मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विपी र मदन भण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

शनिबार, २३ पुस २०७९, १४ : ५१
शनिबार, २३ पुस २०७९

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।  निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । “बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ, सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ”, उनले भने । 

बाग्मती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्याङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । एक सय ५० सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण गरिएको उनले बताए ।

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको सङ्गम भिमानमा बसपार्कको आवश्यकता थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो ।  कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७/७८ मा प्रदेश सरकारले रु एक करोड बजेट उपलब्ध गराएकामा रु ९८ लाख ९६ हजार २७ को निर्माण कार्य भएको थियो । आव २०७८/७९ मा रु तीन करोड ३० लाख रकम आएकामा रु तीन करोड १७ लाख ७२ हजार चार सय ६८ को निर्माण कार्य गरिएको थियो । 

आव २०७९/८० मा रु ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ । उक्त रकमले बसपार्कमा बगैंचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप