शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
समाचार

नेफ्टाको अध्यक्ष पदमा ४ जनाको दाबी

अमेरिका अवार्डको घोषणापछि निष्क्रिय पनि सक्रिय
मङ्गलबार, १० माघ २०७९, १३ : १०
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । चलचित्र प्राविधिकहरूको एक मात्र छाता संगठन चलचित्र प्राविधिक संघ ‘नेफ्टा’ ले अगामी फागुन ११ मा महाधिवेशन तोकेको छ । संघका केही असन्तुष्ट सदस्यहरूको समूहले केही साता अगाडि पुष्कर लामा अध्यक्ष रहेको कार्यसमितिले संघको नवीकरण नगरेको, लामो समयदेखि साधारण सभा नगरेको, संस्थाको आयव्यय समेत व्यवस्थित नगरेको भन्दै संघमा आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा उनीहरुले संघका महाधिवेशन लगायत विभिन्न माग अगाडि सारेका थिए । सोही अनुरूप महाधिवेशनको मिति तय गरिएको हो ।  

महाधिवेशन मिति तोकिएसँगै संघमा चुनावी सरगर्मी सुरु छ । नेफ्टाको नेतृत्व गर्न प्राविधिकहरू कसरतमा छन् । संघको नेतृत्व गर्न केही आकाङ्क्षीले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी र एजेन्डा सार्वजनिक गरिसकेका छन् भने कोही भित्रिरुपमा छलफलमा देखिएका छन् । कतिपयले आफू फलानो पदमा उठ्दा कस्तो होला भनेर सिनियर, जुनियर दुबैसँग भेटघाट गर्दै सरसल्लाह गरिरहेका छन् ।

करिब ३५ सय सदस्य रहेको नेफ्टा चलचित्रकर्मीका संघ संस्थामध्ये सबैभन्दा धेरै सदस्य भएको संस्था हो । त्यसैले यसले धेरैको ध्यान खिचेको छ । संघको महाधिवेशनमा उम्मेदवारी दिने तयारी रहेका कतिपयले पार्टीगत रूपमा अगाडी बढ्नुपर्ने बताइरहेका छन् भने कतिपयले संस्थालाई पार्टीगत राजनीति भन्दा बाहिर राख्नुपर्ने आवाज पनि उठाइरहेका छन् । 

यस पटकको महाधिवेशनमा पनि कतिपय पुरानै कार्यसमितिका सदस्य उम्मेदवार बन्ने तरखरमा छन् भने कतिपय नयाँ अनुहार समेत तातेको देखिन्छ । कतिपय समय निर्विरोध नेतृत्व चयन गरेको नेफ्टामा सदस्यहरूको चहलपहल र गतिविधि हेर्दा यो पटक विगतभन्दा निकै घम्साघम्सी हुने देखिन्छ ।

को–को छन् अध्यक्षका आकाङ्क्षी ?

आजसम्म हेर्दा महाधिवेशनमा नेफ्टाको नेतृत्वका लागि ४ जनाको भिडन्त हुने देखिएको छ । जसमा अहिलेका अध्यक्ष पुष्कर लामासहित अनन्त घिमिरे, शङ्कर पाण्डे र प्रकाश महरा रहेका छन् ।

पुष्कर लामा मिल्यो भने फेरि एक कार्यकाल दोहोर्‍याउने दाउमा छन् । कोरोनाको कारण काम गर्न नसकिएको र गर्न खोजिएको काम केही अधुरो रहेकोले ती कार्य गर्न समेत आफूलाई पुनः अध्यक्ष दिनुपर्ने धारणा लामाको रहँदै आएको छ । उनले माघ २५ गतेपछि मात्र चुनावी चहलपहलमा सहभागी हुने बताएका छन् ।

त्यस्तै संघका पूर्वमहासचिव समेत रहेका अनन्त तिमल्सिनाले भने नेफ्टामा अब आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान अगाडि सार्दै आएका छन् । नेफ्टाको विभिन्न पदमा रहेर पटक–पटक गरेको कामको अनुभवले नेफ्टा हाँक्ने क्षमता आफूसँग भएको उनको धारणा छ । उनले सामाजिक सञ्जाल फेसबुकमा एजेन्डा सहित उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।  

नेपाली चलचित्र प्राविधिकहरूको हक र अधिकार सुनिश्चित गर्न, वैधानिक रूपमा संस्था सञ्चालन, कोठे राजनीति र दलदलमा फसेको चलचित्र नगरी सफा गर्न, प्राविधिकहरूको हक अधिकार सुनिश्चित गर्न र बाहिरी शक्तिको भरमा चलेको नेफ्टाको संस्कार परिवर्तन लगायत एजेन्डा तिमल्सिनाले सारेका छन् ।

यस्तै अघिल्लो कार्यसमितिका उपाध्यक्षसमेत रहेका प्रकाश महरा पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटिसकेका छन् । आफूले नै अब नेफ्टालाई राम्रो तवरले अगाडि बढाउन सक्ने उनी दाबी गर्छन् । संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेन्डासहित अगाडि आउन लागेका महरा वर्तमान अध्यक्षको समेत आफूलाई समर्थन रहेको बताउँछन् । ‘थुप्रै साथीहरूको म अध्यक्ष बनोस् भन्ने चाहना छ । त्यसैले पनि म अगाडी आएको हो,’ उनी बताउँछन् । साथीभाइबीच सहमति भयो भने एक अध्यक्ष बन्छ । भिड्न परेको खण्डमा आफू पनि अध्यक्षको दाबेदार रहेको महराले बताए । अशक्त प्राविधिकलाई महिनावारी हिसाबमा भत्ता, सबैको स्वास्थ्य बीमा, संघको कार्डको प्रभावकारिता, सदस्यको हकहित र सुविधाको व्यवस्था लगायत महराले एजेन्डा अगाडि सारेका छन् ।

प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे पनि नेफ्टाको अध्यक्षमा उठ्ने चर्चा छ । देशभरका प्राविधिक सक्षम बनाउने, हरेक दुःखमा सघाउने, प्राविधिकको हकहित तथा सामाजिक सुरक्षा, प्राविधिकलाई अन्तर्राष्ट्रिय क्षमता प्रदान गर्ने लगायत धेरै एजेन्डा उठाएका छन् । पाण्डे संघमा सबैको सहमतिमा नयाँ कार्यसमिति बनेको खण्डमा महासचिव उठ्ने र सहमति भएन भने अध्यक्ष उठ्ने बताउँदै आएका छन् । संघको कार्यसमिति सदस्य, सचिव लगायतको पदमा पटक–पटक रहेर काम गरेकोले पनि आफूले संघ सक्षम रूपमा हाँक्न सक्ने दाबी पाण्डेको छ । नेफ्टाको कार्यसमिति बाहिर रहेरसमेत सक्रिय भूमिका निर्वाह गर्दै आएका पाण्डे थुप्रै साथीहरूको चाहना आफूले नेफ्टाको नेतृत्व गरोस् भन्ने रहेको सुनाउँछन् ।

अमेरिकाको अवार्ड प्रति सबैको चासो 

संघले नियमित आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको आगामी संस्करण अर्थात् ११ औँ नेफ्टा अवार्ड अमेरिकाको टेक्ससमा आगामी जेठ १३ गते (२७ मे, २०२३) आयोजना गर्ने घोषणा गरेको छ । अवार्डको घोषणा लगतै संघ प्रति सबै सदस्यको चासो र सक्रियता बढेको छ । सधै निष्क्रिय रहने संघका सदस्य समेत यो पटक संघमा आउन दौडधुपमा छन् । संघको नेतृत्वमा आउन सकियो भने कार्यक्रम मार्फत अमेरिका जान सजिलो हुने उनीहरुको बुझाई छ ।

यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौँ पटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताउँदै आएका छन् । 

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्मस् र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड नेफ्टा अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले अवार्डको घोषणा गरेको हो । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्म सहभागी हुनेछन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ ।

महाधिवेशनको तयारी

११ फागुनको महाधिवेशन भव्य बनाउन संघले तयारी थालिसकेको छ । महाधिवेशनका लागि संघले बानेश्वर ब्याङ्क्वेट केही अगाडी नै बुकिङ गरिसकेको छ । त्यसका लागि अन्य तयारी पनि भइरहेको संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप