बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आत्महत्या गर्न चाहेको मान्छेले के-के गर्छ ?

मङ्गलबार, ०४ माघ २०७३, १४ : ३१
मङ्गलबार, ०४ माघ २०७३
डा. नरेन्द्रसिंह ठगुन्ना अध्यक्ष, मनोविज्ञान सम्प्रदाय नेपाल  कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नु आत्महत्या हो । अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ । विश्वमा प्रत्येक तीन सेकेन्डमा एकजनाले आत्महत्याको प्रयास तथा वर्षभरिमा आठ लाख व्यक्तिले आत्महत्या गर्ने तथ्यांक छ । नेपाल दक्षिण एसियामा श्रीलंकापछि दोस्रो बढी आत्महत्या हुने देश हो । नेपालमा दैनिक करिब १५ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । विकसित देशमा महिलाको तुलनामा तीनगुना बढी पुरुषले आत्महत्या गर्ने गरेको पाइन्छ । तर, नेपालमा भने पुरुषभन्दा बढी महिलाले आत्महत्याबाट ज्यान गुमाउने गरेको तथ्यांक छ । आत्महत्याका कारण आत्महत्या हुने धेरै कारणमध्ये ८० देखि ९० प्रतिशत मानसिक समस्या हुने गरेको पाइन्छ । त्यसमा पनि उदासीनता प्रमुख हो । रिस थाम्न नसकेर पनि आत्महत्या गरेको धेरै उदाहरण छन् । उदासीनताका कारण कुनै कुरामा पनि चाख नलिने, बोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, प्रेम गर्न आदिमा मतलब नगर्ने । यस्तो समस्या बल्झिँदै गएपछि बाँच्न पनि इच्छा नगर्ने तथा मर्न पाए हुन्थ्यो भन्ने विचार आउन थाल्छ । सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, सहन नसक्ने घटना, निको नहुने दीर्घरोग आदिका कारण पनि यस्तो विचार आउन सक्छ । रक्सीको लतमा मस्त हुँदा, इज्जत लुटिँदा, अपमानित हुनुपर्दा, आर्थिक नोक्सानी, प्रेममा असफल हुँदा यस्तो विचार आउन सक्छ । आत्महत्याको जोखिममा रहेकाको पहिचान आत्महत्याको विचार बारम्बार मनमा आउने, योजना बनाउने, साधनको बारेमा निश्चित गरेका व्यक्ति बढी जोखिममा हुन्छन् । कुनै निराश मानिसले विष, हातहतियार वा डोरी किनेर ल्याएमा सजग हुनुपर्छ । व्यक्तिले आफ्ना महत्वपूर्ण सामग्रीहरू अरूलाई दिन वा बाँड्न थाल्यो भने शंका गर्नुपर्छ । ठूलो आर्थिक संकटमा परेका, जागिर गएको वा ठूलै झगडा परेका मानिस टोलाएर बस्ने, केही काम गर्न नखोज्ने, घुलमिल नहुने आदि भएमा शंका गर्न सकिन्छ । एकपटक प्रयास गरेका व्यक्तिले फेरि आत्महत्याको प्रयास गर्ने सम्भावना रहन्छ । आत्महत्याबाट कसरी जोगाउने ? मानसिक र सामाजिक स्वास्थ्यमा ध्यान दिने । व्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरूबाट प्रोत्साहन, हौसला, प्रदान गर्ने । बिरामीका कुरा पूर्ण रूपमा सुनेर भावना व्यक्त गर्न प्रोत्साहित गर्ने । बिरामीसँग विश्वासिलो सम्बन्ध बनाउन र उसका जानकारीहरू गोप्य राख्ने । सम्भव भएमा एक्लै भेटेर कुरा गर्ने । आत्महत्या गर्न प्रयोग हुने साधनहरू बिरामीबाट टाढा राख्ने व्यवस्था गर्ने । भविष्यप्रति आशा जगाउने । परिवारका सदस्यहरूसँग यसबारेमा आवश्यक छलफल गर्ने । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप