शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकमा राइजिङ सुदूरपश्चिम बनाउने संकल्प

सोमबार, १८ पुस २०७९, १४ : ३३
सोमबार, १८ पुस २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले प्रदेशलाई सुन्दर र सम्पन्न बनाउन राइजिङ सुदूरपश्चिम बनाउन संकल्प लिनुपर्नेमा जोड दिएका छन् । सभाको जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुले सो प्रदेशको लागि संकल्प र प्रतिपद्धता जनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भटट्ले प्रदेशको समग्र विकासको लागि सबै प्रदेशसभाहरु एक ढिक्का भएर बढ्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भटट्ले प्रदेशलाई राइजिङ प्रदेशको रुपमा विकास गर्न संकल्प लिनुपर्ने बताए । उनले भने, ‘राइजिङ सुदूरपश्चिम बनाउने अभिभारा हाम्रो हो । राष्ट्रकै गौरवशाली प्रदेश तथा एक नम्बरको प्रदेश बनाउने जिम्मेवारी हाम्रो हो । अबको पाँच वर्ष जनताको गाली सुन्न नपाउने गरी काम गर्नुपर्ने छ । त्यसको लागि सदनले भूमिका खेल्नुपर्दछ ।’

नेकपा एमालेका संसदीय दलको नेता राजेन्द्रसिंह रावलले पनि प्रदेशको विकासको लागि सबैले प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘पर्देशको विकासको लागि दीर्घकालीन योजना जानुपर्ने आवश्यक छ । विकासका प्राथमिकताहरु निर्धारण गर्न जरुरी छ । जनताका सहमतिमा आउनुस् हामी आज प्रण गरौं, हामी जनताको सेवक र नोकर बन्न तयार हौ । नयाँ सुदूरपश्चिम बनाउन सम्भव छ । विकासमा जनसहभागिता बढाऔं ।’

बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी, एकीकृत समाजवादीका संसदीय दलको नेता दीर्घबहादुर सोडारी, स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी लगायतले बैठकलाई सम्बोधन गरेका थिए ।  बैठकमा बोल्ने क्रम जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप