बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सडकबाट : ‘सुटबुटमा सजिएर चुरोट तानेको त छ्या कस्तो नसुहाएको !’

आइतबार, ०९ फागुन २०७२, १० : २५
आइतबार, ०९ फागुन २०७२

प्रयास थापा, विद्यार्थी, नख्खु बाटोमा चुरोट खाँदै हिड्ने मानिसहरू मलाई साह्रै असभ्य नागरिक लाग्छन् । बाटो सार्वजनिक ठाउँ भएको हिसाबले त्यहाँ हिँड्ने हरेक नागरिकहरूले आफूबाहेक अरू पनि हिँड्डुल गर्छन् भन्ने सोच्नुपर्छ । तर केही छोडेर हेर्ने हो भने हाम्रो देशका अधिकांश नागरिकहरू यस्ता कुरालाई वेवास्ता गर्छन् । मैले देखेअनुसार स्कुल पढ्ने बच्चाहरूदेखि लठ्ठी टेकेर हिँड्ने वृद्ध–वृद्धासम्म बाटामा चुरोट तान्दै हिँड्छन् । चुरोट तान्दै हिँड्ने त एउटा उदाहरण मात्र हो, बाटामा यस्ता असभ्य क्रियाकलापहरू कति देखिन्छन् कति । आफू बाटोमा चुरोटको धुँवा उडाउँदै हिँड्दा त्यसले अरू सर्वसाधारणलाई कति असर पारिरहेको हुन्छ भन्ने कुरा बिर्सिन्छन् । हामी नेपाली जहिलेपनि अरुका दोष मात्रै देख्ने अनि आफ्नाचाहिँ गुणमात्र । अरूले आफ्ना लागि राम्रो गरिदियोस् भन्नेले आफूले पनि राम्रै गर्नुपर्छ नि । अनि पो बन्छ सभ्य समाज । आफूलाई मात्र अनुकुल हुने काम गर्दै हिँड्ने मानिसहरूले बिगारेका हुन् हाम्रो देशको सभ्यता । हामीले सडक नियमलाई जानी–जानी बिगारेकाले बाटामा चुरोट खाँदै हिँड्नुलाई सामान्यरूपमा लिन थालिएको छ । तर साना–तिना भनेर पन्छाइएका यस्ता क्रियाकलापले हाम्रो पूरै समाज र शहरलाई कति नकरात्मक असर पारिरहेको छ भन्नेतर्फ कसैको ध्यान जान सकिरहेको छैन ।

कमला बस्नेत, गृहिणी, ललितपुर म आफु धुमपान गर्दिनँ र अरूले गरेको पनि पटक्कै मन पर्दैन । झन् सार्वजनिक ठाउँमा धुमपान गर्ने मानिसहरूलाई त म सोमत नभएका मान्छे भन्छु । आजभोलि बाटो जति सबै आफ्नै जस्तो सोचेर बाटोमा चुरोट तान्दै हिँडेका मानिसहरू शहरको जुनसुकै गल्लीमा देखिन्छन् । अझ कलेज पढ्ने विद्यार्थीहरू पनि कति सारो बिग्रिएका ? न कसैले के सोच्ला भन्ने डर देखिन्छ न त आफूले गरेको क्रियाकलापले आफ्नो छविमा दाग लाग्ला भन्ने चिन्ता नै । आफ्नै तालमा चुरोट तान्दै हिँडिरहेका हुन्छन् । कलेज पोशाकमै हातमा चुरोट बोकेर हिँडेको देख्दा त उनीहरूले लिएको शिक्षाले उनीहरूलाई नै गिज्याइरहेको जस्तो लाग्छ । पढीलेखी सही गलत छुट्याएर समाज बनाउने युवाहरूको यस्तो लापरवाह हविगत भएको देशको भविष्य राम्रो होला भनेर खै कसरी सोच्ने ? भविष्य बनाउन हिँडेका अरूका छोराछोरीको यस्तो गति देख्दा हुर्कदै गरेका आफ्ना सन्तानहरू पनि भोलि यसैगरी हिँड्ने हुन् कि भनेर चिन्ता लागेर आउँछ । आखिर जे देखे त्यही त सिक्छन् नि हुर्कदै गरेका बच्चाहरूले । चेत खुलेकै मानिसहरूले यस्तो गर्दै हिँडेको शोभा दिँदैन । तर हाम्रो देश के भएको होला, जो हेर्यो नियम–कानुन मिचेर हिँड्नमै मजा मानिरहेका हुन्छन् । आखिर देश र समाजले बनाएको नियम हामी सबैको भलोकै लागि त बनेका त हुन् नि । नियम चाहे ठूलो होस् या सानो के फरक पर्छ र ? पालना गर्नेु हाम्रो कर्तव्य हो । नियममा बाँधिएर हिँड्नुले नै हामीलाई सभ्य बनाउँछ ।

शोकिया शाक्य, विद्यार्थी, पुल्चोक मलाई धुमपान गर्ने मानिसहरू मन पर्देनन् । चुरोटको धँुवादेखि भित्रैबाट घिन लागेर आउँछ । बाटोमा चुरोट खाँदै हिँड्ने मानिसहरूदेखि एकदमै रिस उठ्छ । खानेलाई त रमाइलो लाग्ला तर हामी नखानेलाई त्यसले कति असर पारिरहेको हुन्छ भन्ने पनि सोच्दैनन् मानिसहरू । म त बाटोमा चुरोट खाँदै हिँडेको मान्छे देख्नेबित्तिकै अर्कैतिरबाट हिँड्छु । तर जहाँ गयो त्यहीँ चुरोट तानिरहेका मानिसहरू भेटिन्छन् । कोही त सार्वजनिक गाडीभित्रै पनि धुमपान गर्छन् । आग्रहपूर्वक नगर्न भन्दा पनि आँखा सन्काएर हेर्छन् । हेर्दा सुटबुटमा टिलिक्क टल्केका जुत्ता ढल्काएर हिँडिरहेका हुन्छन् अनि हातमा चाहिँ चुरोट लिएको कत्ती पनि सुहाएको हुँदैन । मलाई त हाँसो पो उठ्छ । केही वर्षअगाडि सार्वजनिक स्थलमा धुमपान गर्नेलाई सार्वजनिक मुद्दाअनुसार कारवाही गर्ने नियम पनि बनेको थियो । एक साता नपुग्दै नियम कहाँ हरायो, हरायो । न नियम बनाउनेलाई मतलव छ न त पालना गर्नेलाई नै । यस्तै नियम–कानुन मिचेर हिँड्ने प्रवृत्ती मौलाएका कारणले त हाम्रो देश कहिल्यै नबनेको हो नि । यसतर्फ एकपटक सरोकार वालाहरूको ध्यान खिचियोस् । प्रस्तुति ःफातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप