बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सन् २०२३ मा किम जोङ उनका ‘ती’ योजना जसका कारण मुश्किलमा छ विश्व

बुधबार, २० पुस २०७९, ११ : ३४
बुधबार, २० पुस २०७९

सन् २०२२ मा उत्तर कोरियाले कीर्तिमानी संख्यामा मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले गत वर्ष मात्रै यति धेरै क्षेप्यास्त्र प्रहार गरेको थियो जति एक वर्षमा पहिले कहिल्यै गरेको थिएन ।

चाखलाग्दो कुरा के छ भने उत्तर कोरियाले हालसम्म प्रहार गरेका क्षेप्यास्त्रमध्ये एक चौथाइ सन् २०२२ मा मात्रै प्रक्षेपण भएको छ ।

सोही वर्ष देशका नेता किम जोङ उनले उत्तर कोरिया आणविक शक्ति राष्ट्र बनेको र उसको हतियार अब बनिरहने घोषणा गरेका थिए ।

सन् २०१७ देखि कोरियाली प्रायद्वीपमा तनाव उत्कर्षमा छ ।

सोही वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ‘पूर्ण शक्तिका साथ कारवाही गर्ने चेतावनी’ दिएका थिए । यस्तो अवस्थामा कोरियाली प्रायद्वीपको भविष्य के होला ?

north korea1आणविक हतियारको विकास

सन् २०२२ मा उत्तर कोरियाले आफ्नो हतियारको हिसाबले उल्लेखनीय प्रगति गरेको छ ।

दक्षिण कोरियालाई ध्यानमा राखेर डिजाइन गरिएको छोटो दुरीका क्षेप्यास्त्र परीक्षणबाट यसको सुरुवात भएको हो ।

यसपछि जापानलाई लक्षित गर्न सक्ने मध्यम दूरीका मिसाइलहरूको पालो आयो ।

यस वर्षको अन्त्यमा, उत्तर कोरियाले अहिलेसम्मको सबैभन्दा शक्तिशाली इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसीबीएम) को सफल परीक्षण गर्‌यो ।

‘ह्वासङ्ग १७’ नामको यो ब्यालेस्टिक मिसाइल बारे जानकारी दिँदै यसले अमेरिकाको कुनै पनि स्थानलाई लक्ष्य बनाउन सक्ने बताइएको छ ।

north korea2किम जोङ उनको आणविक नीति

किम जोङ उनले आणविक हतियारको प्रयोगका सम्बन्धमा पनि आफ्नो नीति परिवर्तन गरेका छन् ।

सेप्टेम्बरमा किम जोङ उनले उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र घोषणा गर्दै अब यो अवस्था बदल्न नसकिने बताए ।

त्यसपछि उनले यी हतियार युद्ध रोक्न नभई आक्रमण गरेर युद्ध जित्न पनि प्रयोग गर्न सकिने बताए ।

वर्षको अन्त्यमा उनले सत्तारुढ दलका कार्यकर्तालाई सम्बोधन गर्दै सन् २०२३ का लागि आफ्नो लक्ष्य राखे ।

उनको प्राथमिकता सूचीमा आणविक हतियारको उत्पादनमा व्यापक स्तरमा वृद्धिको योजना समावेश छ ।

north korea3सामरिक आणविक हतियार

किम जोङ उनले यसमा साना र रणनीतिक आणविक हतियारको ठूलो उत्पादन समावेश हुने जुन दक्षिण कोरियाविरुद्धको लडाईंमा प्रयोग गर्न सकिने बताएका छन् ।

थिङ्कट्याङ्क ‘कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पीस’ मा परमाणु हतियारका विशेषज्ञ अंकित पान्डाको धारणामा उत्तर कोरियाको यो अडानमा ठूलो परिवर्तन हो ।

रणनीतिक आणविक हतियार बनाउन, उत्तर कोरियाले पहिले सानो आणविक बम बनाउनु पर्छ जुन साना मिसाइलमा फिट गर्न सकिन्छ ।

उत्तर कोरियासँग यो क्षमता छ कि छैन भन्ने कुरा विश्वसामु प्रमाणित हुन बाँकी छ ।

उत्तर कोरियाले यस्तो परीक्षण गर्छ भनेर विश्वभरका गुप्तचर समुदायले गत वर्ष पर्खिरहेका थिए तर कुनै खबर आएन अब सबैको नजर सन् २०२३ मा हुनेछ ।

north korea4नयाँ वर्षका लागि किमको सूची

किम जोङ उनका लागि नयाँ वर्षको सूचीमा समावेश गरिएका चीजहरूमध्ये एक जासूसी उपग्रह पनि समावेश छ ।

उनले यो वसन्तमा उत्तर कोरियाले आफ्नो जासुसी उपग्रहलाई अन्तरिक्षको कक्षमा राख्ने दाबी गरेका छन् ।

यो सूचीमा ठोस ईन्धनले सुसज्जित पहिलेदेखिकै अत्यधिक शक्तिशाली आइसीबीएम पनि समावेश छन् जसले अमेरिकालाई लक्षित गर्न सक्छ ।

यो उत्तर कोरियाको वर्तमान आइसीबीएमभन्दा धेरै शक्तिशाली हुने दाबी गरिएको छ ।

यस्तो अवस्थामा यो वर्ष पनि गत वर्ष जस्तै हुने अनुमान गर्न सकिन्छ । संयुक्त राष्ट्र संघको प्रतिबन्धको बाबजुद उत्तर कोरियाको परीक्षण र आफ्नो आणविक भण्डारको विस्तार आक्रामक रूपमा जारी रहनेछ ।

अमेरिकासँग वार्ताको सम्भावना

नयाँ वर्षमा प्रवेश गरेको तीन घण्टाभित्रै उत्तर कोरियाले आफ्नो पहिलो मिसाइल परीक्षण गरेको छ ।

तर अंकित पाण्डा भन्छन्, ‘आगामी वर्षमा प्रक्षेपण हुने क्षेप्यास्त्र सबै परीक्षण नै हुन्छ भन्ने छैन ।’

‘यो पनि उत्तर कोरियाको सैन्य अभ्यासको हिस्सा हुन सक्छ किनकि उसले अब सम्भावित युद्धमा आफ्नो मिसाइलहरू प्रयोग गर्ने तयारी गरिरहेको छ ।’

नयाँ वर्षमा उत्तर कोरियाको लामो प्राथमिकताको सूचीलाई हेर्दा यो वर्ष किम जोङ र अमेरिकाबीच कुनै वार्ता हुने सम्भावना कम छ ।

सन् २०१९ मा दुई देशबीच अन्तिम पटक आणविक निशस्त्रीकरणका विषयमा छलफल भएको थियो, जुन निष्कर्षविहीन रह्यो । त्यसयता किमले वार्तामा कुनै चासो देखाएका छैनन् ।

north korea5किम जोङ उनका विकल्प

किम जोङ उनसँग उपलब्ध विकल्पको विषयमा पनि एउटा विचार यो छ कि उनी यो घडीको प्रतीक्षा गरिरहेका छन् जब परिस्थिति पूर्ण रुपमा उनको अनुकुल हुनेछ ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई ठूलो नोक्सान पु¥याउने क्षमता हासिल गरेको छ, त्यसपछि किमले आफ्नै शर्तमा वार्ता गर्न सक्छन् भन्ने कुरा अहिलेसम्म पूर्ण रूपमा प्रमाणित भएको छैन ।

हो, यसबीचमा उत्तर कोरिया चीन र रुससँग नजिक भएको पक्कै पनि हो ।

दुई दशकसम्म अमेरिकी सरकारका लागि उत्तर कोरिया विशेषज्ञका रूपमा काम गरिरहेकी रचेल मिनयोङ लीले उत्तर कोरियाले आफ्नो विदेश नीतिमा मौलिक परिवर्तन गर्ने प्रक्रियामा रहेको बताइन् ।

कोरियाली प्रायद्वीपमा अशान्ति

यसैबीच, कोरियाली प्रायद्वीप अस्थिरतातर्फ अघि बढिरहेको छ । उत्तर कोरियाको हरेक उक्साहटमा कहिले दक्षिण कोरिया र कहिले अमेरिकाले विरोध गर्दै जवाफ दिन्छ ।

यो सन् २०२२ को मे महिनामा दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको आगमनसँगै सुरु भएको हो । उनले उत्तर कोरियामाथि कडाइ गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति युन सुक–योलले उत्तर कोरियालाई रोक्ने सबैभन्दा राम्रो उपाय सैन्य शक्तिको माध्यमबाट हुने विश्वास व्यक्त गरेका छन् । उसले यसैको माध्यमबाट जवाफ दिनुपर्ने हुन्छ ।

उसले अमेरिकासँग ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु गरेको छ, जसको उत्तर कोरियाले विरोध गरेको छ र प्रतिक्रियामा थप मिसाइलहरू प्रहार गरिएका छन् ।

जस्तालाई तस्तै सैन्य प्रतिक्रियाको यो चक्रमा दुवै पक्ष समावेश छन् र उनीहरु एक अर्काको सीमा नजिकै युद्धविमान उडाउँछन् र समुद्रमा मिसाइल प्रहार गर्छन् ।

गत हप्ता उत्तर कोरियाले अप्रत्याशित रूपमा दक्षिण कोरियाको आकाशमा पाँच ड्रोन उडाएपछि स्थिति तनावग्रस्त भयो । उनीहरुलाई खसाल्न दक्षिण कोरिया सफल हुन सकेन ।

यो घटनाले दक्षिण कोरियाको कमजोर पक्षलाई उजागर गरिदिएपछि त्यहाँका नागरिकमा चिन्ता बढेको छ । उत्तर कोरियाको घटनाबाट यहाँका नागरिक यसै पनि हैरान रहन्छन् ।

राष्ट्रपतिले उत्तर कोरियालाई कुनै पनि उक्साहट गरेमा आफ्नो देशले जवाफ दिने र कारबाही गर्ने वाचा गरेका छन् ।

उत्तर कोरियाको अनुगमन गर्ने विश्लेषण सेवा कोरिया जोखिम समूहका सीईओ चाड ओ क्यारोलले उत्तर कोरिया र दक्षिण कोरियाबीचको प्रत्यक्ष टकरावले २०२३ मा हताहत हुन सक्छ भन्दै भविष्यवाणी गरेका छन् ।

उनले उत्तर वा दक्षिण कोरियाबीचको उक्साहटले युद्धको विन्दुमा पुग्न सक्ने बताए ।

थोरै गल्ती र गलत आँकलनका कारण दुई देशबीचको स्थिति बिग्रन सक्छ ।

north korea6उत्तर कोरिया भित्र के चलिरहेको छ ?

उत्तर कोरियाका जनताका लागि २०२३ को महत्व के हो ?

कोरोना महामारीका कारण तीन वर्षदेखि देशका सीमा नाका बन्द छन् । कोरोना भाइरसलाई देश बाहिर राख्ने प्रयासमा उत्तर कोरियाले पनि व्यापार बन्द गरेको थियो ।

यो कदमपछि उत्तर कोरियामा खाद्यान्न र औषधिको चर्को अभाव भएको मानवीय संस्थाहरूले विश्वास गरेका छन् । गत वर्ष, किमले देशमा खाद्य संकटलाई स्वीकार गरे जुन आफैमा ठूलो स्वीकारोक्ति थियो ।

मे २०२२ मा, उत्तर कोरियाले भाइरसबाट भएको पहिलो क्षतिलाई स्वीकार गर्‍यो तर केही महिनापछि यसलाई उन्मूलन गरेको दाबी गर्‍यो ।

त्यसोभए के उत्तर कोरियाले २०२३ मा चीनसँगको आफ्नो सिमाना खोल्छ ? के उसले मानिसहरू र आपूर्तिलाई पुनः सुरु गर्नेछ ?

चीनले नाका खोलेको छ, जसले आशा जगाएको छ । उत्तर कोरियाले सीमामा बसोबास गर्ने मानिसहरूलाई तयारीको रूपमा कोभिड भ्याक्सिन लगाइदिइरहेको बताइएको छ, तर उत्तर कोरियाको कमजोर स्वास्थ्य प्रणालीलाई ध्यानमा राख्दै ली सतर्क छन् ।

उनी भन्छिन्, ‘आपतकालिन अवस्था बाहेक, उनीहरूको अर्थतन्त्र ध्वस्त हुने स्थितिमा छ । उत्तर कोरियाले आफ्नो सिमाना पूर्ण रूपमा खोल्ने सम्भावना कम छ । जबसम्म विश्वव्यापी रूपमा, वा विशेष गरी छिमेकी चीनमा कोरोना नियन्त्रणमा आउने छैन ।’

किमपछि उत्तर कोरियाको नेतृत्व कसले गर्ने ? यो जान्नको लागि, यो घटनाबाट अनुमान गर्न सकिन्छ ।

उनको स्थान कसले लिनेछ, यो योजना बारे हाल कसैलाई थाहा छैन, तर गत वर्ष, किमले पहिलो पटक सार्वजनिक रूपमा आफ्ना बच्चाहरू मध्ये एकलाई सार्वजनिक गरे । ती बालिका उनकी छोरी किम चु–एई भएको विश्वास गरिन्छ ।

उनकी कथित छोरी अहिलेसम्म तीनवटा सैन्य कार्यक्रममा देखिएकी छिन् । नयाँ वर्षको दिनमा उनकी छोरीको धेरै तस्बिर सार्वजनिक गरिएको थियो । यसबाट उनी अबको नेता चुनिएकी हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

विगतका वर्षहरू जस्तै सन् २०२३ उत्तर कोरियाका लागि अप्रत्याशित र अस्थिर देखिन्छ ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप