बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिथ्या’ले मेरो अभिनय करियरमा कायापलट ल्याउनेछ

बिहीबार, २१ पुस २०७३, ११ : १०
बिहीबार, २१ पुस २०७३

काठमाडौं– मनोज आर.सी. नेपाली चलचित्र क्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । जाजरकोट स्थायी घर भएका उनी राजधानीमै बसेर कलाकारिता अगाडि बढाइरहेका छन् । चलचित्रको सकारात्मक र नकारात्मक जुनै भूमिकामा पनि जम्ने पात्र उनी अभिनयबाट कहिल्यै खुसी हुन सकेका छैनन् । सायद त्यसैले पनि होला उनी एकपछि अर्काे चलचित्रमा फरक भूमिकामा देखिने गरेका छन् ।

नाट्यकर्मी सुनिल पोखरेलबाट अभिनयको प्रशिक्षणसहित चलचित्र करियरमा पाइला अघि बढाएका उनको ‘वीर गणेशमा’ डेब्यु चलचित्र हो । २००२ मा निर्मित यो चलचित्रमा उनले सहिद गङ्गालालको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले ‘लक्ष्य’, ‘सिमला’, ‘मधुमास’, ‘झुम्की’ हँुदै ‘मिथ्या’ अभिनय सकेका छन् ।

अभिनयको सिलसिलामा दयाहाङ राई, आर्यन सिग्देलदेखि अभिनेत्रीमा प्रियङ्का कार्कीसँग स्क्रिन सेयर गरिसकेका उनलाई अहिलेकी हटकेक नव अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन सेयर गर्न मन छ । निर्देशक मनोज पण्डितले निर्माण गरेको चर्चित वृत्तचित्र ‘ग्रेटर नेपाल’का निर्माता र सहायक निर्देशकसमेत रहेका उनी आफूले अभिनय गरेको चलचित्र र भूमिकाको विषयमा यसरी प्रस्ट्याउँछन् ।

सहिद गङ्गालाल

‘वीर गणेशमान’ फिल्ममा मैले सहिद गङ्गालालको चरित्र निर्वाह गर्ने अवसर पाएँ । स्न २००२ मा निर्माण भएको यो मेरो अभिनयमा डेब्यु फिल्म हो । गङ्गालाल १९४१ मा राणा शासनको विरोध गर्दागर्दै मारिएका थिए । उनीसँगै अरु तीन पनि मारिएका थिए । ती चार सहिदकै भूमिका रहेको यो फिल्ममा मैले निर्वाह गरेको गङ्गालको भूमिका सबैभन्दा इन्टे«स्टिङ थियो । मेरै भूमिका थियो फिल्ममा मध्यान्तरसम्म दर्शक होल्ड गर्ने । प्रजापरिषद्को सदस्यता लिएपछि काठमाडौँको इन्द्र चोकमा गङ्गालालले ठोकेको भाषण मैले पनि गर्ने अवसर पाएँ । यो जीवनमा कहिलै पनि बिर्सन नसकिने क्षण हो मेरो ।

यो दृश्य गर्दाको अभिनय अहिले पनि आँखा वरिपरि घुमिरहन्छ । नेता नवीन्द्रराज जोशीको लेखन तथा परिकल्पना रहेको यो फिल्मको भाषाणको दृश्य दोस्रो टेकमा ओके भएको थियो । सो समय मैले फुल इनर्जीका साथ दिएको भाषण साच्चिकै नेताको जस्तो भएको थियो । त्यसैले पनि होला नवीन्द्र दाइले नेताझैँ भाषण मार्यौ भन्दै मलाई धाप दिनुभयो । साथै घरमा लगेर चियासमेत खुवाएर पठाउनु भयो । यो भूमिकाका लागि पहिले उत्तम प्रधान छानिएका थिए रे ।

जब मेरो निर्माण युनिटसँग भेट भयो । गङ्गालालसँग मेरो धेरै कुरा मिल्छ भनेर तुरुन्तै म फाइन भएँ । फिल्ममा समेटिएको विषयवस्तुमा २२ वर्षका थिए रे गङ्गालाल । मैले भने २० वर्षमै त्यो भूमिका निर्वाह गरेँ । जब फिल्म रिलिज भयो । हेर्ने सबैले नाकबाहेक सबै गङ्गाल भनेर प्रतिक्रिया दिए । राणाकालीन गेटअप गरेर गङ्गालालको भूमिका निर्वाह गर्दा म आफैलाई गङ्गालाल मनै हुँ भन्ने जस्तो लाग्थ्यो ।

लभर ब्वाई वीर गणेमान अभिनयको एक वर्षपछि फिल्म ‘लक्ष्य’मा लभर ब्वाई बने । यो जीवनको पहिलो कर्मसियल फिल्म थियो । यसको अभिनय कहिल्यै बिर्सन सक्दिनँ । किनभने यसैबाट मलाई पहिलो पटक लिड भूमिका निर्वाह गर्ने अवसर मिल्यो । फिल्ममा आफ्नो कक्षामा अध्यायन गर्ने एक युवतीलाई एकहोरो मन पराउँने, माया गर्ने चरित्र थियो । त्यस्तो एकहोरो पे्रमले मेन्टली डिसअर्डर हुने भूमिका । फिल्म प्रदर्शनपछि भूमिका निकै चर्चित बन्यो ।

भूमिका निर्वाह गर्दा मैले भूमिकामा आफूलाई भिजाउन सबै तयारी गरेँ । फिल गरे । जति सकिन्छ त्यति । आउटपुट पनि त्यस्तै आउँछ भन्ने थियो । यो भूमिका निर्वाह गर्न त्यस्ता केही व्यक्तिसँग समेत समय बिताए । अभिनय गर्दै जाँदा चलचित्र सकिने समयमा मेरो स्वभाव पनि केही परिवर्तन भएको जस्तो भएको थियो । म रोमान्टिक, फ्री प्रकारको मान्छे थिएँ । भूमिकाले एकहोरो, सोचिरने बनाएछ । यसबाट निस्कन मलाई एक महिनाभन्दा बढी लाग्यो ।

मनोज पाण्डे फिल्म ‘सिमाला’मा मैले निर्वाह गरेको पात्रको नाम मनोज पाण्डे थियो । आर्ट टाइपको फिल्म यो । मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्ममा मेरो भूमिका पोखराको साधरण केटाको थियो । त्यो केटा जसको घरको आर्थिक अवस्था कमजोर छ । आमा बिमारी छिन् । पैसाको अभावमा छ । त्यही केटाले जब सिमाला बेच्न आएको अर्काे केटालई भेट्छ । त्यो बेला उसले सिमाला बहुमूल्य वस्तु हो भन्ने थाहा पाउँछ ।

तब ऊ सुखको खोजीमा सिमाला खोन्दै मुस्ताङसम्म पुग्छ । सिमाला फुत्काउन धेरै प्रयत्न गर्छ । अनायसमै त्यही गाउँकी केटीसँग नजिकिँदा आफ्नो उद्देश्यबाट हराउन पुग्छ । यही मेरो भूमिका । यो भूमिका निर्वाह गर्दा मैले साच्चिकै सङ्घर्ष गरेँ । दुःखमा भिजेँ । मेरो मनमा पनि यो पात्रप्रति माया पलाएको थियो ।

भूमिका निर्वाह गर्दैजाँदा रोएँ पनि म । फिल्म प्रदर्शनमा आएपछि सबैले तेरो भूमिकाले हामीलाई रुवायो समेत भने । कस्तो वास्तविक अभिनय गरेको भनेर प्रतिक्रिया दिए । अभिनय गर्दा पाएको सबै दुःख बिर्सिएँ त्यति बेला ।

रागव सुर्दशन थापाको निर्देशनमा बनेको फिल्म ‘मधुमास’ । यो फिल्ममा मैले निर्वाह गरेको भूमिका रागवको थियो । यसले मलाई सर्वाधिक चर्चा दिलायो । चलचित्र प्रदर्शनपछि मैले बोलेका संवाद पनि हिट भए । एन्टिहिरोको भूमिका निर्वाह गरेको थिएँ मैले । फिल्मबाट हिरोले पाउनेभन्दा बढी प्रतिक्रिया पाएँ । प्रशंसा पनि प्रशस्तै । मन पराएकी केटीलाई गलत गर्नेहरु माथि जाइलाग्ने भूमिका थियो मेरो । हरेक क्रियाकलाप केटीकै लागि गर्ने । नेगेटिभबाट सुरु भएको मेरो भूमिका फिल्मको अत्यमा पोजेटिभ हुन्छ । यसले गजबको सफलता दिलायो मलाई । यो फिल्मको अभिनयपछि मलाई भर्सनटाइल कलाकारसमेत भन्न थाले धेरैले । यसै वर्ष आयोजना भएका धेरै अवार्डमा मेरो भूमिकाले मलाई नोमिनेसनमा पार्यो । सीजी कामना अवार्ड त थापेँ पनि । यो मेरो फिल्मी करियरको पहिलो सफलताभन्दा फरक पर्दैन ।

हिरोइनको दाइ म अस्ट्रेलियाबाट अफर आएको फिल्म ‘हमजायगा’ । निर्देशक सुरेन्द्र पुनले फोनमै भनेका थिए । एउटा भूमिका छ । मेरो फिल्म गर्ने हो । मैले स्क्रिप्ट मागेँ । हेरेपछि हुन्छ भने । निर्माता थिए भोजबहादुर गुरुङ । हिरोइनको दाइको भूमिकामा थिएँ म फिल्ममा । मध्यान्तरपछि मात्र थियो मेरो रोल । तर सबैभन्दा दमदार भूमिका मेरै थियो फिल्मभरी । फिल्मभित्र मेरै डिसिजनमा घर, साथीभाइ र हिरोइन चल्नुपर्ने कथा बुनिएको थियो । फिल्म त सफल भएन । तर मेरो भूमिका धेरैले मन पराए । नेगटिभ भूमिका भए पनि समाजिक सन्देश दिने खालको थियो । फिल्मभित्र गाउँको लागि काम गर्न पोजेटिभ थिङ्किङ भएको मानिसमा थिएँ म । धेरै महत्वकाङ्क्षा नभएको सिम्पल परिस्थतिमा हिँड्ने खालको भएकाले धेरैले रुचाए ।

प्रेमी पुलिस अफिसर केही महिना पहिले रिलिज भएको फिल्म हो ‘झुम्की’ । यसमा मेरो भूमिका जुनियर पुलिस अफिसरको थियो । जो दाङको एक चौकीमा कार्यरत हुन्छ । द्वन्द्वको समयको परिस्थितिलाई लिएर निर्माण भएको फिल्म थियो यो । द्वन्द्वको समयमा चौकी छोडेर बाहिर निस्कन पनि मुस्किल पर्ने परिस्थिति थियो । त्यो समयमा पनि नजिककै गाउँको एक थरुनीसँग पे्रममा पर्ने भूमिका थियो मेरो, केटी फकाउने, मनाउने लगायतका क्रियाकलाप गर्न खालको । प्रेममा फसेपछि जागिरमा आएको समस्या, पारिवारिक लगायतका समस्या नै समस्यामा फसेको पात्रको भूमिका थियो चलचित्रमा । यो पात्रको भूमिका निर्वाह गर्दा मैले धेरै इन्जोय गरेँ । तर कति ठाउँमा कठिन भयो । आँसु झनै झरेन । चलचित्रको प्रदर्शनपछि धेरैले मलाई स्ट्रोङ क्यारेक्टर गर्ने मानिसका रुपमा हेर्न थाले । सानोतिनो समस्यामा फस्ने बाहेकका भूमिका गर्न सक्दैन भन्थे पहिले । यो भनाइ चिर्न सफल रहेँ म । यो फिल्मभित्र सपोर्टिङ भूमिकामा अभिनेता दयाहाङ थिए । दयाहाङसँग काम गर्दा धेरै सिक्ने र जान्ने अवसर पनि मिल्यो ।

ओसिडी महिला निर्देशक निलु डोल्मा शेर्पा निर्देशित चलचित्र हो– ‘मिथ्या’ । भर्खर मात्र यसको अभिनय सकेँ । जानकारी डिस्अडर (ओसिडी)को भूमिका छ मेरो । थाहा भएको कुरा जस्ताको तस्तै बनाउनुपर्ने, राख्नुपर्ने । श्रीमान्, श्रीमतीको सम्बन्धबीचको फिल्म कथामा बनेको छ । यसले श्रीमान् श्रीमती बीचका शङ्का, असमझदारी लगायतको विषय गहन रुपमा उठाएको छ । यो फिल्म प्रदर्शनमा आउँन बाँकी छ । यसबाट मलाई धेरै आशा छ । यो अभिनय गर्दा मैले अलौकिक आनन्द लिएँ । फिल्म सकाउँदा मेरिटेसन गरेको भान भएको थियो । फिल्मको छायाङ्कन सुरुको दिनदेखि नै घर बाहिर रहेर गरेँ । यसमा मैले क्यारेक्टरमै, डुबेर भिजेर अभिनय गरेको छु । अहिलेसम्म गरेकामध्ये बेस्ट भूमिका हो । अभिनयमा पनि ‘मिथ्या’भन्दा राम्रो अरुमा गर्न सकिनँ । थोरै पत्र भएको फिल्म हो यो । प्रियङ्का कार्की र म मुख्य भूमिकामा छौँ । यो फिल्मले एउटा इतिहास रच्नेछ भन्ने विश्वास छ । व्यवसायको कुरो अर्काे पाटो हो मेरो अभिनय करियरमा यसले कायापलट ल्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप