शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेलिब्रेटीको जीवन कस्तो हुन्छ, मलाई अनुभव छैन’

नयाँ आउने कलाकारसँग काम गर्दा मज्जा लाग्छः आर्यन सिग्देल
शुक्रबार, १५ पुस २०७९, १२ : ०९
शुक्रबार, १५ पुस २०७९

एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । ‘कसले चोर्यो यो मन’ देखि ‘क्लासिक’ सम्म प्रेमकथामा निर्माण भएका उनका धेरै फिल्म सफल छन् । प्रेमकथामा आधारित फिल्ममा राम्रो जम्दा जम्दै उनले धुवाँ, नाइके जस्तो एक्सन फिल्ममा फड्को मारे । तर उनलाई एक्सन फिल्मले फ्लप हिरोको ट्याग दियो । अहिले उनी फ्लप हिरोको ट्याग ‘‘डिसेम्बर फल्स’ फिल्ममार्फत् मेटाउने कसरतमा छन् ।

डिसेम्बर फल्स’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा उनका जोडी अभिनेत्री उपासना सिंह ठकुरी छन् । प्रस्तुत छ, करिब ४ वर्षपछि फिल्मको पर्दामा देखिन लागेका आर्यनसँग समसामयिक विषयमा केन्द्रीत रही रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

लामो समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत् पुनः थियटरमा छाउँदै हुनुहुन्छ । कस्तो महसुस भइरहेको छ ?

लामो समय त नभनौ, करिब ४ वर्षपछि ‘डिसेम्बर फल्स’ मार्फत् देखिन लागेको हो । केही समयको  अन्तरालमा थियटरमा आउँदा रमाइलो महसुस हुँदो रहेछ । एक किसिमको उत्साह पनि जागेको छ । अनौठो फिल महसुस भएको छ । मेरो फिल्मको पर्खाइमा दर्शक छन् ।

फिल्म नभएपनि मिडियामा छाउन सकिन्थ्यो । मिडियाबाटै हराउनु भयो त ?

हातमा फिल्म नहुँदा मलाई मिडियामा छाउन मनपर्दैन । बिना कारण स्क्यान्डलमा छाउन हुँदैन जस्तो लाग्छ ।

केही समयको ग्यापपछि फिल्म आउँदा के प्रेसर पनि फिल हुँदो रहेछ ?

धेरै प्रेसर फिल हुँदो रहेछ नि । ४ वर्षपछि आउँदा दर्शकमा राम्रो फिल्म दिन सक्छु कि सक्दिन भन्ने लाग्दो रहेछ । फिल्म अफर गर्दा पनि निर्माताले यस्तो फिल्म छ । गर्ने कि नगर्ने भनेर सोध्नु भएको थियो । मैले हेरे, राम्रो लाग्यो र साइन गरेँ । दर्शकको सोचअनुसार लभ, एक्सन, रोमान्सलगायत सबैले भरिपूर्ण फिल्म छ । दर्शकको त्यो अपेक्षा ‘डिसेम्बर फल्स’ ले पुरा गर्छ ।

‘डिसेम्बर फल्स’मा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

होश सम्हालेदेखि हनुमानको भक्त भएर प्रेम र सम्बन्धबाट टाढा रहन चाहने एक ब्यक्तिको भूमिकामा देखिएको छु । त्यही व्यक्तिको जीवन र प्रेम फिल्मको कथा हो ।

प्रचारका लागि सार्वजनिक गरेको टिजर र गीतबाट दर्शकको प्रतिक्रिया कस्तो पाइएको छ ?

फिल्मप्रति दर्शकले सकारात्मक सोच्नु भएको छ । मिडिया अन्तर्वार्तालगायत बाहिर हिँड्दा पनि तपाईंको यो फिल्म राम्रो होला जस्तो छ । ट्रेलर, गीत हेर्दा मज्जा लाग्यो भनेर प्रतिक्रिया दिनु भएको छ । टिजर गीतको चर्चाले पनि फिल्म राम्रो हुन्छ जस्तो लाग्छ । तर के हुन्छ भनेर अहिले भन्ने अवस्था छैन । राम्रो हुने आस गरेको छु ।

यो फिल्ममार्फत् तपाईं पछिल्लो समय भित्रिएका नयाँ पुस्तासँग प्रतिस्पर्धामा त हुनुहुन्छ नि ?

मलाई जहिले पनि नयाँ आउने कलाकारसँग काम गर्दा मज्जा लाग्छ । नयाँ कलाकार नयाँ सोच, नयाँ इनर्जीसहित भित्रिएका हुन्छन् । ‘डिसेम्बर फल्स’ मा पनि मैले समकालीन भन्दा पछिल्लो समयका कलाकारसँग काम गरेको छु । काम गर्दा पनि रमाइलो भयो ।

म अहिले नयाँ पुस्तासँग प्रतिस्पर्धा भनेर कहिल्यै सोच्दिनँ। मलाई जहिले पनि आफ्नो अघिल्लो फिल्म भन्दा यो राम्रो होस्, फिल्मले दर्शकको माया धेरै पाओस् र दाम पनि कमाओस् भन्ने लाग्छ । पहिलेका वा अहिले कहिलै कसैसँग प्रतिस्पर्धा गरिन, गर्न जानिन ।

‘डिसेम्बर फल्स’ फर्मुला फिल्म जस्तो लाग्छ नि, हो ?

कतिपयले फिल्मलाई फर्मुला भनेको छन् । त्यो भनेको राम्रो हो । फर्मुला भनेको फिल्म हिट बनाउने विभिन्न ट्रिटमेन्ट हो । त्यो ट्रिटमेन्ट यसमा पनि छ । जुन दर्शकले रुचाउनेछन् ।

तपाईंका एक्सन फिल्म चलेन, के एक्सन नफापेको हो ?

एक्सन भन्दा पनि दर्शकले मलाई प्रेमकथाका फिल्ममा धेरै मनपराउनु भएको छ । त्यो दर्शक र मैले सबैले महसुस गरेको विषय हो । एक्सन गरेको फिल्म बक्स अफिसमा नराम्रो हुँदा त्यो महसुस हुनु स्वाभाविक हो ।  प्रेमकथाबाट एक्सनमा फड्को मार्नु मेरो चाहना थिएन । धेरैले फरक खालको फिल्म पनि गर्नु, ट्रयाक चेन्ज गर्नु भन्ने खालको गुनासो पनि थियो । त्यो गुनासो सुनें तर त्यसमा असफल भएँ ।

कतिपयले फिल्म छान्न जानेन भन्छन् नि ?

दर्शकको रूचिअनुसार मैले फिल्म छान्न नजानेको पनि हुन सक्छ । अर्काे कुरो यो फिल्म चलोस् कि नचलोस्, गरौँ भनेर निर्माता निर्देशक आउँदा फिल्मको कथा फरक र राम्रो लागेर गरेको छु । ‘डिसेम्बर फल्स’ भने त्यस्तो होइन ।

फिल्म छान्दा पहिले के हेर्नुहुन्छ ?

सबैभन्दा पहिले कथा हेर्छु, त्यसपछि आफ्नो चरित्र । कथा र चरित्रपछि पारिश्रमिकको कुरा आउँछ । म आफ्नो चरित्र कमजोर भएपनि फिल्मको कथा बलियो छ भने अभिनय गर्छु । ‘डिसेम्बर फल्स’मा मेरो भन्दा अभिनेत्रीको क्यारेक्टर एकदमै बलियो छ ।

फिल्म हिट र फ्लपको दोष नायकलाई दिइन्छ, के त्यो सही हो र ?

निर्माताले भन्दा पनि मिडियाले त्यो महसुस गराउँछन् । त्यो जिम्मेवारी आफ्नो टाउकोमा लिँदा एउटा रमाइलो र उत्साह पनि हुन्छ । एउटा कलाकारको टाउकोमा भार पार्दा फिल्म चल्दा त रमाइलो लाग्छ तर नचल्दा नरमाइलो हुन्छ । पहिलेदेखि नै स्टार कलाकारलाई महत्व दिएर फिल्म बनाउने परिपाटीले यस्तो भएको हो । मेरो विचारमा कलाकार चल्ने होइन, फिल्म चल्ने हो ।

तपाईंका फिल्म थियटरमा भन्दा युट्युबमा धेरै हेरिन्छ, किन ?

त्यो मेरो मात्र होइन, सबै कलाकारको हो । यो समस्याको बिषय हो । अहिले पनि दर्शकले सजिलोसँग फिल्म हेर्ने हल छैन । कतिपय दर्शकले फिल्म हेर्नुपर्यो भने टाढा पुग्नुपर्छ भनेर भन्छन् । कतिपयले युवापुस्ता हलमा जाँदैनन् भन्छन् । तर त्यो होइन । जसलाई थियटरमा फिल्म हेर्ने बानी परेको छ, त्यो युट्युवमा रमाउन सक्दैन । हलमा जान्छ ।

एउटा कलाकार सधैँ चित्तबुझ्दो भूमिकाको खोजीमा हुन्छ । तपाईंले अहिलेसम्म चित्तबुझ्दो भूमिका पाउनु भयो कि बाँकी छ ?

म हरेक फिल्ममा चित्तबुझ्दो भूमिका रोज्छु । चित्त नबुझेकोमा काम गर्दिनँ । त्यसैले मैले जति फिल्म गरे । त्यो सबै चित्तबुझ्दो छ । म यस्तो भूमिका गर्छु, यस्तो गर्दिनँ भनेर कहिल्यै सोच राख्दिनँ । एकसे एक च्यालेन्जिङ भूमिका दिएपनि अभिनय गर्न तयार छु ।

फिल्मको व्यवसाय र समीक्षा के महत्वपूर्ण लाग्छ ?

म समीक्षा भन्दा व्यवसाय महत्वपूर्ण ठान्छु । कसैले फिल्ममा लगानी गर्छ भने त्यसले कमाउनुपर्छ । यो मेरो मान्यता हो । मेरा पछिल्ला फिल्मले समीक्षा राम्रो पाएपनि व्यवसाय गरेन । त्यसले निर्माता डुबाएको छ । मेरो विचारमा ब्यवसाय हुनुपर्यो । राम्रो ब्यवसाय भएको फिल्म राम्रो हुन्छ र समीक्षा पनि राम्रो आउँछ ।

फिल्म क्षेत्रमा स्टार, सुपरस्टारलगायत ट्रयाकलाई के भन्नुहुन्छ ?

म त्यस्ता कुनैपनि स्टार र सुपरस्टार ट्यागको विश्वास गर्दिन । म कलाकारितालाई माया गर्छु । कला र काममा विश्वास गर्छु ।

सेलिब्रेटीको जीवन के रहेछ ?

सेलिब्रेटीको जीवन आफूले आफूलाई बाँधेर बाँच्नुपर्ने हुन्छ । मैले आफूलाई कहिल्यै पनि सेलिब्रेटी मानेको छैन । म जहिले पनि खुला आकाशमा खुलेर बाँच्छु । त्यसैले सेलिब्रेटीको जीवन कस्तो हुन्छ मलाई अनुभव छैन ।

तपाईंले फिल्म बनाउने कुरो थियो नि ?

निर्माण प्रक्रियामा थिएँ, कोरोना आयो । त्यो समय लेखक छेतेन गुरुङ समेत बित्नुभयो । त्यसपछि निर्माणमा ब्रेक लाग्यो । फिल्म त बनाउने हो । कहिले र कस्तो अहिले भन्न सक्दिन ।

अन्तमा, केही भन्नु छ कि ?

मैले फिल्मको विषयमा जे बोलेको छु, त्यो सत्य बोलेको छु । फिल्म रिलिज भएपछि त्यो थाहा हुन्छ । ‘डिसेम्बर फल्स’ राम्रो बनेको छ । हामी फिल्म युनिट खुसी छौ । दर्शकलाई पनि खुसी बनाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप