पसल गर्दै आएका भीम बहादुर भण्डारी । 'बजारको गल्ली गल्तीमा दूध चिया खानेहरु आउँछन् दूध पुग्दैन,चिसोले गर्दा दुधको चिया खानेको भिडभाड हुने गरेको छ' उनी भन्छन् ।

दूध तथा दुग्धजन्य पदार्थ भर्खर जन्मेको बालकदेखि वृद्धसम्मलाई अति आवश्यक पर्ने पेय पदार्थ हो । जुम्ला ५ डेरी संचालनमा छन्। तर बिहान ६ बजेदेखि लाइनमा बसे पनि दूध पाइँदैन । अहिले जुम्ला बजारमा १ सय रुपिया लिटर दूध डेरीमा पाइन्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप