शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

शरीर र मनलाई सुन्दर बनाउन यो आसन

आइतबार, ०८ फागुन २०७३, १२ : ५५
आइतबार, ०८ फागुन २०७३
योगी पूर्ण श्रेष्ठ महामृत्युञ्जय योग केन्द्र, गौशाला स्थूल शरीरका सबै प्रकारका प्रणालीको तन्दुरुस्ती कायम राख्नुलाई योगमा स्वस्थ भनिन्छ । त्यसका लागि सर्वाङ्गासन उपयुक्त विधि हो । मस्तिष्क, पिनियल, पिट्युटरी, थाइराइड, पारा थाइराइड र थाइमसजस्ता सबै ग्रन्थीहरूको हर्मोन्स, नम्स सिस्टम तथा सम्पूर्ण शरीर सञ्चालक ज्ञानेन्द्रियसँग आन्तरिक सम्बन्ध हुने भएकाले यो निकै महत्वपूर्ण मानिएको हो ।  यो आसनले शरीर तथा मनलाई पनि स्वस्थ सुन्दर र शान्त बनाउन सक्छ । आजभोलि ससाना बच्चादेखि युवाहरूमा पनि सुस्तमनस्थितिदेखि आँखा, नाक, घाटीलगायतका अंगहरूले सही तरिकाले काम गर्न सकेको देखिँदैन । त्यस्तै, कतिपय महिला गर्भाशय विकृत हुने र आङ खस्ने, पुरुषमा प्रोस्टेट ग्ल्यान्ड तथा ज्येष्ठ नागरिकमा अल्जाइमरजस्ता समस्याले पीडित भएको पाइन्छ । ग्यास्ट्रिक र कब्जियतको समस्या त व्यापक नै छ । यदि सानैबाट सर्वाङ्गासन गराउन सकेमा माथि उल्लेख गरिएका समस्याबाट धेरैलाई मुक्त गर्न सकिन्छ । यस आसनमा टाउको तल र खुटा माथि गराइन्छ । जसका कारण शिरका अंगहरूमा अक्सिजन र रगत परिचालन भई सबै हर्मोन्सलगायत सिस्टमलाई नै शक्तिशाली बनाउँछ । साथै नाभीभन्दा तलका सबै अंग माथि हुने भएकाले मुटुको सक्रियताविना नै सबै फोहोर तथा विजातीय तत्वहरू निष्कासन हुन सजिलो हुन्छ ।

विधिः

उत्तानो परेर सीधा सुत्ने, विस्तारै दुवै हातको बलले दुवै खुट्टालाई माथि दबाएर दुवै हत्केलाले कम्मरमा बलियोसँग टेका दिने । कुम तथा गर्धनको सहाराले दुवै खुटालाई जति सकिन्छ सीधा बनाउने । त्यसपछि श्वासलाई सामान्य वा सहज बनाउने । यो आसन गर्न नसक्नेहरूले भित्तामा दुवै खुटालाई जति सकिन्छ माथि लैजान कोसिस गर्ने । वा, भुइँमा  सुतेर पलङमा अग्लो बनाएर दुवै खुटालाई राख्दा पनि हुन्छ । यस वैकल्पिक उपायबाट सर्वाङ्गासन गर्दा पनि राम्रो लाभ प्रप्त हुन सक्छ ।

लाभः

प्रारम्भिक अवस्थाको रुघाखोकी, माइग्रेन, पिनास, साइनस, मस्तिष्कका विभिन्न समस्या अल्जाइमर, डिप्रेसन, सुस्तमनस्थितिजस्ता समस्यामा सुधार आउँछ । त्यस्तै नाक, कान, घाटी तथा कुनै पनि हर्मोन्सको समस्या, रक्तप्रणाली, श्वास प्रणाली, पाचन प्रणालीमा समेत सुधार ल्याउँछ । ग्यास्ट्रिक, एसिडिटी, कब्जियतमा लाभ प्राप्त हुनुका साथै महिलाको महिनावारी समस्यामा पनि सुधार गर्न सहयोग गर्दछ । कतिपय बाथका समस्या, पैतला पोल्ने, दुख्ने, सुन्निने, जोर्नी दुख्ने समस्यामा पनि फाइदा हुन्छ । विद्यार्थीले यो अभ्यास नियमित गरेमा मेधाशक्ति, प्रज्ञाशक्ति, ज्ञानशक्ति, प्रतिभाशक्ति, स्मरणशक्तिको विकास गर्न सक्छन् । साथै प्रतिरोधात्मक शक्ति, अनुहारमा चमक, तेज, आभाशक्तिको विकास गरी सौन्दर्य प्राप्त गर्न सकिन्छ ।

सावधानः

महिनावारीको समयमा तथा हाई ब्लड प्रेसर र नसा चेपिएको वा हाड खिइएको अवस्थामा यो आसन हानिकारक हुन सक्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप