शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
अन्तरवार्ता

‘नेपालमा माया बाँड्न आएकी हुँ’

हिरोइनको अफर आउँदा पनि म अभिनयतिर गइनँ : दीपानारायण झा
सोमबार, ०९ माघ २०७९, ०८ : ०६
सोमबार, ०९ माघ २०७९

गायिका दीपानारायण झा नेपालमा मात्र होइन, बलिउडमा पनि चर्चित छिन् । जीवनको अन्तिम साससम्म पनि गीत गाउने इच्छा राख्ने उनी केही दिनको नेपाल बसाइपछि शनिबार भारत फर्किएकी छन् । पोखराको हार्मोनी परिवार (गायिकाहरूको समूह)ले माघे सङ्क्रान्तिको अवसर पारेर पोखरा सभागृहमा आयोजित ‘दीपानारायण झाका धुनहरू’ कार्यक्रममा सहभागी हुने नेपाल आएकी उनले काठमाडौँमा केही दिन पहिले ‘झिलमिल सितार’ नयाँ गीत सङ्ग्रहसमेत सार्वजनिक गरेकी छन् ।

विशिष्ट सङ्गीतकार आलोकश्रीको सङ्गीत रहेका आठ गीत समावेश एल्बमका गीतहरूमध्ये दुई गीत पति उदितनारायण र एक आदित्यनारायणसँग युगल गायन गरेकी छन् । नेपाली फिल्मका थुप्रै हिट गीत गाएकी उनका फिल्म र अन्य गरेर करिब ३ हजार नेपाली गीत बाहिर आएका छन् । नेपाल आएको मौका पारेर केहीले उनलाई गीतसमेत गाउन लगाएका छन् । अहिलेसम्म २० भाषामा ७, ८ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेको उनी बताउँछिन् । शनिबार भारत फर्किनुअगाडि दीपानारायण झासँग नेपाल बसाइ र गीतसङ्गीतका विषयमा रातोपाटीले गरेको छोटो कुराकानी :

नेपाल बसाइ कस्तो रह्यो ?

एकदमै राम्रो भयो, खुसी छु । पोखराको हार्मोनी परिवार (गायिकाहरूको समूह) को निमन्त्रणामा नेपाल आएको हो । करिब ६ महिनादेखि उहाँले नेपालका लागि बोलाइरहनुभएको थियो । व्यस्तताले गर्दा आउन मिलेको थिएन । त्यसैले माघे सङ्क्रान्तिको अवसर पारेर उहाँहरूले पोखरा सभागृहमा ‘दीपानारायण झाका धुनहरू’ नामक कार्यक्रम आयोजना गर्नुभएको रहेछ । त्यसका लागि नेपाल आएको हो । कार्यक्रममा पोखरेली गायकगायिका सबैले मेरा गीतहरू गाउनुभयो । करिब ३ घण्टाको कार्यक्रममा मैले पनि २, ३ वटा गीत गाएँ । पोखराको कार्यक्रम एकदमै रमाइलो भयो । त्यसपछि सङ्गीतकार आलोकश्रीको एल्बम विमोचनका लागि काठमाडौँ आएको थिएँ । यो समय केही गीतसमेत गाउने मौका मिल्यो ।

नेपालमा विभिन्न अवार्ड र सम्मान पनि पाउनुभयो नि ?

त्यो मेरा लागि दिएको माया हो । यो पटक राष्ट्रपति, उपराष्ट्रपतिलगायत विभिन्न व्यक्तिबाट सम्मान पनि पाएँ । एकदमै खुसी छु । यो मायाका लागि आयोजक तथा सबै नेपालीप्रति आभारी छु ।

राष्ट्रपतिबाट सम्मान पाउँदा कस्तो महसुस भयो ?

सम्मानित हुन कसलाई मनपर्दैन र ? लामो समयदेखि म गीतसङ्गीतमार्फत सबैको सेवा गर्दै आएकी छु । अहिले राष्ट्रप्रमुखबाट सम्मानित हुन पाएँ । धेरै खुसी छु । सबैलाई हृदयदेखि धन्यवाद दिन्छु ।

नयाँ एल्मब ‘झिलिमिल सितारा’ हालै सार्वजनिक भयो । नेपाली एल्बम कति समयपछि आएको हो ?

– करिब १०, १२ वर्षपछि यो एल्बम आएको हो । यसअगाडि ‘उपहार’ आएको थियो उदितनारायणजी र मेरो । त्यो एकदमै राम्रो चलेको थियो । एल्बम नआए पनि नेपाली गीत भने फाट्टफुट्ट गर्दै आएकी थिए । करिब १० वर्षअगाडि आलोकश्रीले एकल एल्बम गर्छु, त्यसमा आदित्य र उदितजीको पनि स्वर रहन्छ भन्नुभयो । त्यो समयदेखिको प्रयास अहिले सफल भएको हो । एल्बममा ८ वटा गीत छन् । जसमध्य दुई उदितजीसँग र एक आदित्यसँग युगल गायन पनि छ । त्यसैले म एल्बमका लागि म निकै उत्साहित छु । आसा छ, सबैले मन पराउनुहुन्छ ।

119950356_669723733900655_5158290874443018021_n

‘झिलिमिल सितारा’ एल्बममा कस्ता गीतहरू छन् ?

–एल्बम सफ्ट, स्विट र रोमान्टिक खालका सिम्पल गीतहरूले भरिएका छन् । गीतहरूमा लाउड म्युजिक छैन । यसका गीतहरू जोसँग, घरमा, एक्लै र लामो यात्रामा पनि सुन्न मिल्ने छन् । छोटो शब्दमा भन्नुपर्दा सुन्दर गीतहरूको सङ्ग्रह हो– ‘झिलमिल सितारा’ ।

भारतमा रहँदा नेपाली गीतका आफर कति आउँछन् ?

नियमित आउने गरेका छन्, भ्याएसम्म गाउँछु । नेपाल आएको समय पनि तीनवटा गीत रेकर्ड गराएको छु । जसमा शम्भुजित बास्कोटा, महेश ज्ञवली, कृष रिजालका छन् ।

भारतमा नेपाली गीतसङ्गीत पनि सुन्नुहुन्छ कि ?

सुन्छु, किन नसुन्ने । अहिले युट्युबमा सबै प्रकारका गीतसङ्गीत उपलब्ध छन्, सबै सुन्छु ।

नेपाली गीतसङ्गीतको पछिल्लो अवस्थासँग जानकार हुनुहुन्छ ?

समय धेरै त हँुदैन । जति पाउँछु नेपाली गीत सुन्छु । त्यसका आधारमा भन्ने हो भने राम्रो पाएकी छु । पछिल्लो समय प्रतिवान् गायक गायिका भित्रिएका छन् । समयअनुसार विभिन्न परिवर्तन आउनु स्वाभाविक हो । जुन गीतमा मिठास भरिएको हुन्छ, त्यसले मात्र कालजयी हुने दम राख्छ ।

पहिलो पटक गाएको नेपाली गीत याद छ ?

छ नि, किन नहुनु ? फिल्म ‘वासुदेव’को ‘जति निर्मल, जति चोखो’ बोलको गीत हो । यो गीत उदितनारायण र मैले गाएका थियौँ । त्यो समय हाम्रो विवाह भएकै थिएन ।

गाउन मनपर्ने गीत ?

धेरै लाउड खालको मनपर्दैन । सफ्ट, स्विट गीत एकदमै मनपर्छन् । मेरो जनरा पनि त्यही हो र आवाज पनि सफ्ट छ । त्यसैले मैले गाउने गीत पनि त्यस्तै सफ्ट खालको हुन्छ । रोमान्टिक, स्यडलगायतका गीत पनि गाएकी छु । 

274997838_1008797456659946_1931987681280654572_n

अहिलेसम्मकै मनपरेको गीत ?

एउटी आमालाई आफ्नो छोराछोरी सबै मनपर्छ, त्यस्तै हो मेरा लागि गीतसङ्गीत । उदितजीको भने धेरै मनपरेको गीत ‘कहिले तिम्रो पछ्यौरीमा अल्झिएँ’ हो । त्यसपछि मनपर्ने ‘सम्झना बिर्सना सलल ल’ मन पर्छ ।

भारतमा दिनचर्या कसरी बित्छ ?

थाहा नै हुँदैन कसरी बित्छ, परिवार हेर्यो । सय वर्षभन्दा बढीकीे  सासू भुवनेश्वरी देवी हुनुहुन्छ । उहाँको ख्याल राख्नुपर्छ । बुहारी, नातिनी लगायतसँग समय बित्छ । उदितजीसँग पूरै भारत, विश्वका धेरै टुरसमेत गरेको छु । रेकर्डिङ, रियालिटी सो, सुटिङलगायतमा समेत व्यस्त रहन्छु ।

गायनको रियालटी सो नेपालमा पनि हुन्छन्, निर्णायकको आफर आयो भने नेपाल आउनुहुन्छ त ?

अवसर मिल्यो भने भाग लिन्छु, किन नलिने ?

नेपालीमा यस्तो गीत गाउन पाएहुन्थ्यो भन्ने केही छ ?

गायनकै लागि भनेर हिरोइनको अफर आउँदा पनि मैले अभिनय गरिनँ । किनभने गीत गायनमै मेरो रुचि थियो । मलाई जुनै प्रकारको गीत ल्याएर गाउनुपर्यो भनेर दिनुस् म गाउँछु । मलाई गीतसँग एकदमै प्रेम छ ।

सबैभन्दा मनपर्ने गायक गायिका ?

भारतकी लता, नेपालकी अरुणा लामा, तारादेवी र उदितनारायण ।

तपाईंको स्वरको जादुझैँ कायम छ नि, के छ राज ?

म दैनिक एक घण्टासम्म रियाज गर्छु । रियाजले मानिसलाई अझै पर्फेट बनाउँछ ।

कतिपयले दीपा उदितको छायामा परिन् भन्छन् नि ?

म उदितनारायणकी श्रीमती हो । श्रीमती भएपछि उहाँको छायामा बस्नुपर्यो नि ।

कति समयपछि अहिले नेपाल आउनुभयो ?

४ वर्ष अगाडि सङ्गीतकार शम्भुजित बास्कोटाको ‘जीवन यात्रा’ एल्बमका लागि आएकी थिएँ । त्यो समय भारत र नेपालका धेरै गायकगायिकाको उपस्थिति थियो ।

भारतमा रहँदा नेपाल कतिको मिस गर्नुहुन्छ ?

आफ्नो ठाउँ, आफ्नो मानिस कसलाई मनपर्दैन ? अगाडि बढ्नका लागि बाहिर निस्कनुपर्छ नै । नेपाल, नेपाली धेरै मिस गर्छु । त्यसकारण पनि म ३, ४ वर्षमा नेपाल आउने गरेको हो ।

मनपर्ने नेपाली खानेकुरा ?

नेपालका प्रायः सबै खानेकुरा मनपर्छ । कलो दाल, रायोको साग, गुन्द्रुकको अचार, भटमास जे जे छ, त्यो सबै मनपर्छ । भारतमा पनि यी सबै कुरा मिस गर्छु । म कालिङपोङको हो । स्कुस र स्कुसको तरुलसमेत मनपर्छ । 

सधैँ नेपालमै बसौँ भन्ने लाग्दैन ?

त्यो त लाग्छ तर भारतमा धेरै काम छन् । त्यो कर्मभूमि पनि हो । पहिलेदेखि नै त्यहीँ बसेर गरियो । जब धेरै यादले सताउँछ अनि नेपाल आउने गर्छु ।

घरमा कुन भाषामा बोलचाल हुन्छ ?

उदितजी र म नेपालीमा बढी कुरा गर्छाैं । सासूसँग मैथलीमा कुरा हुन्छ । छोराबुहारीसँग सबै मिक्स भाषामा कुरा हुन्छ । 

नेपालको के कुरा बढी मनपर्छ ?

–पूरै नेपाल ।

चलचित्रकर्मी राहत कोषमा पनि सहयोग दिनुभयो त ?

म नेपालमा माया बाँड्न आएको हो । त्यसैले चलचित्रकर्मी राहत कोषका लागि ५ लाख सहयोग गरेँ । त्यो उदित, दीपा र आदित्यका तर्फबाट हो । म जहाँ भए पनि नेपाली कलाकारप्रति माया लाग्छ । नेपाली कलाकारलाई अलिकति भए पनि सहयोग मिल्छ भनेर सहयोग गरेकी हुँ ।

यो पटक नेपालका कुनकुन ठाउँ पुग्नुभयो ?

गीतको रेकर्डिङ र सम्मान कार्यक्रमले गर्दा धेरै ठाउँ घुम्न मिलेन । पोखराको विन्देश्वरी माता, सोमबार पशुपतिनाथको दर्शक गरेँ । कुमारी, भैरवलगायतको दर्शन गरेँ ।

धर्मप्रति धेरै आस्था हो ?

म बिहान नियमित एक दुई घण्टा पूजा गर्छु । व्रत बस्छु, सबै गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप