मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्दा विद्युतीय सवारीलाई फाइदा, बढ्यो आयात

शुक्रबार, ०६ माघ २०७९, १० : २६
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई कायम गर्दा विद्युतीय सवारीको आयात र प्रयोगमा फाइदा पुुगेको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राट्रिय बजारमा कच्चा र प्रशोधित तेलको मूल्यमा एकाएक वृद्धि आउँदा नेपालमा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकै समयमा नेपालमा बिजुलीको उत्पादन पर्याप्त मात्रामा बढिरहेको छ । यस्तै, यही समयमा नेपाल सरकारले विदेशी विनिमयको सञ्चिती जोगाउन भन्दै पेट्रोलियम सवारीको आयात रोकेर विद्युतीयको आयात खुलै राख्यो । जसले विद्युतीय सवारीको आयात गत वर्षको तुलनामा ह्वात्तै बढेको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १०० किलोवाटसम्मका विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) विदेशबाट १०० किलोवाट क्षमताका जम्मा ७ वटा कार, जीप र भ्यान आयात भएका थिए र, यसको मूल्य जम्माजम्मी २ करोड ४६ लाख रुपैयाँमात्रै थियो ।

जुन, चालु आर्थिक वर्षमा झण्डै २०० प्रतिशतले बढेर मंसिरसम्ममा १०० किलोवाट क्षमताका १३ सय २० वटा सवारी भित्रिएका छन् । र, यसको मूल्य ३ अर्ब ६७ करोड १२ लाख छ । यस्तै, यस अवधिमा २०० किलोवाट क्षमताका १३ करोड ५८ लाख रुपैयाँ बराबरका ३० वटा सवारी भित्रिएका छन् । जबकि, गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट २०० किलोवाट क्षमताका सवारी आयात नै भएको थिएन ।

यसैगरी, गत आर्थिक वर्षमा विदेशबाट ५० किलोवाट क्षमताका २७ वटा कार, जीप र भ्यान भित्रिएका थिए । यस्तै, १५० किलोवाट क्षमताका ३ वटा सवारी भित्रिएका थिए । जबकि, चालु आर्थिक वर्षको मंसिरसम्ममा ५० र १५० किलोवाटका सवारी नै आएका छैनन् । यस्तै, ३०० किलोवाटसम्मका ३ वटा सवारी भित्रिएका छन् र यिनीहरुको मूल्य १ करोड ८६ लाख रुपैयाँ हुन आउँछ ।

यसका साथै, गत आर्थिक वर्षभरिमा १०० किलोवाटका ९९६ वटा सवारी भित्रिएका छन् भने १५० किलोवाटसम्मका १३ वटा सवारी भित्रिएका छन् । यस्तै, २०० मेगावाटसम्मका ७९२ वटा र ३०० मेगावाटसम्मका ६ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । गत वर्षभरि भित्रिएका १०० किलोवाटसम्मका सवारीको तुलनामा चालु वर्षको ५ महिनामा झण्डै ४०० वटा धेरै सवारी भित्रिसकेको छ । यसमा विदेशबाट आयातित तीन पाङ्ग्रे र विद्युतीय ठूला (पब्लिक) बसको तथ्याङ्क सामेल छैन ।

कोभिड कालमा प्रतिब्यारेल २० अमेरिकी डलरसम्म आइपुुगेको कच्चा पेट्रोलियम पदार्थको मूल्य सन् २०२२ मा प्रतिब्यारेल १३० डलरसम्म पुुग्यो । जसको प्रत्यक्ष प्रभाव पूर्णतः आयातमा निर्भर रहेको नेपाली बजारमा समेत प¥यो । सोही अवधिमा पेट्रोलियम पदार्थको बिक्री वितरणको जिम्मेवारी पाएको नेपाल आयल निगमको घाटा बढेर ५० अर्बभन्दा बढी पुुग्यो ।

यस्तै, सोही समयमा समानान्तर स्थितिमा नेपालमा विद्युतको खपत बढाउन भन्दै सरकारी संयन्त्र नै सक्रिय बने । एकातिर पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको र अर्कोतर्फ भारतले नकिन्दा अर्बौंको बिजुली खेर गइरहेको प्रचार हुन थाल्यो । जसमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको मूख्य भूमिका रह्यो ।

गत वर्षदेखि नै राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीले पूर्ण क्षमतामा उत्पादन थालेको थियो । फलस्वरुपः नेपालमा वर्षायाममा बिजुली पर्याप्त बन्यो र २०० देखि ३०० मेगावाटसम्म खेर जान थाल्यो । सोही समयमा भारतले चिनियाँ ठेकेदार कम्पनी संलग्न रहेको भन्दै माथिल्लो तामाकोसीको बिजुली किन्न आनाकानी ग¥यो । जसले नेपालमा विद्युतीय सवारी र विद्युतबाट चल्ने वस्तुको उपभोग ह्वात्तै बढ्यो ।

यस्तै, कोभिड नियन्त्रण गर्न गरिएको लकडाउन खुकुलो बनेपछि बढ्न थालेको आयातका कारण विदेशी मुद्राको सञ्चिति रित्तिन लागेपछि सरकार आत्तियो । र, विदेशबाट आयात हुने कयौं वस्तुको आयातमाथि प्रतिबन्ध लगायो । जसको सूचीमा पेट्रोलियमबाट चल्ने सवारी साधनसमेत परे । यही कारण, वैशाखदेखि रोकिएको पेट्रोलियम पदार्थबाट चल्ने सवारी आयात पुस अन्तिममा खुल्यो ।

तर, यस अवधिमा विद्युतबाट चल्ने सवारी साधनको आयात भने निर्वाधरुपमा भइरह्यो । जसले नेपालमा विद्युतीय सवारीको आयात र प्रयोगमा प्रोत्साहन भइरहेको छ । यस्तै, सरकारले बजेटमार्फत विद्युतीय सवारीको आयातमा भन्सार छुट दिँदासमेत माग बढिरहेको नाडा अटोमोबाइल्स एसोसिएशनका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् ।

सरकारले २०७८÷७९ को बजेटमार्फत सरकारले विद्युतीय सवारीको आयातमा भारी छुट घोषणा गरेको थियो । उक्त बजेटमार्फत विद्युतीय सवारीको आयातमा लाग्ने अन्तःशूल्कमा पूर्ण छुट दिँदै भन्सार शूल्कसमेत १० देखि ४० प्रतिशत कायम गरिएको छ । यसकारणले समेत नेपालमा विद्युतीय सवारीको आयात र प्रयोग बढेको व्यवसायीको भनाइ छ । तर, भन्सार शूल्कमा भारी छुट र अन्तःशूल्कमा पूर्ण छुट दिए पनि डिजेल÷पेट्रोल गाडीको तुलनामा विद्युतीय सवारी महँगो हुनेगर्छ ।

विदेशबाट आयात गर्दा भन्सारमा व्यापक छुट भए पनि विद्युतीय सवारीको मूल्य तुलनात्मकरुपमा महँगो रहेको दुलाल बताउँछन् । ‘डिजेल पेट्रोलबाट चल्ने सवारीको मूल्य विदेशमा सस्तो पर्छ । तर, भन्सार महसुल महँगो हुँदा नेपाली बजारमा महँगो पर्छ,’ उनले भने, ‘तर, भन्सारमा भारी छुट भए पनि विद्युतीय सवारी विदेशमै महँगो पर्छ । जसले तत्कालीन अवस्थामा धेरै डलर बाहिर पठाउँछ । यद्यपि, भविष्यलाई फाइदाजनक नै हुन्छ ।’

यतिबेला नेपालमा विद्युतीय सवारीका लागि चाहिने पर्याप्त चार्जिङ स्टेसनसमेत अभाव छ । निजी सवारी घरमै चार्ज गर्न मिले पनि सार्वजनिक सवारीका लागि पर्याप्त चार्जिङ स्टेसन बनिसकेका छैनन् । यस्तै, निजी सवारीमार्फत लामो दूरीमा यात्रा गर्नुपरेमा समस्या अझै छ । यद्यपि, पछिल्लो समय कम्पनीहरुले चार्जिङ स्टेसन स्थापनाको क्रमलाई तीव्रता दिएको सिप्रदीमार्फत टाटाको इभी सेक्सन हेरिरहेका रुपम श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय नेपालमा सञ्चालित विद्युतीय सवारीले चार्जिङ स्टेसनको विकासमै जोड दिइरहेका छन् ।

हाल धेरै समस्याका बाबजुद पनि विद्युतीय सवारीको माग बढ्दो अवस्थामा रहेकाले भावी दिनमा पर्याप्त पूर्वाधार बनेमा उज्ज्वल सम्भावना रहेको श्रेष्ठ बताउँछन् । यस्तै, सस्तोमा यात्रा गर्न मिल्ने र सर्भिसिङ कष्ट सस्तो पर्ने भएकाले सवारी खरिदकर्ता विद्युतीय सवारीमा आकर्षित बनिरहेका छन् ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप