शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डमा भुवन केसीका ६ महिना : ७ विवाद, खै उपलब्धि ?

‘त्यसै बसेको छैन, काम धेरै भएको छ’ : भुवन केसी
बिहीबार, १४ पुस २०७९, १५ : १७
बिहीबार, १४ पुस २०७९

फिल्म क्षेत्रमा सदाबहार अभिनेताको रुपमा परिचित सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको ६ महिना पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा साउन ९ गतेको मन्त्रिपरिषदको बैठकले उनलाई दुई वर्षका लागि नियुक्त गरेको थियो ।

केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा गरिएको छ । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि सहिद हुन समेत आफू तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, नियुक्तिको ६ महिना बित्दासम्म केसीको कार्यकाल उपलब्धिमुलक हुने संकेत देखिएको छैन । यो ६ महिना उनले विदेश भ्रमण, सार्वजनिक कार्यक्रम, भेटघाटमा बढी खर्चिएको उनी निकट रहेकाहरू बताउँछन् ।

६ महिनामा ७ विवाद

फिल्म अभिनय, निर्माण र निर्देशनमा भुवन जति सफल छन् । उनका विवादका किस्सा समेत अनेक छन् । चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त भएपछि पनि उनी विवादमुक्त रहन सकेनन् । यस्ता छन् केसीका ७ विवाद ।

विवाद १ 

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुने बित्तिकै केसीको नियुक्तिको बिषय विवादमा पर्यो । उनीसँगै बोर्ड अध्यक्षको दौडमा रहेका नरेशकुमार पौड्यालसहित ५ जनाले उनको योग्यताको कुरो उठाउँदै नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिटसमेत दिए ।

रिटमा विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज गर्न नदिन अल्पकालीन अन्तरिम आदेश दिन माग गरिएको थियो । त्यो रिटमा पछिल्लो समय न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दिएको छ । तर मुद्दाको पूर्ण सुनुवाइ भने हुन बाँकी छ ।

विवाद २ 

केसीले बोर्ड प्रवेश गर्ने बितिक्कै ५ सदस्य सल्लाहकार समिति बनाए । त्यो समितिमा उनले पुरै पुरुष सल्लाहकार राखेका थिए । सल्लाकार समितिमा महिला नरहेको बिषयमा उनको निकै आलोचना भयो । त्यसपछि उनले एक महिला थप्दै ६ सदस्य सल्लाहकार समिति बनाए । हालै उक्त समिति बढाएर ८ सदस्यीय बनाएका छन् ।

विवाद ३ 

केसी बोर्ड अध्यक्ष नियुक्त भएपछि फिल्म ‘प्रकाश’ को शो विवादमा पनि मुछिए ।  प्रदीप खड्का अभिनित फिल्म असफल बनाउन उनले हलमा शो कम दिन र उपयुक्त शो नदिन दवाव दिएको आरोप फिल्म युनिटले लगाएको थियो ।

अभिनेता प्रदीप भुवनका छोरा अनमोल केसीका प्रतिस्पर्धी अभिनेता हुन् । उनको फिल्म असफल भए, छोरालाई फाइदा पुग्ने भन्दै फिल्म असफल बनाउन लागेको दाबी फिल्म युनिटको थियो ।

विवाद ४ 

फिल्म ‘प्रेम गीत ३’ का कारण पनि केसी विवादमा रहे । ‘प्रेम गीत–३’ को हिन्दी डब प्रदर्शनमा बोर्डले रोक लगाएको देखि शोमा समेत कन्ट्रोल गराएको उनी बिरुद्ध यस फिल्मका निर्माता, निर्देशक सन्तोष सेनले आरोप लगाएका थिए ।

विवादले चर्काे रुप लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विवादमा हस्तक्षेप गर्दै मिलाएको थियो । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ को हिन्दी डव नेपाली चलचित्र नै भएकोले यसमा हिन्दी भन्ने कुरा नै नभएको बताउँदै विवादको हल निकालेका थिए ।

विवाद ५ 

हालै कतारमा सम्पन्न विश्वकपको समय पनि केसी विवादमा तानिए । पहिले हलमा विश्वकप देखाउन अनुमति दिएर पछि देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी विवादमा परे ।

विश्वकप हलमा देखाउन बोर्डले बक्सअफिस कोडसमेत उपलब्ध गराएको थियो । उक्त कोड कर्मचारीको लापरवाही भन्दै रोक लगाइएको थियो, जसको विरोध चलचित्र प्रदर्शकले खुलेरै गरेका थिए ।

विवाद ६ 

केही दिन अगाडि पनि केसी फिल्म रिलिजका लागि ७ दिन अगाडि सेन्सर गरिसक्नुपर्ने नियम लगाएर विवादित भए । उनको यो नियमको हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघले राष्ट्रिय भेला गर्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेको थियो ।

विरोध चर्किदै जाँदा केसीले बोर्ड बैठकबाट ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियम संशोधन गर्दै ४ दिन बनाएपछि चलचित्र संघले विरोधका कार्यक्रम फिर्ता लियो । ७ दिन अगाडि सेन्सर नियमको चलचित्र संघ बाहेकका चलचित्र क्षेत्रका अन्य संघसंस्थाले समर्थन गरेपछि भुवन पछि हटेका थिए ।

विवाद ७ 

चलचित्र विकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री पूजा शर्माको नियुक्ति विषयमा केसी विवादमा परेका छन् ।

बलात्कार आरोपित पल शाहको पक्षमा पटक पटक उभिएर पीडित नाबालिगलाई थप पीडामय अभिब्यक्ति दिने शर्मालाई महिला चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा नियुक्त गरेको भन्दै अहिले आलोचना भइरहको छ ।

देखिने काम शून्य

अभिनय, निर्माण र निर्देशनमार्फत् आफ्नो पुरै जीवन फिल्म क्षेत्रमा विताएका ब्यक्ति हुन् केसी । तर उनले बोर्डमा आफ्नो नेतृत्व सबैलाई अविभावकत्व महसुस गराउन नसकेको गुनासाहरु आउन थालेका छन् । कतिपयले ६ महिनामा भुवनले तलबभत्ता खाने कामबाहेक कुनै उदाहरणीय काम गर्न नसकेको आरोप लगाएका छन् ।

चलचित्र निर्माता तथा निर्देशक नरेश पौडेल पनि केसीले ६ महिनामा केही उपलब्धिमुलक काम गर्न नसकेको जिकिर गर्छन् । ‘सरसर्ती हेर्दा केसी आएपछि हामी चलचित्रकर्मीलाई प्रत्यक्ष फाइदा पुग्ने विकास बोर्डमार्फत् उपलब्धि मूलतः कुनै काम हुन सके जस्तो मलाई लागेको छैन, पौडेलले भने, ‘धेरै बिषयमा विवाद हुँदा बोर्ड नेतृत्वको अक्षमता देखिएको मैले भान गरेको छु । निर्णय गर्ने र पछि हट्ने प्रवृत्तिले पनि त्यो देखाएको छ ।’

पौडेलको कुरामा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का पनि सहमति जनाउँछन् । ‘हामीले उनले गरेको राम्रो काम देख्न पाएका छैनौं । भित्री नीति नियममा केही त्यस्तो काम भएको भए थाहा भएन, खड्काले भने ।

खड्का र पौडेलको कुरा दोहोर्याउँछन् चलचित्र संघका महासचिव नरेन्द्र महर्जन पनि । ‘बोर्ड अध्यक्षमा आउनु अगाडि उहाँ चलचित्रकर्मी सबैको हितका बिषयमा कुरा गर्नुहुन्थ्यो । कोरोनामा चलचित्र क्षेत्र चलाउन लागि पर्नु भएको थियो, महर्जनले भने, ‘तर उहाँले विकास बोर्ड सरकार होइन, सहजकर्ता हो भन्ने बुझ्नु भएन । उहाँले कानुन नहेरेर भटाभट निर्णय गर्दा फिल्मकर्मी पीडित भए ।’

‘निर्माणमा पनि सन्तोष सेनको फिल्म आउँदा लफडा भयोप्रदर्शनमा पनि लफडा छ’ महर्जनले अगाडि थपे, ‘खै किन सहजीकरण गर्न सक्नु भएन । अहिलेसम्म बाहिर आएको कामले उहाँले फिल्मकर्मीको हितका लागि काम गरेको केही देखिएन । आन्तरिक गरेको भए बिस्तारै बाहिर आउलान् ।’

काम बाहिर नदेखिएको मात्र होः भुवन

म विकास बोर्डमा आएको करिब ६ महिना भएछ । यो बीचमा विकास बोर्डबाट थुप्रै काम भएको छ । म जत्तिको मानिस विकास बोर्डमा आउँदा धेरै काम हुनुपर्छ भन्ने चलत्रिकर्मीको सोचलाई म अन्यथा मान्दिनँ । नियुक्त भएदेखि अहिलेसम्म बोर्डमा आएर म त्यत्तिकै बसेको छैन । म निरन्तर काममा लागिरहेको छु ।

बोर्डका आफ्नै नियम कानुन, क्षेत्राधिकार छ । धेरै कुरो चाहेर पनि गर्न नसकिने अवस्था छ ।  केही गर्नुपर्यो भने मन्त्रालय लगेर विभिन्न निर्णय गराउनुपर्ने हुन्छ । चलचित्रकर्मीले बोर्डबाट अपेक्षा गरेका धेरै कुरो मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, बोर्ड स्वायत्तादेखि धेरै विषय छन् ।

मैले यो ६ महिना बाहिर देखिने काम भन्दा पनि भित्री काम गरेको छु । चलचित्रकर्मीको विभिन्न समस्याको बिषयमा दीर्घकालीन योजनाहरु बनाएर मन्त्रालय पठाउने तयारीमा छु । हामीले धेरै काम प्रक्रियाबद्ध रुपमा अगाडि बढाएका छौँ ।

दोलखा, काभ्रे, सुर्खेत लगायत स्थानमा स्टुडियो निर्माण सुरु तयारी गरिसकेका छौ । बोर्ड आफै स्वायत्त नहुँदा कुनै पनि कामको लागि लामो प्रक्रिया पुरा गर्नुपर्ने रहेछ । त्यसैले, समय लाग्छ । पहिले हामीले योजना बनाउनुपर्यो । त्यो बोर्डमा पास गर्नुपर्यो, त्यसपछि मन्त्रालय पठाउनु पर्यो । मन्त्रालयले पनि समय लगाउँछ । यसरी अनेक प्रक्रियामा समय बित्दो रहेछ ।

नेपाली फिल्मलाई विदेशमा कसरी लैजाने, स्टुडियो निर्माणको सुरुवात, नेपाली फिल्मलाई हलमा कसरी व्यवस्थित गर्ने, निर्माता र हलको दूरी कसरी घटाउने, निर्माताको लगानी कसरी सुरक्षित गर्ने, हल व्यवस्थापनका विषयलगायत धेरैमा काम गरेका छौँ ।

विदेशी भन्दा बढी हल नेपाली फिल्मलाई कसरी उपलब्ध गराउने, हलवालाले कसरी नाफा लिने लगायतका विषयमा पनि काम गरेका छौँ । सबै हलमा बक्स अफिस लगाउने र लागेको बक्स अफिस कमजोर भएको गुनासोलाई सम्बोधन गर्दै रियलटायम बक्स अफिसमा परिवर्तन प्रक्रियामा पनि थालेका छौँ ।

विगत १५ वर्षदेखि हलबाट आउन रोकिएका राजस्व संकलनमा व्यवस्था मिलाएका छौँ । हलको मापदण्डको निर्धारण गरेका छौ । कलाकारको दुर्घटना, सुरक्षित बुढ्यौली जीवन, स्वास्थ्य बीमा, पेन्सन लगायतका विषयमा काम गरेका छौँ । कलाकारको मृत्युमा राजकीय सम्मानको अलावा अन्त्येष्टि र किरिया खर्च समेतको ब्यवस्था गरिरहेका छौँ । बाहिरी रुपमा देखिने काम नभएपनि भित्री काम धेरै भएको छ । अव बिस्तारै सबै काम देखिनेछ ।

हो, विवादको कुरा पनि छ । त्यो विवाद मैले निम्त्याएको होइन । विकास बोर्डको नियम कानुन जे छ, त्यो पालना गराएका हौ । पहिले कानुन मिचेर काम गरिरहेकालाई हामीले नियम पालना गर्न लगाउँदा अप्ठ्यारो परेर विवाद ल्याएका हुन् । म नियम कानुन मिचेर अगाडि बढेको छैन । बरु नियम फलो गर्दा कतिपयलाई चित्त नबुझ्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप