आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस पदाधिकारीको स्वार्थले नेविसंघ विस्तारमा लफडा

आइतबार, ०१ माघ २०७९, १६ : २८
आइतबार, ०१ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमिति विस्तारमा विवाद देखिएको छ । पार्टीका पदाधिकारीहरुले नेविसंघको विधान विपरीत ‘प्लेन किमटी’ ल्याउने तयारी थालेपछि विवाद देखिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गत चैत ९ गते नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । शेर्पा नेतृत्वको तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्याण्डेट थियो । तर १० महिनासम्म कमिटीले पूर्णता पाउन सकेको छैन ।

चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव घोषणा भएपछि नेविसंघको कमिटीलाई पूर्णता दिने गृहकार्य भइरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्लेन कमिटीको पक्षमा देखिएका छन् । नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत लगायतका शीर्ष नेताको जोड पदाधिकारी सहितको कमिटी ल्याउनेमा छ । सभापति शेरबहादुर देउवा भने अलमलमा देखिन्छन् ।

प्लेन कमिटीको विपक्षमा रहेका पार्टीका नेताहरुले सभापति देउवालाई भेटेर विधान विपरीतको निर्णय नलिन दबाब दिँदा देउवा हच्किएको अवस्था छ । तर उपसभापति खड्काले प्लेन कमिटी ल्याउने गृहकार्य अगाडि बढाइसकेको नेताहरु बताउँछन् । केन्द्रीय समिति विस्तारका लागि ७७ जिल्लाबाट केन्द्रीय सदस्य बनाउन एक–एक जनाको नाम संकलन गर्ने काम जारी छ ।

नेविसंघ सभापति शेर्पा पनि प्लेन कमिटी कै पक्षमा देखिन्छन् । नेविसंघमा ३२ वर्षीय उमेर हदपछि आफू निकटहरु पदाधिकारीको रिङमा नदेखिँदा उपभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माले प्लेन कमिटीको ल्याउन चाहेको विद्यार्थी नेताहरुको आरोप छ ।

नेविसंघमा पार्टीका नेताहरु प्रदीप पौडेल, नैनसिंह महर, जीतजंग बस्नेत, रञ्जित कर्ण, मनोजमणि आचार्य लगायतको बाहुल्यता देखिन्छ । आफूसँग सिधा सम्पर्कमा भएका विद्यार्थी नेता पदाधिकारीको लाइनमा नदेखेपछि उनीहरु प्लेन कमिटीको विपक्षमा उभिएको नेविसंघका नेता मनिषजंग थापाले बताए । उनका अनुसार नेविसंघका अधिकांश नेताले पदाधिकारीसहितको कमिटी ल्याउन पार्टीका नेताहरुलाई दबाब दिइरहेका छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेल पदाधिकारी सहितको कमिटी ल्याउनुपर्ने बताउँछन् । उनले भने, ‘भ्रातृ संस्थालाई विधान अनुसार अगाडि बढाउनुपर्छ । पदाधिकारीसहितको कमिटी ल्याउनुपर्छ ।’

संस्थापन इतरमा विद्यार्थी फाँटको नेतृत्व गरिरहेका पार्टीका युवा नेता मनोजमणि आचार्य विधान विपरीत प्लेन कमिटी ल्याउन नहुने पक्षमा छन् । उनले भने, ‘विधानसम्मत पदाधिकारीसहित फुलफेजको कमिटी बन्नुपर्छ । विद्यार्थी साथीहरु पनि पदाधिकारीसहितको कमिटीको पक्षमा हुनुहुन्छ ।’

त्यसका लागि आफूरु आन्तरिक छलफल गरेर पार्टी पदाधिकारीलाई दबाब दिने तयारीमा रहेको नेविसंघका पूर्व महामन्त्री समेत रहेका आचार्यले बताए । यस्तै पार्टीका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले प्लेन कमिटी स्वीकार्य नहुने बताए । ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने ? भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । प्लेन कमिटी स्वीकार्य हुँदैन,’ उनले भने ।

भ्रातृ संस्थामा पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको भनाइ छ । ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ । यसको विरुद्धा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन् । यो १० वर्षमा दुई–दुई वर्षमा डेढ दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ महरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप