बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

युवा संघ प्रकरण : खुकुरी हान्ने फरार, गाडी जलाउनेको मोबाइल अफ

आइतबार, १७ पुस २०७३, १६ : ५४
आइतबार, १७ पुस २०७३

घटना नम्बर–१ २०७३ पुस ४ गते युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि अज्ञात समुहले गोली हान्यो । रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनीमा गोली लागेपछि अस्पताल भर्ना गरिएका तिवारीको मृत्यु भयो ।

घटना नम्बर २ दुर्गा तिवारी हत्याकाण्ड भएको दश दिनपछि बाँकेको कोहलपुरमा युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भयो । कोहलपुरस्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्कँदै गर्दा बाजुराका लक्ष्मण मल्लले बुढाथोकीलाई खुकुरी हानेर भागे । बुढाथोकी हाल अस्पतालमा छन् ।

घटना नम्बर ३ आफ्नो संगठनको केन्द्रिय सदस्यमाथि खुकुरी प्रहार भएको विरोधमा युवा संघले गत शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा चक्काजाम गर्ने कार्यक्रम राखेको थियो । चक्काजाम गर्नुको साटो युवा संघका कार्यकर्ता सरकारी स्वामित्वको सवारी साधन तोडफोड गर्नतिर लागे । युवासंघका कार्यकर्ताले बा.२ झ १३९२ नम्बरको बाग्मती सभ्यता विकास परियोजनाको गाडीमा आगो लगाए ।

–माथिका यी तीन घटना ११ दिनभित्रका हुन् । तिवारी हत्याकाण्डमा प्रयोग भएको बा.५१ प ८०७३ नम्बरको मोटरसाईकल भोलीपल्ट मणिग्रामको कान्छीबजारमा वेवारिसे अवस्थामा भेटियो । तर, हत्या आरोपी अहिलेसम्म भेटिएका छैनन् । हत्यलाई राजनीतिककरण गर्ने प्रयास पनि भयो ।

–तिवारी घटनाबारे अनुसन्धान तथा छानविनका लागि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको नेतृत्वमा एउटा समिति बनाएको थियो । १५ दिनभित्र प्रतिवदेन बुझाउने समय पाएको समितिले आफ्नो काम गरिरहेको भनिएपनि घट्नामा संलग्न आरोपी पक्राउ हालसम्म पक्राउ परेका छैनन् ।

–जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र धानुकले तिवारी घटनाबारे अनुसन्धान भईरहेको रेडिमेड उत्तर दिँदै भने, ‘अनुसन्धान हुँदै छ, उपलब्धी भए शत प्रतिशत हुन्छ । हालसम्म शुन्य जस्तै छ ।’

–घटनाको अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी मनोज न्यौपानेले पनि घट्नाबारे अनुसन्धान भईरहेको उत्तर दिए । घट्ना भएकै दिन मनोज पुनले भारतीय नम्बरबाट टेलिफोन गरेर तिवारीलाई आफुले गोली हानेको बताएका थिए ।

खुकुरी हान्ने फरार, गाडी जलाउनेको मोबाइल अफ

–बाँकेको कोहलपुरमा सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने लक्ष्मण मल्ल फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक राईले लक्ष्मण फरार भएको जानकारी दिँदै भने, ‘हामी अनुुसन्धानमै छौं, पक्राउ परेकाहरुसँग बयान लिने काम भईरहेको छ ।’

–खुकुरी प्रकरणमा प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेपनि मुख्य आरोपी लक्ष्मणलाई भने पक्राउ गर्न सकेको छैन ।

–‘आवारा केटो’ को रुपमा विगत केही समयदेखि कोहलपुर बस्दै आएका मल्ल एकपटक एमालेले आयोजना गरेको बन्दको समयमा सहभागी भएको प्रहरी स्रोतको भनाई छ । पार्टीको कार्यक्रममा सहभागी भएकाले लक्ष्मण एमालेकै संगठित सदस्य हुनसक्ने बताईएको छ ।

–दुईवटा घटनाको उपजको रुपमा घटेको राजधानीको नयाँ बानेश्वरमा सरकारी गाडी जलाउने कार्यमा संलग्नको भने मोवाईल स्वीच अफ गरेर बसेको प्रहरी स्रोतको जनाएको छ ।

–गाडी जलाउने कार्यमा संलग्नहरुको पहिचान भैसकेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, ‘गाडी जलाउनेको आईडेन्टीफाई भैसेकेको छ, हामी उनीहरुलाई खोजिरहेका छौं ।’

–कार्कीका अनुसार हालसम्म दुई जनाको पहिचान खुलेको छ ।

–स्रोतका अनुसार घटना पार्टीको आन्तरिक विषयसँग जोडिएकाले प्रहरीले निकै सर्तकतासँग कदम चालेको छ । ‘जसका कारण यस्ता गंभीर अपराधमा पनि प्रहरी कारवाही सुस्त देखिएको छ । ’ गृह मन्त्रालय स्रोत भन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप