बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जडीबुटीलाई बजार अभाव

मङ्गलबार, ११ जेठ २०७३, १६ : ५७
मङ्गलबार, ११ जेठ २०७३

बागलुङ - घुम्टेको लेक र आसपासका वन क्षेत्रमा प्रचुर मात्रामा जुडीबुटी पाइने भए पनि त्यसको बजारीकरण हुन सकेको छैन ।

सीप, प्रविधि र व्यावसायिक जनशक्तिको अभावले बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेको छ । परम्परागत हिसाबले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरे पनि त्यो व्यवस्थित हुन सकेको छैन ।

करिब दश हजार फिटको उचाइमा अवस्थित घुम्टे लेकमा सयौँथरिका जडीबुटी पाइने स्थानीय बासिन्दा बताउँछन् । जडीबुटी सङ्कलन गर्दै आएका पाण्डवखानी–६ का जेवी श्रीसले जडीबुटीको बजारीकरण गर्न दक्ष अनुसन्धानकर्ता, प्रविधि र आर्थिक अभाव रहेको बताए । “वैद्य गुरुहरुबाट सिकेर मैले सयथरि बढी जडीबुटी पहिचान गर्न सक्ने भएको छु”, उनले भने – “पाण्डवखानी र घुम्टेको वनमा जडीबुटी प्रचुर मात्रामा पाइन्छ ।”

दुर्लभ जडीबुटीका रुपमा सूचीकृत भएका पाँचऔँले, चिराइतोजस्ता जडीबुटी त्यहाँ पाइने जानकारी दिनुभयो । पाण्डवखानीमा श्रीस र ओमप्रसाद बुढाले परम्परागत सीपका आधारमा जडीबुटी सङ्कलन गर्ने, बिक्री गर्ने गर्नुभएको छ । गाउँघरमा सामान्य बिरामीको उपचारमा जडीबुटी प्रयोग हुने गरेको छ । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरी बजारीकरण गर्न सके करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सकिने स्थानीय ओमप्रसाद बुढाको भनाइ छ ।

पाण्डवखानीमा केही समयअघिदेखि जडीबुटी संरक्षको अभियान चलाइएको छ । पाण्डवखानी समाज दोहा कतारको आर्थिक सहयोगमा गाउँमै जडीबुटी प्रदर्शनी पनि गरिएको छ । प्रदर्शनीमा पाँचऔँले, सतुवा, चिराइतो, पखानबेत, सालपर्ने, भुइँचम्पा, चुल्ठी अमिलो, कुरिलोलगायतका ५० भन्दा बढी प्रकारका जडीबुटी राखिएको थियो ।

वन, जङ्गलमा बहुमूल्य जडीबुटी त्यसै कुहिएर खेर जाँदा पनि जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घजस्ता निकायहरु बेखबर छन् । इलाका वन कार्यालय हटियाका वन अधिकृत प्रकाश थापाले जडीबुटीको प्रशोधन, बजारीकरण हुन नसकेको स्वीकार गरे । उनले घुम्टेमा दुर्लभ मानिएका जुडीबुटी प्रशस्त पाइने बताए ।

“राज्यले नै दुर्लभको सूचीमा राखेर संरक्षण अभियान चलाएको पाँचऔँले पनि यहाँ पाइन्छ”, उनले भने – “सयौँथरिका जडीबुटी छन्, तिनको संरक्षण प्रयास भए पनि त्यो पर्याप्त छैन ।” जडीबुटीको अवैध चोरी, पैठारीलाई पनि रोक्नुपर्ने उहाँको भनाइ छ । गाउँघरमा पहिलोजस्तो परम्परागत ज्ञान, सीप भएका वैद्यहरुको कमीले पनि जडीबुटीको उचित सदुपयोग हुन नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप