शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नायक र खलनायकको अग्निपरीक्षामा कविर

बुधबार, २७ पुस २०७९, ११ : ४७
बुधबार, २७ पुस २०७९

काठमाडौँ ।  कलाकारिता रोज्दै गर्दा जो कोहीको पनि नायक, नायिका बन्ने सोच हुन्छ । किनकि फिल्ममा धेरै चरित्र भए पनि नोटिसमा पर्ने भनेका खासमा नायक, नायिका नै हुन् । यही सोचअनुरूप कविर खड्काले पनि नायकको रूपमै फिल्म ‘लम्फू’ डेब्य गरेका थिए । 

तर, दोस्रो फिल्म ‘गुञ्जन’को अभिनयले भने उनको सोच फेरिएको छ । उनी नायक भन्दा पनि कलाकार भएर कलाकारिता गर्दा मज्जा आउने मनस्थितिमा पुगेका छन् । भन्छन्, ‘कलाकारितामा आनन्दको जीवन बाँच्न पाइँदो रहेछ ।’ ‘गुञ्जन’ कविरको दोस्रो फिल्म हो । ‘लम्फू’ मा पोजेटिभ (हिरो) को रूपमा अभिनय गरेका उनले ‘गुञ्जन’मा भने  नेगेटिभ (भिलेन), पोजेटिभ दुवै भूमिका निर्वाह गरेका छन् । हरेक मानिसको राम्रो नराम्रो दुवै पक्ष हुन्छ । ‘गुञ्जन’ क्यारेक्टरमा पनि उनको राम्रो नराम्रो दुवै पक्ष देखाइएको छ ।

‘फिल्ममा मेरो अलिकति नेगेटिभ चरित्र पनि छ । यो फिल्मबाट म अझै निखारिए । ‘लम्फू’ को हिरो बन्दा भन्दा ‘गुञ्जन’ को भूमिकाबाट धेरै आनन्द आएको छ । यसले बेग्लै खालको सन्तोष दिलाएको छ ।’ ‘गुञ्जन’बाट आगामी दिनमा पनि फरक फरक भूमिकामा अभिनय गर्न प्रेरणा मिलेको उनले सुनाए ।

‘गुञ्जन’ मा कलाकार भएर काम गर्न उनलाई निर्देशक अष्ट महजर्नले पनि धेरै सहयोग गरेका छन् । किनभने अष्टसँग फिल्म क्षेत्रमा २० वर्ष बढी काम गरेको अनुभव जो थियो । 

आँखा चिम्लेर विश्वास

कविरका लागि ‘लम्फू’ व्यावसायिक सफल नभएपनि फाइदाजनक  भने भयो । किनभने उनी यो फिल्मबाटै उद्योगमा भित्रिएका थिए । अहिले पनि उनलाई जतिले चिन्छन्, त्यही फिल्मका कारण चिन्छन् ।

‘गुञ्जन’ मा पनि उनी ‘लम्फू’कै कारणले जोडिएका हुन् । फिल्म क्षेत्रमा आफूलाई ‘लम्फू’ ले जन्माएको र हुर्काउने काम ‘गुञ्जन’ गरेको उनी बताउँछन् ।

करियरको सुरुको दौडमा जो कोहीको नाम चलेका र सफल निर्माता निर्देशकसँग काम गर्ने इच्छा हुन्छ । टिमको सफलताले अगाडिको करियर सहज हुन्छ । तर कविरले भने डेब्य निर्देशक अष्टलाई आँखा चिम्म गरेर विश्वास गरेको देखिन्छ । तर किन ? ‘हरेक मान्छेले आफ्नो डेब्यु खतरा गर्न खोज्छ । अष्ट दाइसँग पनि त्यो जुनुन र पोटियन्सिल थियो । प्रोजेक्ट पनि राम्रो थियो । धेरै कुरो सिक्न समेत पाएँ,’ कविरले कारण खुलाए ।

‘गुञ्जन’ अगामी शुक्रबार अर्थात् २९ पुसबाट प्रदर्शनमा आउँदैछ । त्यसैले पनि केही दिनयता कविरको व्यस्तता बढेको छ । उनी भोक र निद्रा माया मारेर प्रचार प्रसारमा दौडिरहेका छन् । ‘गुञ्जन’ मा आफ्नो मात्र नभएर पुरै युनिटको मेहनत भएकोले सफल बनाउन सबै लागि परेको उनी सुनाउँछन् ।

59907994_2146318952130909_6863746712721162240_n

अग्निपरीक्षामा

कविरको ‘लम्फू’ रिलिज भएको ४ वर्ष भयो । त्यसपछि उनको यो फिल्म आउन लागेको हो । त्यसैले फिल्मबाट उनले धेरै आस राखेका छन् । ‘ट्रयाङ्गल प्रेमकथामा बनेको यो जतिको फिल्म अहिलेसम्म बनेकै छैन,’ कविरले दाबी गरे, ‘फिल्म सबैलाई मन पर्छ ।’ 

सरसर्ती हेर्दा उनको क्यारेक्टर भिलेन देखिन्छ । तर उनी फिल्मको हिरो हुन् । त्यो हिसावले पनि आफ्नो चरित्र उनलाई मन परेको हो । ‘यो एउटा फिमेल सेन्टिमेन्टल फिल्म हो । फिमेल सेन्टिमेन्टलमा नेपालमा फिल्म कम बन्छ’, उनले भने ‘ २० औं वर्षदेखि फिल्ममा फाइट निर्देशन गरिरहेको व्यक्तिले फाइट बिनाको फिल्म बनाएका छन् । यो एउटा राम्रो पक्ष हो । त्यो कसैले पनि कल्पना गर्न सक्दैन ।’ 

‘गुञ्जन’ चल्छ वा चल्दैन भन्न सकिने अवस्था छैन । किनभने केही साता यताका फिल्म लगातार फ्लप भएका छन् । कविरलाई भने फिल्मको ब्यवसायको डर छैन । किनभने फिल्मप्रति उनी कन्फिडेन्स छन् ।

‘हामीले एउटा राम्रो फिल्म बनाएका छौ । हिट वा फ्लप दर्शकको हातमा छ । हाम्रो मेहनत र परिश्रम उहाँहरूलाई कति मन पर्छ । त्यो अहिले भन्न सकिन्न,’ करिबले अगाडि थपे, ‘‘गुञ्जन’ दर्शकले रुचाउने मसालेदार फिल्म हो । यो फिल्म कमरसियल हिसाबले बनेको हो ।’ 

फिल्मबाट उनले व्यवसाय र समीक्षा दुवै आस गरेका छन् । किनभने हरेक मानिसले फिल्म प्रथमतः मनोरञ्जनका लागि हेर्ने हुन् । त्यसपछि अर्को कुरो आउला । यो फिल्म हेर्न दर्शकले जुन समय र पैसा खर्चिन्छन् । त्यसको सदुपयोग हुने उनको धारणा छ । यो फिल्म उनको अग्निपरीक्षा पनि हो । किनभने यसमा उनले भिलेन, हिरो दुवै भूमिका जो निर्वाह गरेका छन् ।

इन्जिनियरिङ्गबाट अभिनय 

कविर ८ वर्षदेखि कला क्षेत्रमा छन् । त्यो हिसाबले उनको धेरै फिल्म आउनुपर्ने हो । भर्खर उनको दोस्रो फिल्म आउन लागेको छ । भन्छन्, ‘फिल्म क्षेत्र रोज्ने बित्तिकै अभिनय भन्दा पनि  आफूलाई निखार्नतिर लागे ।’ 

kabir

सन् २०१४ मा इन्जिनियरिङ अध्ययन छोडेर फिल्म रोजेका उनले फिल्ममा अध्ययनसहित भित्रिन फिल्मी कलेज अस्करमा भर्ना भए । सानैदेखि फिल्म हेर्ने, कथाहरू लेख्ने उनले औपचारिक ज्ञानसहित अभिनयमा होमिदा सजिलो हुने बुझेका थिए । त्यसैले कलेज अध्ययन गर्दागर्दै उनी फिल्मका लागि माग भएको अडिसनसमेत दिन्थे । 

अस्करमा ब्याचलर सकिँदै गर्दा उनी कलेजकै प्रोजेक्ट वर्कमा लागेका थिए । त्यही समय फिल्म ‘लम्फू’ को अडिसन दिए । अनि छानिए पनि । 

त्यस अगाडि पनि एक फिल्म ‘तिमी र म’ को अडिसनमा छानिएका थिए । तर फिल्मको सुटिङ भएन । ‘लम्फू’को भने अडिसन दिएको करिब ६ महिनापछि सुटिङ भयो । सुटिङ सकिएको २ वर्षपछि फिल्म रिलिज भयो । फिल्मबाट व्यावसायिक सफलता त हात पार्न सकेनन् उनले । तर यसले अभिनयको ढोका भने खोलिदियो । 

‘गुञ्जन’ रिलिज नहुँदै उनले फिल्म ‘लन्डन टु पेरिस’ अभिनय सकाएका छन् । केही समय थिएटर अनुभवसहित फिल्ममा होमिएका उनीसँग केही अन्य फिल्म हातमा छन् । भन्छन्, ‘गुञ्जन अभिनयपछि करियरले अझै रफ्तार लिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप