शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पूर्व कमैयाकी छोरी कोइलीको उपसभामुख यात्रा, भन्छिन् ‘उत्पीडित वर्गको उत्थानमा लाग्नेछु’

शुक्रबार, ०६ माघ २०७९, ०९ : १०
शुक्रबार, ०६ माघ २०७९

धनगढी । जीवनका कहाली लाग्दा दिनहरू पार गर्दै कोइलीदेवी चौधरी सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखको जिम्मेवारीमा पुगेकी छिन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १६ जलघुस्राकी चौधरी मुक्त कमैया परिवार हुँदै उपसभामुखको जिम्मेवारीमा पुगेकी हुन् । उपसभामुखमा निर्वाचित भएकी उनी माघ ४ गते प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

जिम्मेवारीप्रति भावुक देखिएकी उनी सुदूरपश्चिम प्रदेश र यहाँका जनताको उत्थानको निमित्त नीति निर्माणमा आफ्नो अहम् भूमिका रहने बताएकी छिन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै उपसभामुख चौधरीले भनिन्, ‘उत्पीडित वर्ग, जाति समुदायको पीडा, दुःखको के हो ? म आफै सहेर, भोगेर यहाँसम्म पुगेकी छु । कमैया जीवनका ती दर्दनाक पीडाबाट उठेकी महिला हुँ । त्यस कारण ती कमैया, कमलरी, हलियासहित भौगोलिक उत्पीडिनमा परेका वर्गको उत्थानको लागि राज्यले चाहेमा सब थोक गर्न सक्छ । त्यसैले उनीहरूको उत्थान, समग्र प्रदेशको विकासको लागि बन्ने नीति निर्माणमा मेरो भूमिका रहने छ ।’

को हुन् उनी ?

जन्मजात कमैया रहेका बुवा सुकलाल डंगौरा थारु र आमा लक्ष्मी डंगौरा थरुनीको कोखबाट दाङ जिल्लाको देउखरमा कोइलीदेवीको जन्म भएको हो । उनी सानै छँदा उनको परिवार छरा (बसाइ) गरेर कञ्चनपुरको कृष्णपुर नगरपालिकाको देखतभुलीमा आएको हो । देखतभुली आउँदा पनि उनको परिवार दुई छाककै लागि जमिनदार कहाँ कमैया बस्यो ।

उनी ती बाल्यावस्था स्मरण गर्दै भनिन्, ‘दुई छाक टार्न धौ–धौ थियो । जसको लागि मेरो बाबा कमैया बन्नुभयो । आमा बुक्रही । माघ आउने बित्तिकै ती कमैया प्रथा र ती सामाजिक प्रणालीले दिने सामाजिक र मानसिक यातनाको झलझली याद आउँछ ।’

उनको पीडा कमैया जीवनमा मात्रै सीमित रहेन । उनी १३ वर्षकै हुँदा उनको विवाह कैलालीको साबिक उर्मा गाविसको जलघुस्राका बुद्धिराम चौधरीसँग भयो । स्वाध्यायनमा रुची राख्ने उनी लुथरन विश्व फेडेरेसनसँग आबद्ध भइन् । बढ्दै गएको सामाजिक चेतनासँगै उनी राजनीतिमा आइन् ।

२०५४ सालमा नेकपा एमाले साधारण सदस्यता लिएकी उनी एमालेबाटै उर्मा गाविसको भएको निर्वाचनमा महिला वडा सदस्यमा निर्वाचित भइन् ।

नेकपा एमाले निकट अखिल नेपाल किसान सङ्घ जिल्ला समिति सदस्य हुँदै जिल्ला कोषाध्यक्ष र केन्द्रीय सदस्य भएकी उनी २०५६ सालमा एमाले जिल्ला सदस्य भइन । नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा अखिल महिला सङ्घका जिल्ला अध्यक्ष रहेकी उनी एमालेबाटै समानुपातिक प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।

उनको श्रीमानसहित २ छोरा, बुहारी, २ नातिनी २ छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप