बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वन्यजन्तु आरक्षमा पर्यटकका लागि ‘टुर प्याकेज’

आइतबार, ०९ फागुन २०७२, ०९ : ४९
आइतबार, ०९ फागुन २०७२

कञ्चनपुर - शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याइएको छ ।

‘शुक्लाफाँटा भ्रमण गरौँ, पर्या पर्यटनको अवलोकन गरौँ’ भन्ने नारासहित हरेक शनिबारका लागि प्याकेज सञ्चालन गरिएको हो ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाटा) सुदूरपश्चिम च्याटरका अध्यक्ष मायाप्रकाश भट्टले आरक्ष प्रवेशद्वारमा आयोजित कार्यक्रममा प्याकेजको औपचारिक शुभारम्भ गरे ।

शुक्लाफाँटा आरक्षको प्रवेशद्वार नजिक सञ्चालित शुक्लाफाँटा जङ्गल कटेज र मोहित टुर एण्ड ट्राभल्सले प्याकेजलाई प्रवद्र्धन गरेको छ ।

प्याकेजमा पर्यटकले रु एक हजार २०० मा बिहान ८ देखि ४ बजेसम्म भ्रमण गर्न पाउने छन् ।

“सुदूरपश्चिममा पर्या पर्यटनका धेरै सम्भावना छन्, यस्ता सम्भावना विभिन्न कारणले प्रयोगमा आउन सकेका छैनन्” शुक्लाफाँटा जङ्गल कटेजका सञ्चालक परमानन्द भण्डारीले भने – “आरक्षमा पर्यटक आउन सके यहाँ स्थानीयसहित जिल्लावासी सबैलाई फाइदा हुन्छ ।”

सरकारी तथा गैरसरकारी सबै निकायसँग समन्वय गरी आरक्षसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य पहिचानका लागि प्याकेज बनाइने उनले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले व्यवसायी भण्डारीले व्यक्तिगत रुपमा सञ्चालन गरेको टुर प्याकेज सराहनीय भएको उल्लेख गर्दै आरक्ष प्रवेश शुल्क घटाउने र पर्यटनका लागि सुविधा बढाउने व्यवस्था गर्नुपर्ने बताए ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले पर्यटन प्रवद्र्धनमा आरक्षले सधैँ कार्य गर्दै आएको बताए । गड्डाचौकीस्थित अध्यागमन कार्यालय र आरक्षमा गाइड राख्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप