सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह थुनामै रहने

नवलपुर जिल्ला अदालतको फैसला नउल्टेमा २०८१ भदौ १४ सम्म जेलमै रहनुपर्ने
मङ्गलबार, ०३ माघ २०७९, २१ : ३६
मङ्गलबार, ०३ माघ २०७९

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका हुन् । 

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन भने पाउने छैनन् । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सो सजाय पूरा नगरेसम्म शाह थुनामै रहनुपर्नेछ । 

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो । 

थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाह उच्च अदालत पोखरा गएका थिए । तर उच्च अदालत पोखराले पनि शाहलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश गरेको थियो । 

२०७८ चैत महिनामै शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत बलात्कारको कसुरमा मुद्दा दर्ता भएको थियो । पीडित भनिएकी नाबालिगकै जाहेरीका आधारमा उनीमाथि नवलपुरमा समेत सोही प्रकृतिको मुद्दा दर्ता भएको थियो । 

नवलपुर जिल्ला अदालतले २०७९ भदौ २१ गते गरेको फैसलामा शाहलाई जबरजस्ती करणीको कसुरमा सफाइ दिए पनि बाल यौन दुरुपयोग गरेको भन्दै सजाय सुनाएको थियो । शाहले नाबालिगलाई जबरजस्ती करणी गरेको नभई अन्य यौनजन्य अस्वाभाविक व्यवहार गरेको भन्दै बाल यौन दुरुपयोगमा दोषी ठहर गरिएको थियो । न्यायाधीश यज्ञप्रसाद आचार्यले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै शाहलाई २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना गर्नुका साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका थिए ।

फैसलामा बलात्कार ठहर गर्न प्रमाणको अभाव रहेको, न्यायालयले शङ्काको भरमा मात्रै फैसला गर्न नसक्ने र पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको, जाहेरवाला र पीडितले पनि आफूहरूले अरूको उक्साहटमा परी जाहेरी दिएको बकपत्र गरेको भन्दै अभियोग पत्रलाई मात्रै प्रमाणका रूपमा लिन नसकेको भन्दै शाहलाई बलात्कारको कसुरमा सफाइ दिइएको थियो । नवलपुर जिल्ला अदालतको फैसलामा शाहले स्टारडमको दुरुपयोग गरी बाल यौन दुरुपयोग गरेको उल्लेख गरिएको छ । 

नवलपुर जिल्ला अदालतको फैसलामा भनिएको छ,

‘युवापुस्तामा राम्रो अभिनयको क्षमता देखाई पर्दाको जीवनमा नायक रही फिल्मी क्षेत्र र गीत संगीतको अभिनयको क्षेत्रमा स्थापित कलाकारले नवबालिकासँग कस्तो व्यवहार गर्नु पर्छ ? नाबालिग उमेरमा एउटा चर्चामा रहेको अभिनेता रहेको व्यक्तिसँग नजिक हुन र उसलाई चाहनु उसको गल्ती होइन । त्यसमा आफू स्टारडम हुँ भन्ने एउटा वयस्क उमेर पुगेको व्यक्ति आफैले पूर्ण रूपमा सोच विचार गरेर पर्दाको दुनियाँमा मात्र नायकीपन होइन आफ्नो वास्तविक दुनियाँमा पनि नायकीपन कायम गर्न सक्नु पर्छ । कानुनले नाबालिग मानेको कुरालाई उसको चञ्चलता र आनीबानीलाई हेरेर वयस्क उमेर हो भनी आफैले अनुमान गरी आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेज लाई वास्तविक जीवनमा गलत रूपले प्रयोग गर्न हुँदैन । यी प्रतिवादीबाट नाबालिग उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवम् संवाद तथा अन्य एसएमएस लगायतका कुराकानीका गतिविधिसमेतलाई हेर्दा एउटी नाबालिग उपर यी प्रतिवादीले अभिभावकीय रूपले आफ्नो जिम्मेवारी र कर्तव्य पुरा नगरी एउटा प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिग उपर व्यवहार गरेको देखिन्छ ।’

त्यसैगरी बाल यौन दुरुपयोग ठहर गर्ने फैसलामा भनिएको छ,

‘... यी प्रतिवादीले पीडित नाबालिग उपर गरेको व्यवहार एवं अडियो क्लिपको संवाद समेतलाई हेर्दा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(२) मा उल्लेख भएको ‘अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार’ पीडित नाबालिग उपर यी प्रतिवादीले गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (१) विपरीतको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ । अब प्रतिवादीलाई बाल यौन दुरुपयोगको कसुर अपराधमा के कति सजाय हुनुपर्ने हो भन्ने तर्फ विचार गर्दा कसुरको अवस्था र यी प्रतिवादीले आफूले गीत संगीत र फिल्मी क्षेत्रमा रहेर झन संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफै आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई सोही संहिताको दफा २२५ (३) बमोजिम २ (दुई) वर्ष ६ (छ) महिना कैद सजाय र पच्चीस हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

यसरी नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारजस्तो गम्भीर कसुरमा सफाइ दिए पनि नाबालिगमाथि बाल यौन दुरुपयोग गरेको ठहर गर्दै साँढे २ वर्ष कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्तिको फैसला गरेको थियो । 

नवलपुर जिल्ला अदालतको फैसलालाई हेर्दा शाह पक्राउ परेको मिति २०६८ फागुन १५ गतेबाट साँढे २ वर्ष अर्थात् २०८१ भदौ १४ गतेसम्म जेलमै रहनुपर्ने हुन्छ । तनहुँ जिल्ला अदालतबाट अभियोग दाबीमा पूर्ण सफाइ पाए पनि नवलपुर जिल्ला अदालतबाट भएको सजायको कारण उनी अझै १९ महिना जेलमै बस्नुपर्ने हुन्छ । 

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेको भए पनि उच्च अदालतबाट फैसला भइसकेको छैन । यता तनहुँ जिल्ला अदालतले माघ ३ गते फैसला सुनाई अभियोग दाबी नपुग्ने ठहर गरे पनि फैसलाको पूर्ण पाठ आउन भने समय लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप