शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : सरकार गठनका लागि दलहरूले दिए छलफलमा तीव्रता

शुक्रबार, २२ पुस २०७९, १९ : ०४
शुक्रबार, २२ पुस २०७९

मकवानपुर । बागमती प्रदेश सरकार गठनका लागि दलहरूले छलफलमा तीव्रता दिएका छन् । प्रदेश सरकारको नेतृत्वको लागि विभिन्न विकल्पसहित दलहरु छलफलमा जुटेका हुन् । 

केन्द्रीय स्तरमा बनेको सत्ता गठबन्धनका दलहरू सोही अनुसार सरकार गठनका लागि सक्रिय देखिएका छन्, भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी फरक समीकरणबाट सत्तारोहणको प्रयासमा रहेका छन् ।

बागमती प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार गठन गर्ने पक्षमा देखिएका छन् ।  गठबन्धन दलका नेताहरू सरकार केन्द्रको समीकरण भन्दा फरक समीकरणको सम्भावना नरहेको बताउँछन् । सत्ता गठबन्धनबाट अलग भएर सरकार गठन गर्ने पक्षमा नरहेको उनीहरूको भनाई छ ।

राप्रपाका महामन्त्री एवम् बागमती प्रदेशसभा सदस्य भुवन पाठकले प्रदेश सरकार गठनका विषयमा राप्रपा केन्द्रको समीकरण नै अडिग रहने बताए । सरकारको नेतृत्वको विषयमा केन्द्रमा छलफल जारी रहेकाले सोही अनुसार आ–आफ्नो भूमिकामा दलहरू रहेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । राप्रपा फरक समीकरणमा लाग्न नहुने र सत्ता गठबन्धनको विकल्प नरहेको उनको भनाई छ ।

‘सरकार गठनबारे सत्ता गठबन्धन दलहरुबीच छलफल भइरहेका छन् । केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बन्छ,’ उनले भने, ‘राप्रपा फरक समीकरणको पछि जाँदैन । सत्ता गठबन्धनबाट सरकार बनाउनु पर्छ । सोही अनुसार केन्द्र र प्रदेशस्तरमा छलफलहरू भएका छन् ।’ उनले सरकार गठनका विषयमा फरक समीकरण निर्माणका लागि प्रस्ताव आएको बताए । फरक समीकरणको प्रस्ताव आएपनि राप्रपाले केन्द्रको समीकरणको विकल्प सोच्न नहुने उनको भनाई छ ।

‘सरकार गठनका विषयमा फरक गठबन्धन बनाउन प्रस्तावहरू आएपनि त्यस विकल्पमा राप्रपा जानु हुँदैन । केन्द्रले दलीय भागबण्डा अनुसार सरकारको नेतृत्व टुंग्यर पठाउने भएकाले सो निर्णयलाई मानेर अघि बढ्नुपर्छ,’ उनले भने । राप्रपाले सरकारको नेतृत्वमा दाबी राखेर छलफल गरिरहेको र सहमति हुँदा बागमती प्रदेश सरकार आफ्नो भागमा नपरेको पनि सत्ता गठबन्धन टुट्न दिन नहुने उनले बताए ।

यता सामाजिक विकास मन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तान पनि केन्द्रको समीकरण अनुसार नै सरकार गठन हुने दाबी गर्छिन् । उनले केन्द्रको समीकरणभन्दा बाहिर गएर कसैले पनि सरकार गठनमा सम्झौता गर्नु नहुने बताइन् ।

‘राष्ट्रिय राजनीतिको समकरणभन्दा बाहिर गएर हामीले सरकार गठनको सम्झौता गर्नु हुँदैन,’ उनले भनिन्,‘केन्द्रको समीकरण अनुसार नै सरकार गठन हुनुपर्छ र हुन्छ । हामी प्रदेश र केन्द्रमा छलफलमा छौं ।’

उनका अनुसार केन्द्रमा भागबण्डा टुंगिए लगत्तै सहमतिमा नै प्रदेश सरकारको नेतृत्वका दाबी पेश गर्न गठबन्धन दलहरू तयार रहेका छन् । उनले भनिन्,‘सरकार गठनका विषयमा सत्ता गठबन्धन दलहरुबीच छलफल जारी रहेको छ । प्रदेश सरकारको नेतृत्वमा हामीले पनि दाबी गरेका छौं । केन्द्रीय सहमति अनुसार सत्ता गठबन्धनको सहयोगमा हामीले सरकारको नेतृत्व लिने हो । त्यसमा गठबन्धनका सबै दलहरूको सहमति हुन्छ । चर्चामा आए अनुसार प्रदेशमा सत्ताका लागि फरक समीकरण बन्दैन ।’

यता माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पनि प्रदेश सरकारको विषय केन्द्रबाट नै टुंगिने बताउँछन् । प्रदेशमा सरकार गठनका लागि ठुलो दलको हैसियतले कांग्रेसले जोडबलमा फरक समीकरण निर्माण गरेको देखिएको उनले बताए । ‘फरक समीकरणमा राप्रपाले केही चासो राखेको देखिएपनि ७ प्रदेशको भागबण्डा हुँदा सत्ता समीकरणमा कुनै फरक आउँदैन । सत्ता गठबन्धन कायम रहन्छ,’ उनले भने ।

यस्तै एमालेका केन्द्रीय सदस्य एवम् एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रीय समीकरण विपरीत फरक समीकरणको सम्भावना नरहेको बताए । केन्द्रको भागबण्डा अनुसार सात वटै प्रदेशको भागबण्डा टुंगिने भएकाले सोही अनुसार प्रदेश सरकार गठन हुने उनले बताए । ‘फरक समीकरणको सम्भावना छैन । केन्द्रीय समीकरण  अनुसार प्रदेश सरकार गठन हुन्छ । केन्द्रमा सत्ताको भागबण्डा टुंगिए लगत्तै प्रदेश सरकार गठनको लागि दाबी गर्छौं । सरकारमा हामीले दाबी गरेका छौं । अब सात प्रदेशको भागबण्डा एकमुष्ट हुन्छ । जसको नेतृत्वमा भएपनि स्वीकार गरेर अघि बढ्नु पर्छ,’ उनले भने ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप