शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

प्रदेश १ :  मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विश्वासको मत लिनु अगाडि मन्त्रीमण्डल विस्तार गर्ने तयारी
शुक्रबार, २९ पुस २०७९, ०८ : ५१
शुक्रबार, २९ पुस २०७९

विराटनगर । पाँच दिन अगाडि नियुक्त भएका प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । त्यसको बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गरेका थिए । आजै विश्वासको मत लिनु अगाडि कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने बताइएको छ । यसअघि एमालेका तिलकुमार मेन्यांबो, राप्रपाका भक्ति प्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । आजकै बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।

प्रदेश १ सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग गर्दै माओवादी केन्द्र भने पहिलो पटक गठन भएको मन्त्रीमण्डलमा समावेश भएको थिएन । आज भने माओवादी केन्द्रसहित सरकारमा सामेल हुने बताइएको छ । आज थप हुने मन्त्रीहरूमा माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य रहेका छन् । चापागाईं तेह्रथुम र आचार्य मोरङका हुन् । दुवै जना माओवादीका केन्द्रीय सदस्य हुन् । यस्तै एमालेबाट मन्त्री थप हुनेमा बुद्धिकुमार राज भण्डारी रहेका छन् । उनी सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री कार्कीको नयाँ मन्त्रीमण्डलले प्रदेशको १३ मन्त्रालय घटाएर ९ मा झारेको छ । जसमध्ये एमालेले ४, माओवादी केन्द्रले ३, राप्रपाले १ र जसपाले १ मन्त्रालय राख्ने तयारी गरेको छ । यद्यपि माओवादीले ३ पाउने नपाउने बारेमा छलफलले टुङ्गो लगाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप