सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : हेलिकोप्टर दुर्घटनामा मारिएका युक्रेनमा गृहमन्त्री डेनिस मोनास्टिर्सकी को थिए ?

बिहीबार, ०५ माघ २०७९, १० : ३७
बिहीबार, ०५ माघ २०७९

युक्रेनको राजधानी किभको बाहिरी भागमा रहेको एउटा बालवाडी नजिकै भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् ।

४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिर्सकीबाहेक उप–गृहमन्त्री तथा गृह सचिवको पनि मृत्यु भएको छ ।

डेनिस मोनास्टिर्सकी युक्रेनमा रुसको आक्रमणपछि मृत्यु भएका युक्रेनका सर्वोच्च अधिकारी हुन् ।

युक्रेनका डेपुटी चिफ अफ स्टाफ किरिलो टिमोसेन्कोले आन्तरिक मन्त्री युद्ध क्षेत्रमा जाँदै गर्दा उनको हेलिकोप्टर दुर्घटना भएको बताए ।

अहिलेसम्म यसलाई दुर्घटनाका रूपमा लिइएको छ तर केही प्रत्यक्षदर्शीहरुले रुसले सुरु गरेको युद्ध यसका लागि जिम्मेवार रहेको बताएका छन् ।

स्थानीय बासिन्दा भोलोडिमिरले बीबीसीलाई भने, ‘धेरै कुहिरो थियो र बिजुली थिएन । बिजुली नभएकाले घरहरूमा बत्ती बालिएका थिएनन् ।’

ukraine1डेनिस मोनास्टिर्सकी को थिए ?

आन्तरिक मन्त्री डेनिस मोनास्टिर्सकी राष्ट्रपति जेलेन्स्कीको मन्त्रिपरिषद्का प्रमुख सदस्य थिए । फेब्रुअरी २०२२ देखि, जब रुसले युक्रेनमा आक्रमण गर्‍यो, उनले रुसी क्षेप्यास्त्र आक्रमणको हताहत रिपोर्ट गर्न ठुलो भूमिका खेले ।

उनी जुलाई २०२१ मा युक्रेनको गृहमन्त्री बनेका थिए । उनको जन्म सन् १९८० मा पश्चिमी सहर खमेलनिट्सकीमा भएको थियो । राजनीतिमा आउनुअघि उनले एक वकिलको हैसियतले आफ्नो व्यावसायिक जीवन सुरु गरेका थिए ।

उनले सन् २०१४ मा राजनीतिमा प्रवेश गरेका थिए ।

जब जेलेन्स्कीले २०१९ मा राष्ट्रपतिको चुनाव जितेका थिए, तब त्यो जीत हासिल गर्नेमा जेलेन्स्कीको टिमका उनी प्रमुख सदस्य थिए ।

२०१९ मा नै डेनिस मोनास्टिर्सकी सांसद बने र उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदै कानुन–व्यवस्थासँग सम्बन्धित संसदीय समितिको अध्यक्ष बनाइएको थियो ।

पूर्व गृहमन्त्री आर्सेन अभाकोभले अचानक राजीनामा दिएपछि डेनिस मोनास्टिर्सकीको राजनीतिक ग्राफ निकै बढ्यो । आर्सेन अभाकोभ एक अनुभवी राजनीतिज्ञ थिए जो चार फरक प्रशासकको कार्यकालमा गृहमन्त्री थिए ।

यो पनि अफवाह थियो कि राष्ट्रपति जेलेन्स्कीले अराकोभलाई बर्खास्त गर्न लागेका थिए किनभने अभाकोभले जेलेन्स्कीको भ्रष्टाचार विरोधी अभियानमा बाधा पुर्‍याएको विश्वास गरिएको थियो ।

त्यसैले डेनिस मोनास्टिर्सकीलाई गृहमन्त्री बनाउँदा जेलेन्स्कीले सत्तामा आफ्नो पकड सुदृढ गर्दै छन् भनेर व्याख्या गरिएको थियो ।

गृहमन्त्री भएको नाताले देशको प्रहरी र आन्तरिक सुरक्षाको जिम्मेवारी मोनास्टिर्सकीको  काँधमा थियो ।

जब रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्‍यो, उसले चुनौती स्वीकार गर्‍यो र युक्रेनको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन अग्रणी भूमिका खेल्यो ।

ukraine2‘साथी र परिवारका लागि सधैँ तयार’

उनले विश्वभरका मिडियालाई अन्तरवार्ता दिए, जसमा उनले युक्रेन मानवीय प्रकोपबाट गुज्रिरहेको कुरामा जोड दिएका थिए र युक्रेनको आपत्कालीन सेवाका अगाडि के –कस्ता चुनौतीहरू छन् भनेर पनि बताए ।

रुसी हमलामा मारिएका व्यक्तिको जानकारी दिन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनकी साथी र सांसद मारिया मेजेनत्सेवाले मोनास्टिर्सकीको मृत्यु सबैका लागि स्तब्ध भएको बताइन् किनभने उनको मन्त्रालयले रुसको आक्रमणको प्रतिक्रियामा मुख्य भूमिका खेलेका थिए ।

मारियाले बीबीसीलाई भनिन्, ‘उनी आफ्ना सहकर्मी, साथीभाइ र परिवारका लागि २४ सै घण्टा उपलब्ध हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति जेलेन्स्कीसँग निकै नजिक हुनुहुन्थ्यो ।’

मारिया भन्छिन्, ‘हामी उहाँलाई सधैँ उज्यालो, सधैँ मुस्कुराउने, साथीहरूको पनि साथी, युक्रेनको देशभक्त जन सेवकको रूपमा सम्झनेछौँ । मसँग शब्द छैनन् । म शान्त रहने कोसिस गरिरहेकी छु तर यो साह्रै मुस्किल छ । यो सबैका लागि त्रासदी हो ।’

यस विमान दुर्घटनामा उप गृहमन्त्री येभगेनी एनिन, पूर्व गुप्तचर अधिकारी र एक प्रख्यात वकिलको पनि मृत्यु भएको छ ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले उनीहरू सबैलाई युक्रेनका सच्चा देशभक्त भन्दै उनीहरूको निधनले अपूरणीय क्षति निम्त्याएको बताएका छन् ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप