शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

सोमबार, २५ पुस २०७९, २१ : ५२
सोमबार, २५ पुस २०७९

बङ्गलादेश । बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री मिर्जा अब्बासलाई राजधानी ढाकाबाहिरको जेलबाट मुक्त गरिएको प्रहरीले जनाएको छ ।

मध्य ढाकास्थित बिएनपी मुख्यालयमा सयौँ समर्थकले उहाँहरूलाई स्वागत गरेको पार्टीका प्रवक्ताले एएफपीलाई बताए । बिएनपी कार्यालयमा आलमगीरले पत्रकार, नेता तथा कार्यकर्तासँग संक्षिप्त कुराकानी गरेका थिए । बीएनपीले एक दशकयताकै सबैभन्दा ठूलो राजनीतिक र्याली आयोजना गर्नुभन्दा एक दिनअघि डिसेम्बर ९ मा शीर्ष नेता आलमगीर र अब्बासलाई पक्राउ गरिएको थियो । 

पार्टीले आफ्ना दुई हजारभन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको, कम्तीमा एक जनाको गोली हानी हत्या गरिएको र हजारौँलाई प्रहरीले ¥यालीमा सहभागी हुनबाट रोकेको आरोप लगाएको छ । गत डिसेम्बर ७ मा सयौँ विपक्षी कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा प्रहरीसँग झडप हुँदा हिंसा भड्किएको र प्रहरीको काममा अवरोध पु¥याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बीएनपीकी अध्यक्ष खालिदा जियाले १० वर्षको जेल सजाय भुक्तान गर्न थालेयता आलमगीर बङ्गलादेशका सर्वोच्च विपक्षी अधिकारी हुन् । जियाका छोरा र उत्तराधिकारी लण्डनमा निर्वासित जीवन बिताइरहेका छन् । उनलाई आजीवन काराबासको सजाय पनि सुनाइएको छ ।

हालैका वर्षहरूमा आलमगीर देशको प्रमुख विपक्षी व्यक्तित्वको रूपमा उदाएका छन् । उनले मध्यमार्गी, दक्षिणपन्थी र वामपन्थी दलहरूको विविध समूहलाई भेला गर्दै देशभरि सरकारविरूद्ध शृङ्खलाबद्ध प्रदर्शनहरूको आयोजना गरेका थिए ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकारको नेतृत्वमा नयाँ निर्वाचनको मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै हालैका महिनाहरूमा बङ्गलादेशमा विद्युत् कटौती र इन्धनको मूल्यवृद्धिका कारण विरोध प्रदर्शन सुरु भएको छ ।

गिरफ्तारीको बाबजुद, बीएनपीले डिसेम्बर १० मा राजधानीमा कम्तीमा एक लाख समर्थकहरूको उपस्थितिमा विशाल प्रदर्शन गरेको थियो र पार्टीका सांसदहरूले भ्रष्टाचार र सरकारको दमनको विरोधमा संसद्बाट राजीनामाको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घसँगै पश्चिमा सरकारहरूले पनि एसियाको सबैभन्दा तीव्र आर्थिक वृद्धि दर भएको मुलुकमध्येको एक बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप