बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार गठनको पहल गरिरहेका छौं : नेता लामा

बिहीबार, २१ पुस २०७९, १८ : ५२
बिहीबार, २१ पुस २०७९

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावनाहरू बाँकी रहेकाले त्यसका लागि पहल गर्ने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा नेता लामाले प्रदेशको ठ्लो दलको हैसियतले सरकार गठनको लागि अन्तिम समयसम्म  पहल गर्ने बताएका हुन् ।

उनले केन्द्रमा समीकरण फेरिए पनि प्रदेशमा सोही समीकरणको आधारमा सरकार गठन सहज नरहेको भन्दै कांग्रेसले आफ्नो तर्फबाट पहल गर्ने बताए । कांग्रेसले सरकार गठनका लागि सबै मार्गहरू खुल्ला राखेको उनको भनाई छ ।

‘सरकार गठनको सम्भावनाहरू अझै बाँकी रहेको छ । हामी संसद्को सबैभन्दा ठुलो दल भएको हैसियत त्यसका लागि पहल गर्छांै,’ उनले भने, ‘कांग्रेसले सरकार गठनका लागि सबै मार्गहरू खुल्ला गरेर छलफलका लागि तयारी अवस्थामा रहेको छ ।’

नेता लामाका अनुसार बागमती प्रदेशमा कुनैपनि दलको बहुमत नआएको अवस्थामा गठबन्धन गरेर सरकार बनाउनु पर्ने परिस्थिति रहेको र त्यसका लागि कांग्रेससँगको गठबन्धन सहज हुने बताए ।

‘कांग्रेससँग गठबन्धनको अंकगणितमा सहजै सरकार बन्न सक्छ । यस प्रदेशमा माओवादी केन्द्र र कांग्रेस वा कांग्रेस र एमालेको गठबन्धनमा सहजै सरकार बन्न सक्छ भने कांग्रेस, राप्रपा र अन्य साना दलहरूसँगको गठबन्धनमा पनि सरकार गठन हुनसक्छ । त्यसैले हामी सरकार गठनको प्रयासमा छौं,’ उनले भने ।

अन्य दलहरूलाई सरकार गठनमा त्यति सहज अवस्था नरहेको उनले बताए । अन्य दलहरूलाई सरकार गठनका लागि न्यूनतम पनि ३ वटा दलहरूको गठबन्धन गर्नुपर्ने भएकाले सरकार परिस्थिति सहज नरहेको उनको भनाई छ ।

बागमती प्रदेशमा सरकार गठनको विषयमा अन्य दलहरूसँग छलफल भइरहेको र दलहरूसँग सहमति बनेको खण्डामा सरकार गठनका लागि आह्वान भएको समय अवधि भित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गरिने उनले बताए ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएको कांग्रेसले केही समय अघि केन्द्रीय स्तरमा सत्ता समीकरण फेरिएर नयाँ गठबन्धन बनेसँगै सरकारको नेतृत्वको सम्भावना न्यून बनेको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले सरकार गठनका लागि पुस २५ गते दिउँसो ४ बजेभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप