बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

तीन पार्टीको एकता चर्चा : हल्ला ज्यादा, काम कम

सोमबार, ०९ माघ २०७९, १२ : ५३
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा माओवादी केन्द्रबीच सके पार्टी एकता नसके कार्यगत एकता (मोर्चा निर्माण) गरेर अघि बढ्ने विषयमा तीन वटै पार्टीका नेताहरुबीच पटक पटक भेटघाट, छलफल र कुराकानी भएका छन् । माओवादी केन्द्र वर्तमान सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा सहभागी छैनन् ।

मङ्सिर ४ को निर्वाचन परिणामपछि आशातीत नतिजा नआएपछि यी तीन पार्टीका नेताहरू पार्टी एकताको गृहकार्यमा जुटेका हुन् । यसअघि पनि स्थानीय चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा पार्टी एकता गर्न भन्दै एकता संयोजन समिति नै बनाएर एकताको पहल सुरु गरेको थियो । तर, उक्त समितिले कुनै कामै नगरी मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भयो । यो निर्वाचन अघिसम्म माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा थिए भने निर्वाचनको मुखमै जसपा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य गर्न पुगेको थियो । निर्वाचनपछि माओवादी केन्द्र नै एकाएक कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमाले नेतृत्वको गठबन्धनमा पुग्दा एकीकृत समाजवादी र जसपा केही दिन अलमलमा परेका थिए । तर दुवै पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी छैनन् । जसपाले त प्रचण्ड नेतृत्वको सरकार बनाउन नै समर्थन गरेको थियो । पछि जसपा र एकीकृत समाजवादी दुवैले प्रचण्डलाई विश्वासको मत दिए पनि सम्मानजनक भागवण्डा नभएपछि जसपा सरकारमा सहभागी हुन आलटाल गरिरहेको छ भने एकीकृत समाजवादीलाई सरकारमा लैजाने कुनै ठोस पहल नै भएको छैन । एकीकृत समाजवादीलाई प्रचण्डले व्यक्तिगत रूपमा सरकारमा सहभागी गराउन चाहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण सम्भव नभएको नेताहरूको भनाइ छ ।

यस्तो अवस्थामा तीन वटै पार्टी सके पार्टी एकता नभए मोर्चाबन्दी गरेर भए पनि अघि बढ्ने तयारीमा लागेका हुन् । ‘सकेसम्म पार्टी एकता नभए पनि कार्यगत एकता गर्ने गरी वार्ता, संवाद र छलफल भइरहेका छन्’, एकीकृत समाजवादी वार्ता टोलीका सदस्य प्रकाश ज्वालाको भनाइ छ ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र समेत वर्तमान सत्ता गठबन्धनप्रति विश्वस्त नभइरहेको अवस्थामा तीन पार्टीबीच एकता गर्नसके मजबुत र निर्णायक शक्ति निर्माण गर्न सकिने तीन वटै पार्टीका नेताहरूको विश्वास छ । यही विश्वासका साथ शनिवार र आइतबार नेकपा एकीकृत समाजवादी, जसपा र माओवादी केन्द्रका वार्ता टोलीका सदस्यहरू छुट्टाछुट्टै भेटवार्ता र एकताबारे कुराकानी भएको उनीहरुको भनाइ छ ।

एकीकृत समाजवादी र जसपाका नेताबीच शनिवार र एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका वार्ता टोलीबीच आइतबार भेटवार्ता भएको हो । जसपा र एकीकृत समाजवादीका वार्ता टोलीबीच शनिवार भएको भेटवार्तामा दुवै तर्फबाट एकताका लागि तयार गरिएका दस्ताबेज आदान प्रदान भएका छन् ।

‘आइतबारबाट एकीकृत समाजवादी र जसपाबीच एकताका लागि औपचारिक कुराकानी सुरु भएको छ । एकअर्काले तयार पारेका दस्ताबेज आदान प्रदान भएका छन्’, एकीकृत समाजवादीबाट वार्ता समितिमा रहेका नेता प्रकाश ज्वालाले भने, ‘दस्ताबेजहरू एक साताभित्र अध्ययन गरेर थप निर्णय प्रक्रियामा जान्छौ ।’

चौधरी र पौडेललाई सर्ट लिष्ट बनाउने जिम्मा

स्रोतका अनुसार जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरी र नेकपा एकीकृत समाजवादीका डा. विजय पौडेलललाई एकताका लागि प्रस्तावित दस्ताबेज अध्ययन गरेर दुई पार्टीबीचका समानता र असमानता छुट्याउन एक साताको समय दिइएको छ ।

‘समाजवाद सबैको साझा एजेन्डा भयो, यसमा कसैको विमति रहने कुरा भएन । तर अव सुरुमा पार्टीको नाम, झन्डा लगायतका कुरामा न्युनतम् सहमति खोज्ने कामबाट एकता र सहकार्यको सुरुवात हुन्छ’, नेकपा एकीकृत समाजवादीका एक जना वार्ता समिति सदस्य भन्छन्,‘दस्ताबेजमा सकिने र मिल्ने जति बुँदामा सर्टआउट गरेपछि नमिलेका कुरामा पुन शीर्ष नेताहरू बसेर छलफल गर्ने तयारी छ ।’

ओली–प्रचण्डसँग संवादमा जसपा

जसपाका एक नेताका अनुसार एकीकृत समाजवादीसँग सहकार्यका लागि वार्ता र संवाद भइरहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत संवादमै छन् । शनिवार मात्रै अध्यक्ष यादव र ओलीबीच भेटवार्ता भएको थियो ।

‘हामी एमालेसँग पनि वार्तामै छौ । एकता वा मोर्चा निर्माणमा पनि समाजवादीसँग गृहकार्य नै गरिरहेका छौ’, जसपाका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘एकीकृत समाजवादीसँग जसपा जोडिन खोजेकाले सरकारमा सहभागिताको विषयमा केही अप्ठेरो आएको ओलीको सङ्केत बुझिन्छ ।’

यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुरानो गठबन्धन छाडेर प्रचण्ड ओलीसँग गएकोमा खासै सन्तुष्ट छैनन् । ‘पुरानो गठबन्धन छाडेर प्रचण्ड ओलीजीसँग जानुभएकोमा माधव नेपालजी पनि सन्तुष्ट हुनुहुन्न । यो हेर्दा एकले अर्कासँगको संवाद र सहकार्य गरेको नरुचाएको जस्तो देखिन्छ, त्यसैले पहिला यी विषयमा प्रस्ट भएपछि मात्र एकता वा मोर्चा निर्माणमा ठोस सहमति हुने देखिन्छ’, जसपाका ती नेताको भनाइ छ । तर जसपा नेता राजेन्द्र श्रेष्ठ पार्टीहरुबीच एकताका लागि भएका प्रयास सकारात्मक ढंगले अघि बढेको दाबी गर्छन् । उनी यस्ता विषयमा समय लाग्नु स्वाभाविक भएको भन्दै विगतमा पनि नयाँ शक्तिसँग भएको पार्टी एकता तथा मधेसी जनअधिकार फोरम तथा संघीय समाजवादी पार्टीबीचको एकता पनि ७ महिनादेखि डेढ बर्षसम्म लागेको अनुभव सुनाउँछन् ।

‘विगतमा पनि समय लागेको हो, अहिले पनि समय लाग्न सक्छ तर पहिलो चरणमा भएका कुराकानी सकारात्मक छन्’, श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप