बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाको दैनिक ८ मेगावाट विद्युत खेर जाँदै

शुक्रबार, १५ पुस २०७३, १७ : ०५
शुक्रबार, १५ पुस २०७३

पाँचथर–मुलुकले उर्जा संकट व्यहोरिरहेको बेला उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को पहलमा काठमाडौँलाई लोडसेडिङ मुक्त बनाइसकिएको छ । उनले मुलुकलाई नै लोडसेडिङ मुक्त बनाउन प्रयत्न गर्ने वताइरहेका छन् । तर, उर्जा संकट र विभिन्न समस्या झेल्दै निर्माण सम्पन्न गरेको पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत निर्माण कम्पनी र सरकारी निकायको तादम्यता नमिल्दा खेर गइरहेको छ ।

मेची अञ्चलमा निर्माण गरिएका जलविद्युत आयोजनाको उत्पादन केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्न निर्माण गरिदै आएको काबेली करिडोरको फिदिम–४, थापाटार स्थित सवस्टेशन चार्ज नहुँदा हेवा खोला जलविद्युत आयोजनाको आठ मेगावाट बिजुली खेर गइरहेको हो । आयोजनाले लामो समय लगाएर उत्पादन थालेपनि सबस्टेशन चार्ज नहुँदा विद्युत खेर गएको हो । ‘काबेली करिडोरको थापाटारस्थित सवस्टेशन चार्ज नहुँदा दैनिक १४ लाख रुपैँया घाटा सहनु परेको छ ’आयोजना प्रमुख पुष्पज्योती ढुंगानाको भनाइ छ । ढुङ्गानाले विद्युत व्यापार विभागमा आयोजना पूरा भएको जानकारी गराइसके पनि चासो नदेखाएको गुनासो गरे । उता, विद्युत प्राधिकरण काबेली करिडोर आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदी भने ट्रान्सफर्मर चार्ज नहुनुमा आफ्नो कुनै कमजोरी नभएको वताउछन् । उनले बरु विद्युत खरिद व्यापार विभाग, उत्पादक पाँचथर पावर कम्पनी र काबेली करिडोर आयोजनाबीच भएको सम्झौता बमोजिम हेवाखोला ए जलविद्युत आयोजनाले थापाटार सवस्टेसन मर्मत सम्भार नगरेको र स्वीचयार्डमा छुट्टै अर्थिङ नजोडेको आरोप लगाए ।

झापाको लखनपुरदेखि इलामको गोदक, पाँचथरको थापाटार हुँदै अमरपुरसम्म ९० किलोमिटर काबेली करिडोर एक सय ३२ केभिए केन्द्रीय प्रशारण लाइन समयमा पूरा नहुँदा हेवाखोलाबाट उत्पादित विद्युत खेर जाने अवस्थामा आएको पूर्वसांसद वसन्तकुमार नेम्वाङले बताए ।

नेम्वाङले भने ‘काबेली करिडोर आयोजना पूरा नभएपछि पाँचथरको थापाटार सवस्टेसनमा ३३ केभिए लाइनबाट ११ केभिएमा परिणत गरी विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लागिएको छ ।’

पाँचथर पावर कम्पनीद्वारा प्रवद्र्धित १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजना दुई अर्ब ५० करोड रुपैयाँमध्ये सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले एक अर्व ८० करोड रुपैंयाँ ऋण लगानी गरेका छन् ।

सानिमा बैंकको ४० करोड रुपैंयाँ लगानी रहेको बैंकका रिलेसनसिप मेनेजर सन्जीव पौडेलले बताए । विद्युत उत्पादन शुरु भएपछि निरीक्षणमा आएका सानिमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले भूकम्प, नाकाबन्दी र स्थानीय अवरोध भएपनि समयमै निर्माण पूरा भएकोमा सन्तुष्ट भएको प्रतिक्रिया दिए । नयाँ उत्पादित विद्युले मुलुकमा लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको ग्लोबल आइएमइ बैंकका वरिष्ठ प्रबन्धक प्रविण पाठकले बताए ।

विद्युत आयोजनामा प्रवद्र्धक पाँचथर पावर कम्पनीले ७० करोड रुपैंयाँ र सानिमा बैंकको नेतृत्वमा नेपाल बैंक लिमिटेड, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, माछापुछ्रे बैंक, बंगलादेश बैंक, किस्ट बैंक, एनसिसि बैंक, ग्लोबल आइएमइ बैंक, एस डेभ्लप्मेन्ट बैंक, डेवा डेभ्लप्मेन्ट बैंकले ऋण लगानी गरेका छन् । विद्युत उत्पादनबाट प्रवद्र्धक कम्पनीलाई राम्रो मुनाफा आर्जन हुने भए पनि कावेली करिडोर आयोजना समयमा पूरा नभएसम्म बार्षिक १५ देखि २० करोड रुपैंयाँ घाटा हुने बैंकहरुले जनाएका छन् । प्राधिकरणको ११ केभिए प्रशारण लाइनबाट वितरण गर्दा १५ मेगावाट विद्युतमध्ये ७ मेगावाट मात्र खपत हुने भएकोले त्यसबाट हुने घाटा नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने पाँचथर पावर कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाको भनाई छ ।

विद्युत सम्बन्धि नीतिगत समस्या, प्रक्रियागत समस्या, भारतीय ठेकेदार कम्पनी जग्वर एण्ड एस्तर संयुक्त कम्पनीको ढिलासुस्ती, प्राधिकरणका कर्मचारीको ढिलासुस्ती र स्थानीय प्रशासनसँग समन्वय अभावमा स्थानीयवासी गरेको अवरोधले निर्माणाधिन काबेली करिडोरको निर्माण कार्य भने पूरा हुन सकेको छैन् ।

करिडोरसँग स्थानीयबासीले जग्गाको मुआब्जा, क्षतिपूर्ति, विस्थापितहरुको पुनर्वास, पुनस्र्थापना कार्यक्रमको प्रभावकारी कार्यान्वयन, रोजगारीको प्रत्याभूति, प्रसारण लाइनको रुट परिवर्तन लगायतका माग गर्दै आएका छन् । इलामको सिद्धिथुम्का, सोयाक, मंगलबारे, फाक्फोक, पाँचथरको पौवासार्ताप, इम्बुङ, नवमीडाँडा, फिदिम नगरपालिका भित्रका जोरसाल, चोकमागू, सिवा लगायत स्थानमा स्थानीयवासी र करिडोरवीचको विवाद समाधान हुन सकेको छैन् । चार वर्षअघि निर्माण थालिएको हेवाखोला ‘ए’बाट १४ दशमलव ९ मेगावाट विद्युत उत्पादन हुनेछ । यद्यपी सबै समयमा उक्त परिमाणमा विद्युत उत्पादन सम्भव छैन् । पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट उत्पादित विद्युतको परीक्षण प्रशारण सफल भएको उत्पादक पाँचथर पावर कम्पनीको भनाई छ ।

कम्पनीले हेवाखोला विद्युत गृहदेखि फिदिमस्थित थापाटारसम्म १३ किलोमिटर प्रशारण लाइन विस्तार गरी थापाटारमा निर्मित सवस्टेसनमा जडान गरेको छ । काबेली करिडोरको निर्माण पूरा नभएकोले ३३ केभिए प्रशारण लाइनबाट पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, धनकुटा लगायत पूर्वी पहाडी क्षेत्रमा उपभोक्तालाई विद्युत वितरण गर्ने तयारी भइरहेको प्रबन्ध निर्देशक ढुङ्गानाले बताए ।

(तस्विर : फिदिम नगरपालिका–४ थापाटार स्थित काबेली करिडोरको सवस्टेशन ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप