बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रमसँगै भारत भ्रमणमा रहेका सांसद्हरु भन्छन्, ‘भ्रमणबाट राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि’

आइतबार, ०९ फागुन २०७२, १३ : २०
आइतबार, ०९ फागुन २०७२

नयाँ दिल्ली - प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा सहभागी विभिन्न दलका संसद्ले भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भई राजनीतिक र आर्थिक क्षेत्रमा उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

सांसदहरुले आज रासससँग कुरा गर्दै भारतसँगको मित्रतालाई पुरानै अवस्थामा फर्काएर द्विपक्षीय सम्बन्धमा उचाइ प्रदान गर्ने प्रधानमन्त्री ओलीले भ्रमण गर्नुअघि तय गर्नुभएको लक्ष्यअनुसार नै भारतबाट व्यवहार प्रदर्शित भएको बताए । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का नेता तथा सांसद् जितेन्द्रनारायण देवले तराईमा सडक पूर्वाधार निर्माण र विशाखापतन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्त मार्गको सुविधा पाउने लगायतका समझदारी महत्वपूर्ण रहेको धारणा राखे ।

नेता देवले भने, “प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्धमा उल्लेखनीय उपलब्धि भएको छ । यो एक प्रकारको गुणात्मक फड्को हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक समस्याबारे सबैसँग संवाद र सहमति गर्न दिनुभएको सन्देशलाई पनि मुख्य दलले गम्भीरताका साथ लिनुपर्छ ।”

नेकपा ९एमाले०का सांसद् लालबाबु यादवले प्रधानमन्त्री ओलीको राजकीय भ्रमणबाट आपसी असमझदारी हटेको बताउँदै यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल र भारतबीचको परम्परागत सम्बन्धको निरन्तरतासँगै नयाँ स्थितिमा प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्धमा केही समय अघिदेखि देखिएको गत्यावरोध अन्त्य गराएको विचार व्यक्त गरे ।

नेकपा ९माले०का सांसद इन्द्रसुन्दर नेम्वाङले पनि जारी भ्रमणले तीक्ततापूर्ण सम्बन्धलाई मित्रतामा रुपान्तरण गरेको प्रतिक्रिया दिए ।

भ्रमण दलमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, डा राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे र सांसद सीमा विक पनि सम्मिलित छन् । भ्रमणमा करिब एक दर्जन सांसद सहभागी हुने तय भए पनि अन्तिम समयमा केही सांसदले भम्रण रद्द गरेका थिए ।

नेपाली काँग्रेसका नेत्री तथा पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, सोही पार्टीका सहमहामन्त्री पूर्णबहादुर खड्का र सद्भावना पार्टीका सांसद डा डिम्पलकुमारी झाले अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री उत्तरखण्डमा यसैबीच, भ्रमणका क्रममा प्रधानमन्त्री ओली आज विश्वकै लामोमध्येका एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेहरी जलविद्युत् बाँधको अवलोकनमा गएका छन् । प्रधानमन्त्री ओली आजै नयाँ दिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहनेछन् । उनले आज यहाँस्थित नेपाली राजदूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तरक्रिया पनि गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप