मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अफगान मिसन थप एक वर्षका लागि नवीकरण

मङ्गलबार, ०२ असार २०८३, ०१ : ३२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अफगानिस्तान मिसनको म्याद एक वर्ष थप्यो।
  • युनामा मिसन २०२७ जुन १७ सम्मका लागि नवीकरण भएको छ।
  • रणनीतिक समीक्षापछि परिषद्मा प्रतिवेदन बुझाउनुपर्नेछ।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सोमबार अफगानिस्तानमा सङ्घको युनामा मिशन नवीकरणको लागि सर्वसम्मतिले मतदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानका लागि (युनामा) लाई एक वर्षका लागि बढाएर सन् २०२७ को जुन १७ सम्म पुर्‍याइएको छ ।

संयुक्त राष्ट्रसङ्घले लामो समय विस्तार गर्नु अघि मिशनको व्यापक समीक्षा गर्न आवश्यक भएको तर्क गर्दै मार्चमा अमेरिकाको आदेशमा मिसनको अवधि केवल तीन महिनाको लागि विस्तार गरिएको थियो ।

सोमबार पारित गरिएको प्रस्तावमा ‘युनामाको रणनीतिक समीक्षा र सन् २०२७ मार्च ३१ सम्म परिषद्मा परिणामहरूको लिखित रिपोर्ट’ आउनु आवश्यक भएको बताइएको छ ।

“एक सुव्यवस्थित, उद्देश्यका लागि उपयुक्त यनामा जनादेश आवश्यक छ । हामी यस प्रस्तावमा अनुरोध गरिएको मिसनको रणनीतिक समीक्षाको लागि तत्पर छौँ,” बैठकमा अमेरिकी प्रतिनिधिले भनिन् ।

युनामा मिसन सन् २००२ देखि सुरु भएको हो र सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि यसले मानवीय सहायता र राजनीतिक संवादको समन्वयका साथै मानव अधिकारको अनुगमन गर्न भूमिका खेलिरहेको छ ।

सोमबार पारित गरिएको प्रस्तावले ‘मानव अधिकार र मौलिक स्वतन्त्रता, विशेष गरी महिला र बालिकाहरूको लागि सम्मानको बढ्दो र व्यापक ह्रासको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

प्रस्ताव पेस गर्ने चीनका लागि संयुक्त राष्ट्रसङ्घका राजदूत फु कोङले भने, “यो प्रस्तावले युनामाको कामप्रति दृढ समर्थन प्रदर्शन गर्दछ, प्रस्तावले अन्तर्राष्ट्रिय सहयोगको समन्वयसहित युनामाको मुख्य जनादेशलाई कायम राख्छ र बलियो बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप