बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

झापामा रगतको अभाव

आइतबार, १७ पुस २०७३, १७ : २४
आइतबार, १७ पुस २०७३

झापा - झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन र वितरण हुँदै आएको छ । सबै केन्द्रले रगतको मौज्दात सकिएको जनाएको छ ।

जाडो मौसम सुरु भएसँगै रक्तदान कार्यक्रम ठप्प भएपछि रगतको अभाव भएको रेडक्रस झापाका जनसम्पर्क शाखा प्रमुख राजकुमार भुजेलले बताउनुभयो । उहाँका अनुसार भद्रपुरमा रहेको रक्तसञ्चार केन्द्रमा ५ पाउण्ड मात्र रगत रहेको छ । विर्तामोड रक्तरञ्चार केन्द्रमा पनि ९ पाउण्ड मात्र बाँकी रहेको छ ।

उनका अनुसार झापामा मासिक ४०० युनिट रगत खपत हुँदै आएको छ जसमा ६० प्रतिशत रगत पहाडी क्षेत्रका बिरामीमा खपत भइरहेको छ । उनले पहाडी क्षेत्रमा रगतदाता प्रायः शून्य हुने गरेको र सबै तराई क्षेत्रले नै धान्नु पर्दा पनि समस्या आएको बताए।

भद्रपुर रक्त सञ्चार केन्द्रमा दैनिक ५ युनिट रगत खपत हुने गरेको छ । दमकमा रहेका तीन वटा रक्तसञ्चार केन्द्रमा १०० युनिट रगत रहेको सो केन्द्रका जनसम्पर्क कर्मचारी सिद्धार्थ दाहालले बताए । उनले दमकका अस्पतालमा दैनिक १० युनिट रगत खपत हुने गरेको बताउँदै भने – ‘समस्या आउन नदिन स्थानीय सङ्घसंस्थासँग रक्तदानका लागि सहकार्य भइरहेको छ ।’

नेपाल रेडक्रस सोसाइटी झापाका महामन्त्री कृष्ण मैनालीले तत्कालको अभाव टार्न नेपाली प्रहरी, सशस्त्र र नेपाली सेनालाई आग्रह गरिसकेको बताए । उनले विशेष गरी सहकारीहरुले वर्षेनी वार्षिक कार्यक्रममा राख्दै आएको रक्तदान कार्यक्रम चालु आर्थिक वर्षमा नगरिदिएका कारण पनि समस्या आएको बताए । झापामा भद्रपुर, विर्तामोड र दमकमा ६ वटा रक्तसञ्चार केन्द्र सञ्चालित छन् । ती सबैमा रगतको सञ्चिति अत्यन्त कम भइरहेको महामन्त्री मैनालीले स्वीकार्दै चाँडै जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी रगत आपूर्ति सहज बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप