मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु र सेन्चुरी बैंकले आजदेखि थाले एकीकृत कारोबार

मङ्गलबार, २६ पुस २०७९, ११ : ४८
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन् ।

यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । सेन्चुरीसँग मर्ज भएपछि प्रभु बैंकको कर्मचारी सङ्ख्या ३ हजार ५०० पुगेको छ । यस्तै, बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब पुगेको छ भने चुक्ता पुँजी २३ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, कूल निक्षेप २ खर्ब ८४ अर्ब र कूल कर्जा लगानी २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यसका साथै, बैंकको शाखा सङ्ख्या ३६५ वटा पुगेको छ भने ग्राहक सङ्ख्या ३० लाख पुगेको कम्पनीको दाबी छ । हिजो सोमबार मात्रै ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जर भएको थियो ।

यस्तै, हिजै लक्ष्मी र सनराईज बैंकले आपसमा गाभिने सम्झौता गरेका छन् भने भोलि बिहीबार नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक गाभिँदै छन् । यससँगै, नेपालमा वाणिज्य बैंकको सङ्ख्या २० मा आइपुगेको छ ।

 

मर्जर कार्यक्रममा बोल्दै प्रभु बैंकका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनले कर्मचारीलाई मिलेर काम गर्न आग्रह गरे । उनले मर्जरपछि बनेको नयाँ बैंकमा २ वटा बैंककै कर्मचारी मिलेर गुणस्तरीय सेवा प्रवाह गर्न भनेका हुन् । मर्जरपछि सेन्चुरी बैंकका कार्यकारी अधिकृत मनोज न्यौपानेले डेपुटी सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप