बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाक्टरका कुरा : हृदयघातबारे ९ भ्रम र यथार्थ

आइतबार, ०२ माघ २०७३, १४ : ३८
आइतबार, ०२ माघ २०७३

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ, ग्रान्डी अस्पताल –

नेपालजस्तो मुुलुकमा खानपान र जीवनशैलीका कारण हृदयाघातको जोखिम उच्च बन्दै गएको छ । वेलैमा सजग नभएर र सही उपचार नपाए हृदयाघातका कारण ज्यान जान सक्छ । हृदयाघातबारे अधिकांश नेपाली अझै भ्रममा छन् । त्यसैले मुटुरोग विशेषज्ञ डा. मिलनप्रकाश श्रेष्ठले भ्रम र यथार्थ स्पष्ट पारिदिएका छन् :

बेहोसपन र हृदयाघात

हृदयाघात अर्थात् हर्ट अट्याक हुँदा छातीमा कडा पीडा महसुस हुनु, ठूलो ढुंगाले थिच्दाजस्तो दुखाइ हुनु, केही कुराले छातीवरपर बाँधेकोजस्तो हुनु र दुखाइ बिस्तारै देब्रे पाखुरा हुँदै चिउँडोतिर सर्ने लक्षण देखिन्छन् । तर, कतिपय अवस्थामा यस्ता पीडा नभई छातीमा हल्का गह्रौँ महसुस मात्रै पनि हुन सक्छ । कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने हुन सक्छ । तर, हृदयाघातमा बेहोस नै भइन्छ भन्ने हुँदैन । बेहोस नहुँदा नै हृदयाघात भइसकेको हुन सक्छ । त्यसो त ठूलो हृदयाघात भएर मुटुको मांसपेशीमा ठूलो क्षति पुग्यो तथा मुटु कमजोर भयो भने मुटुको चाल र रक्तचाप तलमाथि भएर मान्छे बेहोस हुन पनि सक्छ ।

मृत्यु र हृदयाघात

मान्छेहरूको सोचाइ छ दुईपटकसम्मको हृदयाघातले मृत्यु निम्त्याउँदैन, तेस्रोपालिको हृदयाघातमा भने मृत्यु निश्चित हुन्छ । तर, यस्तो होइन । मान्छे मर्न हृदयाघात तीनपटक हुन जरुरी छैन । ठूलो प्रकृतिको भयो भने पहिलो हृदयाघातमै ज्यान जान सक्छ । हृदयाघात भएपछि छोटो समयमै आवश्यक उपचार नपाए पहिलोपटकमै ज्यान जान सक्छ । तर, मुटुको सानो भागमा मात्र क्षति पुर्‍यायो तथा तुरुन्तै आवश्यक उपचार भयो भने ज्यान बचाउन सकिन्छ । एकपटक हृदयाघात भएकालाई दोहोरिने खतरा भने बढी हुन्छ । त्यसैले समस्याको प्रकृति हेरेर जीवनभर औषधि खानुपर्ने पनि हुन सक्छ ।

इसिजी जाँच र हृदयाघात

इसिजी जाँच गरेर हृदयाघातको अवस्था बुझ्न सकिन्छ । तर, कहिलेकाहीँ हृदयाघात भइसक्दा पनि इसिजी सामान्य अवस्थामा देखिन सक्छ । विशेषगरी हृदयाघातको शंका लागेमा डाक्टरले बिरामीको छाती दुखाइको किसिम, इसिजी रिपोर्ट तथा हृदयाघातका लागि गरिने रगतको जाँचको रिपोर्टको सहयोग लिन्छन् । इसिजी नर्मल आएको अवस्था, तर छाती दुखाइ हृदयाघातजस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घन्टा भर्ना गरेर २–३ पटक रगत, इसिजी आदि जाँच दोहोर्‍याएर हृदयाघात भए-नभएको निश्चित गरिन्छ । यो डाक्टर तथा बिरामी दुवैका लागि कठिन अवस्था मानिन्छ । डाक्टर हृदयाघात भइसकेको हो भने नछुटोस् भन्ने सोच्छन् भने बिरामी आफूलाई केही नहुँदा पनि आर्थिक लाभका लागि भर्ना गराइयो भन्ने सोच्न थाल्छन् ।

मुटुको अवस्था र हृदयाघात

मुटुका मांसपेशीमा अक्सिजन पुर्‍याउने काम मुटुका रक्तनलीले गर्छन् । यिनी नलीहरू साँघुरिँदै गएमा वा रक्तनलीमा रगत जमेर रगतको आपूर्ति बन्द भएमा मुटुका मांसपेशी मर्छन् यही अवस्थालाई हृदयाघात भनिन्छ । बन्द भएका रक्तनली खोलेर रक्तसञ्चार तत्काल गराउन सके मुटुको मांसपेशी क्षति हुनबाट जोगाउन सकिन्छ । नसाबाट इन्जेक्सन चलाएर रक्तनली खोलिन्छ । ठूला अस्पतालहरूमा एन्जियोप्लास्टी गरेर स्टेन्ट राख्ने पनि गरिन्छ । कुनै एक उपाय छिटो अपनाए मुटुका मांसपेशी बढी जोगाउन सकिन्छ । इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशतसम्म तथा एन्जियोप्लास्टीको माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।

स्वस्थ व्यक्ति र हृदयाघात

उच्च रक्तचाप, सुगर, उच्च कोलेस्टेरोल भएका व्यक्तिहरू, चुरोट पिउने, शारीरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिहरू हृदयाघातको उच्च जोखिममा पर्छन् । तर, यी सबै समस्या नभएका तथा शारीरिक रूपले स्वस्थ रहेका व्यक्तिलाई भने हृदयाघात नै हुँदैन भन्ने होइन । परिवार वा नजिकको नातामा कसैलाई हृदयाघात भएको थियो भने वंशजलाई पनि हृदयाघात हुने सम्भावना बढी रहन्छ ।

हृदयाघात र उपचार

हृदयाघात भएर उपचारपछि मान्छेहरू सामान्य भएको ठानेर घर जान बल गर्छन् । तर, २४ देखि ७२ घन्टासम्म अस्पतालमै रहनु आवश्यक हुन्छ । यो अवधिमा रक्त सञ्चालन, मुटुको चाल, रक्तचाप आदि कुराहरू तलमाथि भइरहन सक्छ । यस्तो अवस्थामा समस्याअनुसार तत्कालै उपचार नगरेमा बिरामीको मृत्यु पनि हुन सक्छ । त्यसैले आराम र रेखदेख आवश्यक पर्छ । हृदयाघातपछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हु“दा बिरामीलाई पूर्ण आरामको अवस्थामा राखिन्छ ।

उमेर र हृदयाघात

केही वर्षअगाडिसम्म हृदयाघातलाई ६० वर्षमाथिको उमेरकालाई मात्रै हुने समस्याका रूपमा लिइन्थ्यो । तर, हाल आएर ४० वर्षभन्दामुनिका व्यक्तिहरूमा पनि यो समस्या देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सुर्तीजन्य वस्तुको नियमित सेवन गर्ने व्यक्तिहरू, उच्च रक्तचाप, सुगर तथा कोलेस्ट्रोलको समयमै उपचार नगर्नु, नियमित मानसिक

तनावमा रहनु र वशांणुगत

कारणले पनि सानो उमेरमा हृदयाघात हुन सक्छ । यस्ता कुरालाई समयमै ध्यान पुर्‍याउन सके हृदयाघातको खतराबाट मुक्त रहन सकिन्छ ।

हृदयाघात र छाती दुखाइ

हृदयाघातको मुख्य लक्षण छाती दुखाइ भए पनि कुनै–कुनै समयमा छाती नदुखी सास फेर्न गाह्रो हुने मात्रै पनि हुन सक्छ । सास फेर्न गाह्रो हुनुका साथै बिरामीलाई छटपटी हुने, चिटचिट पसिना आउने, ढुकढुकी बढ्ने आदि पनि हुन सक्छ । कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाइ लिएर आएको बिरामीमा ग्यास्ट्रिक भन्दै उपचार गरेका तर पछि हृदयाघात नै भइसकेको पनि भेटिएको छ । त्यसैले जोखिममा रहेका व्यक्तिले ग्यास्ट्रिक हो भनेर लापरबाही गर्नुहुँदैन ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप