शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

अभागी यामलाल !

‘के सोचेथेँ जिन्दगीमा के–के भयो आज’
सोमबार, २५ पुस २०७९, ०७ : १०
सोमबार, २५ पुस २०७९

सुर्खेत । धेरैको आँकलन थियो, यो पटक कर्णालीको मुख्यमन्त्री यामलाल कँडेल बन्ने छन् । तर आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसँग पुनः कँडेलको मुख्यमन्त्री बन्ने सपनामा ‘ब्रेक’ लागेको छ । कँडेलको मुख्यमन्त्रीका लागि यो चौथो प्रयास हो ।

०५५ सालमा नै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भइसकेका कँडेल मुख्यमन्त्री बन्ने उद्देश्यसहित ०७४ मा प्रदेश झरेका थिए । तर त्यो बेला एमाले–माओवादीबीचको समीकरणले नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । २० सिट जितेको एमालेसँग बहुमतका लागि १ सिट अपुग थियो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सिट आवश्यक थियो । केन्द्रबाट नै कर्णाली माओवादीको भागमा पर्दा कँडेलसामु महेन्द्रलाई स्वीकार्नु बाहेक विकल्प थिएन । ३ फागुन ०७४ मा माओवादी संसदीय दलको नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भए । पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने भनेका थिए, तर त्यसो हुन सकेन । 

२४ असोज ०७७ मा मुख्यमन्त्री शाही विरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए, सफल हुन् सकेनन् । त्यो बेला कँडेलले पूर्व माओवादी सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट, पुष्पा घर्तीको समेत हस्ताक्षर सङ्कलन गरेका थिए ।

२३ फागुन ०७७ मा सर्वोच्च अदालते एमाले र माओवादी केन्द्र ब्युँताएपछि पुनः १ वैशाख ०७८ मा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार विरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव ल्याए,कँडेलले । तर तत्कालिन माधव नेपाल समूहका प्रकाश ज्वाला लगायतका चार जनाले एमालेमा विद्रोह गरेपछि तेस्रो पटक पनि उनको मुख्यमन्त्री बन्ने सपनमा तुहियो । 

‘के सोचे थेँ जिन्दगीमा के–के भयो आज’ भन्ने गीत अहिलेको राजनीतिमा कसैसँग मेल खान्छ भने ती पात्र हुन् ‘यामलाल कँडेल’ 

प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गने अवसर पाउँदा समेत कँडेल प्रतिपक्षको कुर्सीमा बस्न विवश भए । एक वर्ष भन्दा बढीको समय प्रतिपक्षको भूमिका निर्वाह गरेका कँडेल पुनः मुख्यमन्त्री बन्ने दिवा सपनासहित ०७९ को आम निर्वाचनमा प्रदेशमै बसे । आफू भन्दा जुनियर नेतालाई प्रतिनिधि सभामा पठाएर प्रदेश सभामै चुनाव लडेका उनी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै विजयी भए । 

१८ कार्तिकमा कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कर्णालीको भावी मुख्यमन्त्रीमा आफूलाई प्रस्तुत गरिसकेका थिए । कँडेलले ‘समृद्ध कर्णाली’ को परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए । उनको घोषणा पत्रको सार थियो,‘ एमालेको नेतृत्वमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीमा यामलाल कँडेल ।’ तर मुख्यमन्त्री बन्नेमा ढुक्क भने थिएनन् । किनभने त्यो बेलाको सत्तारुढ गठबन्धनले अबको १०/१५ वर्षसम्म गठबन्धन नटुट्ने बताएको थियो । तथापि कँडेले मुख्यमन्त्रीमा चर्चा हुनु स्वाभाविक नै हो भन्दै आएका पनि थिए । 

 १० पुसमा राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणले कँडेललाई आशाको दियो जगाइदियो । कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने लाइनबाट ‘रिङ आउट’ हुँदा कँडेल त्यो लाइनमा भित्रिए । त्यसपछि कँडेलको विश्वास ह्वात्तै बढिरहेको थियो । १३ पुसमा उनी संसदीय दलको नेतामा समेत सर्वसम्मत भए । स्थायी कमिटी सदस्य र प्रदेश इञ्चार्ज समेत भएकाले प्रदेश अध्यक्ष विनोद कुमार शाह उनीसँग प्रतिस्पर्धा गर्नबाट ‘ब्याक’ भए । शाह बालकोटको निर्देशन पछि ‘ब्याक’ भएका थिए । त्यसपछि धेरैको अपेक्षा र आकलन के थियो भने ‘मुख्यमन्त्री बन्न निकै सङ्घर्ष गर्दा पनि नबन्न सकेकाले यो पटक यामलाल नै भावी मुख्यमन्त्री ।’ 

संसदीय दल नेता चुनिने दिनमा पत्रकारसँग उनले भनेका थिए,‘ हाम्रो मुख्यमन्त्रीमा हिजो पनि दाबी थियो नै आज पनि हुन्छ नै । हामीले त्यही कुरा पार्टी केन्द्रलाई भनिसकेका छौँ र भन्ने पनि छौँ ।’ 

एमाले प्रदेश कमिटीका नेताहरूले सिट सङ्ख्यालाई मान्यता दिन नहुने बताइरहेका थिए । त्यसपछि एमाले प्रदेश कमिटीदेखि जिल्ला कमिटीका नेताहरू बालकोटमा पुगेका थिए । बिहीबार एमाले जिल्ला कमिटीदेखि केन्द्रीय सदस्यको टोली बालकोट पुगेर एमाले अध्यक्ष ओलीसामु कँडेललाई मुख्यमन्त्री जसरीपनि बनाउनुपर्ने ‘विन्ती पत्र’ चढाएका थिए । ओलीले पनि जवाफमा कँडेललाई नै मुख्यमन्त्री बनाउने जोडबल गर्ने आश्वासन दिएर पठाएका थिए । तर आइतबार केन्द्रीय समीकरणको बैठकले कँडेलको सपनामा फेरी ‘ब्रेक’ लागेको छ भने उनी अभागी साबित भएका छन् । उदित नारायण झाको आवाजमा रहेको चर्चित गीत ‘के सोचे थेँ जिन्दगीमा के–के भयो आज...’ भन्ने गीत अहिलेको राजनीतिमा कसैसँग मेल खान्छ भने ती पात्र हुन् यामलाल कँडेल । गीतले भनेजस्तै उनको मुख्यमन्त्री बन्ने सपना ओलीले हुरीमा उडाएका छन् भने पुनः कर्णालीको नेतृत्वमा माओवादी हावी भएको छ । यदि वर्तमान अवस्थामा कुनै फेरबदल नआएको खण्डमा १३ सिट रहेको माओवादीका राजकुमार शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् भने यामलाल कँडेलले पुनः २ वर्ष मुख्यमन्त्रीका लागि कुर्नुपर्ने छ । 

जनतामा लोकप्रिय कँडेल र संसदीय राजनीतिमा किन कमजोर ?

कँडेल जनतामा निकै लोकप्रिय छन् । ०३६ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका उनी ०४९ सालमा वीरेन्द्रनगरको मेयर जितेका थिए । ०५१ सालमा प्रतिनिधि सभा जितेका उनी ०५५ सालमा पर्यटन मन्त्री बने । 

पछि एमाले विभाजन भएपछि मालेमा लागेका उनी ०५६ मा भने पराजित भए । त्यसपछि ०६४ सालमा पहिलो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजित भएका उनी देशमा संघीयता लागु भएपछि भने प्रदेशमा चुनाव लड्न थाले ।

‘उनी जनतामाझ लोकप्रिय भएर नै पटक–पटक निर्वाचित हुँदै आएका नेता हुन्,’ एमाले सुर्खेतका एमाले नेता भन्छन्, ‘राष्ट्रिय राजनीतिमा उहाँको प्रभाव बलियो नभएका कारण नै मन्त्री, मुख्यमन्त्रीका लागि उहाँ पटक–पटक वञ्चित हुनु परेको छ ।’ ती नेताले कँडेल पार्टी केन्द्रको छायामा परेको टिप्पणी गरे । १० औं राष्ट्रिय महाधिवेशनमा कर्णालीले एउटा पदाधिकारी पाउनुपर्छ भनेर सचिवमा कँडेललाई अघि सारिएको थियो । तर केपी ओलीको सामु कर्णाली बिचरा बनेर फर्कियो । जब कँडेल प्रदेशमा झरेपछि उनको राष्ट्रिय राजनीतिमा प्रभाव कम हुँदै गएको एमाले नेताहरूको आँकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप