बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

सोमबार, ०१ जेठ २०७४, १३ : २१
सोमबार, ०१ जेठ २०७४

श्रीलङ्का, जेठ १– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन् । श्रीलङ्काको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी आवासमा चियापान आयोजना गर्नुभएको समारोहमा राष्ट्रपति श्रीसेनाले सो वचन दिएका हुन् ।

यसअघि राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति श्रीसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अझ व्यापक र प्रगाढ बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा राष्ट्रपति भण्डारीले दुवै देशमा दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपति श्रीसेनालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।

समारोहमा श्रीलङ्काका न्याय तथा बुद्ध शासनमन्त्री डा विजेयादास राजपक्ष, साना उद्योगमन्त्री दया गामागे र वैदेशिक रोजगारमन्त्री तालता अतुकोरल, उपविदेशमन्त्री डा हर्ष डेसिल्भा र केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेलगायत उच्चपदस्थ सरकारी अधिकारीको सहभागिता थियो ।

त्यस्तै सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायत भ्रमण टोलीका सदस्यको सहभागिता थियो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रीय प्रान्तका मुख्यमन्त्री सारथा एकनायकेले उपहारस्वरुप चाँदीका कलात्मक सामग्री प्रदान गरे । त्यसपछि राष्ट्रपति भण्डारी क्यान्डीबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट कोलम्बो आइपुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप