शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
ऊर्जा

ऊर्जा बजारको परिदृश्य : पेट्रोलियम पदार्थको उपभोग घट्दै, बिजुलीको बढ्दै

बुधबार, २७ पुस २०७९, १० : ०३
बुधबार, २७ पुस २०७९

नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपत निरन्तर घटेर विद्युत्को खपत बढ्न थालेको छ । सरकारी निकायहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा जीवाश्म इन्धनको खपत घट्दो र स्वच्छ ऊर्जाका रूपमा रहेको बिजुलीको खपत बढ्दो अवस्थामा रहेको हो । अन्तर्राष्ट्रियमा भाउ महँगो हुँदा पेट्रोलियम पदार्थको खपत घटेको र यसको प्रत्यक्ष फाइदा विद्युतलाई परेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालको ऊर्जा बजारमा बिजुलीको ‘पिक डिमान्ड’ ह्वात्तै बढेको छ । गत वर्षको जाडो यामको तुलनामा चालु वर्षमा विद्युत् खपत झण्डै २० प्रतिशतले उकालो लागेको प्राधिकरणले बताएको छ । यस्तै, यही समयमा पेट्रोलियम पदार्थको खपत करिब १८ प्रतिशतले खुम्चिएको नेपाल आयल निगमले जानकारी दिएको छ । गत वर्षको तुलनामा साउनदेखि पुससम्मको अवधिमा खपत ह्वात्तै घटेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जाडो याम लागेसँगै बिजुलीको खपत बढेको बताए । घिसिङले गत वर्षको जाडोयामको तुलनामा झण्डै २० प्रतिशतले खपत उकालो लागेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्षको जाडो याममा ‘पिक डिमान्ड’ साढे १५ सय मेगावाट आसपास थियो । जुन, यो वर्ष १८ सय मेगावाटभन्दा बढी छ ।’

घिसिङले थपे, ‘गत वर्षको तुलनामा ३० प्रतिशतसम्म खपत बढेको छ । काठमाडौँ उपत्यका, पोखरा, बुटवल, वीरगन्ज, नेपालगञ्ज, धरानजस्ता सहरी क्षेत्रमा एकाएक माग बढेको छ । यस्तै, तराईमा समेत शितलहर र चिसोका कारण माग उकालो लागेको छ ।’

उनले पछिल्लो समय प्रतिवर्ष २० देखि ३० प्रतिशतका दरले बिजुलीको माग बढिरहेको समेत बताए । यही क्रममा माग बढे आगामी ३ वर्षपछि सुक्खायाममा पनि बिजुली आयात गर्नु नपर्ने प्राधिकरणको आकलन समेत फेल खानेछ ।

‘हाल नेपालको कुल जडित क्षमता २२ सय मेगावाट छ । यही वर्षमा ३ हजार मेगावाट पुग्ने आकलन प्राधिकरणको छ,’ घिसिङ भन्छन्, ‘तर, अहिलेकै गतिमा माग बढे ३ वर्षपछि जाडो याममा पनि बिजुली आयात गर्न नपर्ने हाम्रो आकलन मिल्दैन ।’

यही समयमा नेपाली ऊर्जा बजारमा पेट्रोलियम पदार्थको खपत निरन्तर घटेको आयल निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष कम्तीमा पनि १८ प्रतिशतले खपत घटेको बताए ।

बिजुलीको खपत निरन्तर बढ्दै गएपछि भारतबाट आयात हुने परिमाण समेत उकालो लागेको छ । प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट दैनिक करिब ३०० मेगावाटसम्म बिजुली किन्दै आएको छ । नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित भएकाले सुक्खायाममा भारतबाट बिजुली किन्नुपर्छ ।

खासगरी, पछिल्लो समय देशभर औद्योगिक गतिविधि बढ्दा विद्युत्को माग एकाएक बढेको हो । यस्तै, चिसो मौसमका कारणले देशभर हिटर र एसी चल्दासमेत खपत बढेको प्राधिकरणको अनुमान छ । यसका साथै, यतिबेला देशभर इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग निरन्तर बढिरहेको छ भने भान्सामा विद्युतीय उपकरणहरूको प्रयोग समेत बढ्दो अवस्थामा छ । यसका साथै, विद्युतीय सवारीको बढ्दो प्रयोगले पनि विद्युत्को खपत बढाउन सहयोगी भूमिका खेलेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा नेपालमा डिजेल र पेट्रोलको आयात घटेको छ ।

तर, यही समयमा नेपाली ऊर्जा बजारमा पेट्रोलियम पदार्थको खपत निरन्तर घटेको आयल निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष कम्तीमा पनि १८ प्रतिशतले खपत घटेको बताए । पेट्रोलियम पदार्थको खपत घट्दा आयात नै प्रभावित बनेको उपाध्यायको भनाइ छ ।

नेपाल आयल निगमले निकालेको एउटा अध्ययनप्रतिवेदनले समेत सन् २०३० सम्म पेट्रोलियम पदार्थको खपत बढ्ने आकलन गरेको थियो । तर, त्यसको ठिक उल्टो खपत निरन्तर ओरालो अवस्थामा रहेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा नेपालमा डिजेल र पेट्रोलको आयात घटेको छ । गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विदेशबाट ३ लाख ६ हजार १२४ किलोलिटर पेट्रोल आयात भएको थियो । यस्तै, ६ लाख ४५ हजार ३१३ किलोलिटर डिजेल आयात भएको थियो । तर, चालु वर्षको मंसिरसम्ममा आयात घटेर २ लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल र ४ लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएको छ । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा करिब १८ प्रतिशत हाराहारीले डिजेल र पेट्रोलको आयात घटेको छ ।

यस्तै, गत आर्थिक वर्षमा ६ हजार ६५२ किलोलिटर मट्टितेल आयात भएकोमा चालु वर्षमा ४ हजार ३४४ किलोलिटर मात्रै आयात भएको छ । यस्तै, गत वर्ष ८ लाख ८० हजार ७४४ किलोलिटर हवाई इन्धन भित्रिएको थियो । जुन, चालु वर्षको मंसिरसम्म जम्मा ७ लाख ४ हजार २२१ किलोलिटर हवाई इन्धन मात्रै आयात भएको तथ्याङ्क छ ।

निगमका चार्टड एकाउन्टेन्ट नागेन्द्र शाह चालु आर्थिक वर्षमा निरन्तर खपत घटिरहेको बताउँछन् । जसकारण, गत वर्षको तुलनामा आयात समेत प्रभावित बनेको र निगमले गरेको पेट्रोलियम पदार्थको निरन्तर वृद्धिको प्रक्षेपण समेत नमिल्ने देखिएको छ ।

खासगरी निगमले कम्तीमा सन् २०३० सम्म नेपालमा पेट्रोलियम पदार्थको खपतको वृद्धिदर उच्च रहने प्रक्षेपणसहितको प्रतिवेदन तयार पारेको थियो । जुन, यतिबेला अमिल्दो भइरहेको छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दाको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

रुस–युक्रेन युद्धका कारण विश्वभर कच्चा पदार्थको मूल्य बढिरहेको छ । फलस्वरुप नेपाली बजारमा समेत पेट्रोलको मूल्य प्रतिलिटर २११ रुपैयाँसम्म पुगेको थियो । तर, यही समयमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि उच्च ओहोदाका व्यक्तित्वहरूले बिजुली खेर जान लागेको र खपत नभएको भाषणबाजी गरे । जसको प्रत्यक्ष प्रभाव यतिबेला देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप