शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा स्थानीय निर्वाचनको चहलपहल बढ्यो

बुधबार, १८ फागुन २०७३, ११ : २७
बुधबार, १८ फागुन २०७३

मोरङ - मोरङ जिल्लामा पनि स्थानीय निकाय निर्वाचनको चहलपहल बढेको र आम नागरिकमा उत्साह बढेको पाइएको छ । २० वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीयवासी निक्कै उत्साहित छन् ।

विराटनगर–४ का ६७ वर्षीय खगेश्वर तिमल्सिनाले भोजपुरको भुल्केमा २० वर्षपहिले भोट हालेका थिए । भोट हाल्न नपाएको धेरै भए पनि सबैलाई मिलाउनुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, “स्थानीय निकायको चुनावले हामीलाई निक्कै उत्साहित बनाएको छ ।” गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस सबै क्षेत्रमा छ । स्थानीय निर्वाचनले जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।

त्यसैका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने नेपाली काँग्रेस नगर सभापति भीम पराजुलीको भनाइ छ । स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको उनी बताउँछन् । काँग्रेसमा मात्र हैन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा पनि स्थानीय तहको निर्वाचन घोषणाले कार्यकर्तामा चहलपहल बढाएको छ ।

स्थानीय तहको निर्वाचन अपरिहार्य रहेका कारण पनि सबैमा खुसीको सञ्चार भएको एमालेको तर्क छ । स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँगाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेको बताउनुहुन्छ, एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी । उनले भने, “एमाले चुनावी अभियानमा लागिसकेको छ ।”

स्थानीय तहको निर्वाचनले नयाँ नेतृत्व र विकासका लागि जनप्रतिनिधिको ढोका खुलेको माओवादी केन्द्र, मोरङका उपाध्यक्ष भोगेन्द्र यादवको भनाइ छ । उनले भने, “अबको विकल्प स्थानीय चुनाउ नै हो ।”

निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको मात्र छैन स्थानीय तहको सेवासुविधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा नागरिकमा छ । विराटनगर–१ का स्थानीय कविराज निरौला स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने तर्क गर्छन् ।

मधेस केन्द्रित दलको असन्तुष्टि र पुनःसंरचनाको सवालले निर्वाचनमा चुनौती थपिए पनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको मधेसमा केन्द्रित नागरिकको नै बुझाइ छ ।

मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित नगरपालिका, बेलबारी, लेटाङ, पथरी–शनिश्चरे, रङ्गेली, रतुवामाई, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैचा र आठ गाउँपालिका बूढीगङ्गा, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केराबारी र मिक्लाजुङ गरी १७ स्थानीय तहमा निर्वाचन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप