शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

स्ववियु चुनावका लागि कस्तो तयारी गर्दैछन् विद्यार्थी संगठन ?

स्ववियु चुनाव हुनुपर्नेमा एकमत, हुनेमा छैनन् विश्वस्त
बुधबार, २७ पुस २०७९, ०७ : ४४
बुधबार, २७ पुस २०७९

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविले स्ववियु चुनावको मिति घोषणा गरेसँगै विद्यार्थी संगठनले समेत तयारी थालेका छन् । उनीहरूले संगठन विस्तार, जिल्ला भेला, कलेज कमिटी गठन लगायतका कार्यमा तीव्रता दिएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको तयारी थालेका छन् । 

त्यसो त विद्यार्थीहरू संगठनहरूले एकातिर चुनावी तयार थालेका छन्  भने अर्कोतिर कतै चुनाव नहुने पो हो कि भन्नेमा आशंका पालेका छन् । त्यसका लागि त्रिविलाई कुनै पनि बहानामा चुनाव स्थगित गर्ने अवस्थामा नजान सचेत गराउँदै पनि आएका छन् । 

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले चुनावी अभियान थालेको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘क्याम्पसहरूदेखि विश्वविद्यालयसम्ममा प्रतिनिधि पठाउने कुरा अगाडि बढिरहेको छ । जिल्ला कमिटीहरू गठन गर्ने कुरा पनि भइरहेको छ,’ अध्यक्ष शेर्पाले भने, ‘माघभरी संगठनको सबै काम सक्छौं । फागुनमा स्ववियु चुनावको तयारी गर्छौँ र चैतमा चुनावमा जान्छौं ।’ 

आफ्नो संगठन स्ववियु चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै त्यहीअनुसार चुनाव सम्पन्न गराउनुपर्ने सबैको दायित्व रहेको उनको भनाई छ । चुनाव गर्नुअघि त्रिविले ६ महिना अघि लिइएको सबै तहका परीक्षाको नतिजा प्रकाशित गरिसक्नुपर्ने उनले बताए । स्ववियु भनेको विद्यार्थी नेता जन्माउने थलो भन्दा पनि नेतृत्व जन्माउने संस्था रहेको भन्दै त्यसका लागि नेविसंघले नतिजा भन्दा सिस्टमलाई बचाउन पहिलो प्राथमिकतामा राख्ने शेर्पाको भनाइ छ । 

लामो समयदेखि रिजल्ट नआउँदा विद्यार्थीहरूमा नैराश्यता पैदा भइरहेको भन्दै शेर्पाले भने, ‘६ महिनाभन्दा बढी भएका केही विषयमा अझै पनि रिजल्ट आएको छैन । ती विषयको कमसेकम कार्यतालिका आउनुभन्दा पहिला रिजल्ट निकाल्नुपर्छ । त्यस्तो गर्न सकियो भने विद्यार्थीहरूमा सकारात्मक सन्देश जान्छ । नभए केपी ओलीले कोरोनाको बेला आमचुनाव गराउँछु भन्या जस्तै रिजल्ट नै नआई चुनाव गराएर भोट माग्न जाँदा त्यसले नकारात्मक प्रभाव पार्छ ।’

नतिजा प्रकाशन गर्ने विषयमा आफूहरूले उपकुलपति समक्ष समेत कुरा राखेको उनको भनाइ छ । ‘विद्यार्थी रिजल्ट कुर्दाकुर्दै विदेश गइसके । जागिरका लागि एप्लाई गर्न पाएका छैनन् । लोकसेवाको तयारी गर्न पाएका छैनन्,’ अध्यक्ष शेर्पाले भने, ‘विद्यार्थीमाथि अर्को आशंका के छ भने रिजल्ट दिन नसक्नेले कसरी यत्रो स्ववियु चुनाव गराउन सक्छ ? त्यही भएर पहिला रिजल्ट निकाल्नुहोस् अनि मात्रै कार्यतालिका निकाल्नुहोस् भनेर अनुरोधसँगै चेतावनी पनि दिएका छौं ।’

एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्ववियु चुनाव र संगठनको महाधिवेशन सँगसँगै अगाडि बढाएको छ । अनेरास्ववियु महासचिव समिक बडालले स्ववियु चुनाव अगाडि नै संगठनको महाधिवेशन गर्ने गरी अगाडि बढिरहेको बताए । 

‘स्ववियुको चुनाव अगाडि नै हाम्रो महाधिवेशन गरेर फ्रेस म्याण्डेडसहित निर्वाचनमा जान्छौं । स्ववियु चुनावभन्दा अगाडि नै संगठनको महाधिवेशन गर्छौ । माघ महिनाभित्रमा महाधिवेशन गरेर स्ववियु चुनावमा जान्छौं,’ महासचिव बडालले भने । लामो समयदेखि अधिवेशन नहुँदा संगठनभित्र देखिएको शिथिलतालाई कम गर्दै स्ववियु चुनावमा जाने उनको भनाइ छ । 

स्ववियु भनेको विद्यार्थी आन्दोलनको ठूलो उपलब्धि हो । यो उपलब्धिलाई जोगाउनको लागि चुनाव अपरिहार्य रहेको बताउँदै बडालले भने, ‘कहिले उमेरको बहानामा, कहिले निर्वाचन प्रणालीको बहानामा स्ववियु निर्वाचन सर्दै आएको छ । त्रिविले शैक्षिक क्यालेण्डरअनुसार स्ववियु निर्वाचन गराउनुपर्छ । त्यसका लागि हामी प्रतिबद्ध छौं ।’ 

चुनावको बेला हुने अराजक खालका घटना हुन नदिन त्रिविले सुरक्षा व्यवस्था मिलाउनुपर्ने र देशैभरका क्याम्पसहरूमा चुनाव गर्नुपर्ने उनको भनाइ छ । आफ्नो संगठन चुनाव हार्ने वा जित्ने भन्दा पनि स्ववियु संस्थालाई बचाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

‘अहिले स्ववियु संस्था बचाउनकै लागि चुनाव हुनैपर्छ,’ उनले भने । निर्वाचनको सन्दर्भमा त्रिविसँग कुरा गर्दा परीक्षाको विषय प्रमुख प्राथमिकताका साथ उठान गरेको उनको भनाई छ । ‘त्रिविले ६ महिना अगाडिसम्म लिएका सबै परीक्षाको नतिजा पुस मसान्तभित्र प्रकाशित गर्छौ भनेर प्रतिबद्धता जनाएको छ । हामीले त्यही प्रतिबद्धतालाई नियालिरहेका छौं । त्यहीअनुसार पुस मसान्तभित्रमा सबै तहको नतिजा आउनेमा हामी विश्वस्त छौं,’ उनले भने । 

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठनले निर्वाचनको तयारी थालेको बताइन् । पुस २१ गते बसेको पदाधिकारी बैठकले निर्वाचनका लागि कार्यविभाजन गरिसकेको उनको भनाइ छ । ‘पदाधिकारी बैठक बसेर स्ववियु केन्द्रीत कार्यविभाजन गरिसकेका छौं । अब १/२ दिनमा परिपत्र गर्छौ । र, तयारी अगाडि बढाउँछौं,’ उनले भनिन् ।

२०६५ सालको स्ववियु निर्वाचनमा अलोकतान्त्रिक प्रवृत्ति देखिएको र उक्त प्रवृत्ति २०७३ सालको निर्वाचनमा पनि दोहोरिएको भन्दै यो पटक त्यस्तो हुन नहुने उनको भनाई छ । चुनाव हार्ने देखिएमा ताला बोकेर जाने, तोडफोड गर्ने अवस्था विगतका स्ववियु चुनावमा देखिएको भन्दै यो पटक सहज रूपमा चुनाव हुनुपर्ने उनको भनाइ छ । 

‘हामी तेस्रो पार्टी भएर पनि चुनाव जान खोजिरहेका छौं । हार जित भनेको लोकतान्त्रिक प्रक्रिया हो । हार्ने अवस्था आयो भने तालाबन्दी गर्न जाने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो जोड हो,’ सिंहले भनिन् ।
विद्यार्थीका हकहित तथा विश्वविद्यालयको समग्र विकासका लागि स्ववियु चुनाव हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘यसका लागि सबै विद्यार्थी संगठन एकजुट हुनुपर्छ । चुनाव सम्पन्न गराउनु नै हामी सबैको जीत हो । त्यसबाट पछि हट्ने छुट कुनै पनि संगठनलाई छैन ।’ 

यो पटकको चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुुुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनको भनाई छ । आफ्नो संगठन विद्यार्थीका हकहितका लागि अगाडि बढ्ने र सोही आधारमा चुनाव आफ्नो पक्षमा आउनेमा आफूहरू ढुक्क रहेको सिंहको जिकिर छ । 

‘अहिले विकेन्द्रीकरणको समयमा पनि ट्रान्सकिप्ट, मार्कसिट लिन काठमाडौं नै आउनुपर्ने बाध्यता छ । सम्बन्धित कलेजबाटै दिलाउनुपर्छ भन्ने हाम्रो माग हो । र हामी यो मुद्धालाई अगाडि प्राथिमकताका साथ अगाडि बढाउँछौं । चुनाव जितेमा सिनेट कुरा उठाएर निर्णय गराउँछौं ,’ अध्यक्ष सिंहले भनिन् । 

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले पनि आफ्नो तयारी अगाडि बढाएको जनाएको छ । अध्यक्ष सुदेश पराजुलीले जिल्ला, प्रदेश लगायतका भेलाको आयोजना गर्न थालिएको बताए । संगठनको तर्फबाट आफ्नो तयारी थालिएको र सोही आधारमा सिंगो संगठन परिचालन गरिएको उनको भनाइ छ । 

अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि विभिन्न मागहरू अघि सारेको छ । अहिलेको निर्वाचन प्रणाली न समानुपातिक, न प्रत्यक्ष भएको भन्दै यसले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने माग अघि सारेको छ । 
‘हामीले पूर्ण समानुपातिक स्ववियु निर्वाचन प्रणाली अपनाउनुपर्छ भनेका छौं । अहिलेको निर्वाचन प्रणाली निकै महँगो भयो । जसले गर्दा खास नेतृत्व गर्न सक्ने व्यक्ति नआउने खतरा भयो । त्यही भएर स्ववियुलाई सबैको साझा बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष पराजुलीले भने । 

अनेरास्ववियुले अघि सारेको अर्को माग भनेको कलेजका टपर एक महिला, एक पुरूष स्वतः स्ववियुमा निर्वाचनमा पदेन सदस्यको रूपमा रहन पाउनुपर्ने हो । आफ्ना मागहरूको विषयमा त्रिवि सकारात्मक रहेको र पदाधिकारी बैठकबाटै निर्णय गर्ने आश्वासन दिएको उनको भनाई छ । साथै, आफ्ना मागहरूका विषयमा अरू संगठनपनि सकारात्मक देखिएको उनको भनाइ छ । 

शैक्षिक संस्थाहरू बाहुबलको आडमा कसैको कब्जामा रहनुहुन्न भन्ने आफ्नो मान्यता रहेको उनको भनाई छ । ‘शैक्षिक संस्थाहरू बढीभन्दा बढी सामुदायिक अधिकारका निम्ति केन्द्रीत हुनुपर्छ । नयाँ नेतृत्व भनेको अगुवा छान्ने कुरा हो । यसमा कसैले डर, धाक धम्कीबाट अगाडि बढ्न खोजेको छ भने त्यो कुराबाट मुक्त हुनुपर्छ भन्ने हो,’ पराजुलीले भने ।
 
स्ववियु निर्वाचन विशुद्ध शैक्षिक निर्वाचन भएकाले यसमा कुनै पार्टी जित्ने वा हार्ने भन्दा पनि समग्र प्रणालीले जित्नुपर्नेमा आफ्नो संगठनको जोड रहेको उनको भनाइ छ । पराजुली थप्छन्, ‘भयरहित ढंगबाट नेतृत्व छान्नुपर्छ । झै–झगडा, हिजोको जस्तो बाहुबली शैलीमा संस्थामा उपस्थित हुने कुरा हामीले त्याग्नुपर्छ ।सबैले त्यसका लागि प्रतिबद्धता जनाउनुपर्छ । त्यसको गरिमालाई बचाउनु अहिलेको दायित्व हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप